दर्शिनी डेभिड / विश्व व्यापार सम्वाददाता
वाशिंटन डीसी (संयुक्त राज्य अमेरिका), २६ जेठ (बीबीसी) । विश्व ब्याङ्कका प्रमुखले कोरोनाभाइरस महामारीलाई विश्व अर्थतन्त्रका निम्ति घातक धक्का भन्दै त्यसले अर्बौँ मानिसको जनजीविका प्रभावित भएको बताउनुभएको छ ।
बीबीसीसँगको अन्तर्वार्तामा डेभिड मालपासले सरकारहरूलाई वृद्धि पुनर्स्थापित गराउन नयाँ प्रणालीहरू निर्माण गर्न आह्वान गर्नुभयो।
लामो र कठोर असर
भाइरसको आर्थिक असर एक दशकसम्म रहिरहनसक्ने उहाँले बताउनुभयो।
यसअघि मे महिनामा उहाँले कोरोनाभाइरसका कारण ६ करोड मानिस अति गरिबीमा घचेटिने बताउनुभएको थियो।
विश्व ब्याङ्कका अनुसार अति गरिबीको वर्गमा दैनिक दुई अमेरिकी डलरभन्दा कममा निर्वाह गर्न वाध्य मानिस पर्छन्।

‘महामारीको असर अनि त्यसपछि लकडाउनहरूका कारण अर्बौँ मानिसको जनजीविका बिथोलिएको छ। त्यो चिन्ताजनक छ’ मालपसले भन्नुभएको छ ‘गुमेको आम्दानी जस्तो प्रत्यक्ष प्रभाव अनि स्वास्थ्य तथा सामाजिक रूपमा परेका अन्य प्रभाव निकै कठोर छन्।’
मालपासले प्रभाव बहन गर्न नसक्ने वर्गमै सबभन्दा धेरै असर पर्ने बताए।
समृद्धि पुनर्स्थापना कसरी ?
सही योजना कार्यान्वयन गरिए जीवन तथा जीविका पुनर्स्थापित गर्न सकिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।
त्यस्ता योजनामा गरिब देशहरूलाई ऋणमा राहत तथा अति जोखिममा रहेका मानिसहरूलाई सरकारहरूको सहयोग रहेको उहाँले बताउनुभयो।

विश्व ब्याङ्कका प्रमुख मालपासले कोरोनाभाइरसको असर लामो समयसम्म रहने बताउनुभएको छ ।
विश्व ब्याङ्कले सबभन्दा धेरै प्रभावित देशहरूलाई सहयोग गरिरहेको तर अझ धेरै गर्न जरुरी रहेको बताएको छ।
उसले ब्याङ्क तथा पेन्सन कोषजस्ता व्यापारिक कर्जादाताहरूलाई पनि गरिब देशलाई कर्जामा राहत दिन आग्रह गरेको छ।
ऋणका शर्तहरू स्पष्ट बनाइदिए अन्य लगानीकर्तालाई त्यस्ता अर्थतन्त्रमा स्रोत लगाउन सहज हुने पनि मालपासले बताउनुभएको छ।
अर्थतन्त्रहरूलाई पुनर्निर्माण गर्न निजी क्षेत्र उकास्ने गरि सरकारी सहयोग हुनुपर्ने विश्व ब्याङ्कले बताएको छ।
समृद्धि पुनर्स्थापित गर्नका निम्ति पर्यटनजस्ता स्थायी रूपमै रोजगारी गुमेका हुनसक्ने क्षेत्रहरूको साटोमा रोजगारीका नयाँ अवसर सृजना हुने गरि नयाँ वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो।
अन्तत : यो महासङ्कटबाट मानिसले पार पाउनेपनि मालपासले बताउनुभयो।
‘म आशावादी हुँ। दीर्घकालमा भन्नुपर्दा मानवको प्रकृति दह्रो छ र नवप्रवर्तन पनि हुनेछ। संसार निकै तीव्रगतिमा बदलिँदो छ। र, अहिलेजस्तो सम्पर्कसञ्जाल कहिल्यै थिएन। यसले भविष्यप्रति आशा जगाउँछ।’, उहाँले भन्नुभयो


















