वाशिंटन डीसी( संयुक्त राज्य अमेरिका), २६ जेठ (बीबीसी) । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयताविरोधी प्रदर्शनप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले अपनाएको रवैयाको चर्को आलोचना गर्दै राष्ट्रपति ‘संविधानदेखि टाढिएको’ बताउनुभएको छ।
पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिनुभएको हो।
राष्ट्रपति ट्रम्पले प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी दिनुभएको थियो।
पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताउनुुभएको छ ।
किन कुनै प्रदर्शन हिंसक बन्छन्?
ट्वीट गर्दै ट्रम्पले पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेर टिप्पणी गर्नुभएको छ।
अफ्रिकी-अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहेर सेवा गरिसक्नुभएको छ ।
ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उहाँ पनि उभिनुभएको छ।
प्रहरी नियन्त्रणका क्रममा अफ्रिकी(अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि जातीयता र प्रहरी दमनविरुद्ध प्रदर्शनहरू हुँदै आएको केही दिनपछि पछिल्लो विकासक्रम भएको हो।
तनाव मत्थर हुँदै जाँदा आइतवारदेखि अमेरिकाभरि सुरक्षाका कदमहरू खुकुलो पारिएका छन्।
न्यूयोर्कमा हप्तादेखि लगाइएको कर्फ्यू हटाइएको छ र ट्रम्पले वाशिङ्गटन डीसीबाट फर्कन न्याश्नल गार्डलाई आदेश दिन लागेको बताउनुभएको छ।
पावलको भनाई
सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावलले भने, ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ। तर राष्ट्रपति संविधानदेखि टाढिनुभएको छ।’
ट्रम्पलाई इङ्गित गर्दै अवकाशप्राप्त चारतारे सैनिक जनरल पावलले भन्नुभयो, ‘उहाँ झूट बोल्नुहुन्छ र त्यसबाट फुत्किनुहुन्छ। किनकि मानिसहरूले उहाँलाई जवाफदेही बनाउँदैनन्।’
अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको भन्दै पावलले भन्नुभयो, ‘यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ।’
पावलले थप्नुभयो, ‘सामाजिक र राजनीतिक हिसाबले म जो बाइडनसँग निकै नजिक छु। मैले उहाँसँग ३५, ४० वर्ष काम गरेको छु। अहिले उहाँ उम्मेदवार हुनुहुन्छ र म उहाँलाई मत दिनेछु।’

वाशिङ्गटन डीसीमा न्याश्ल गार्डले प्रदर्शनकारीलाई हेर्दै
मध्यमार्गी रिपब्लिकनका रूपमा चिनिने पावलले सन् २०१६ मा ट्रम्पलाई मत दिनुभएन।
आफ्नो अन्तर्वार्तामा पावलले पछिल्ला दिनमा ट्रम्पको आलोचना गरेका सैनिक नेतृत्त्वहरूप्रति समर्थन पनि जनाउनुभयो।
तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा ज्वाइन्ट चीफ्स अफ स्टाफ रहेका जनरल मार्टिन डेम्प्सेले राष्ट्रपति ट्रम्पका शब्दले अमेरिकी नागरिक र सैनिकबीचको सम्बन्धमा आघात पुगेको एबीसीको द वीक कार्यक्रममा आइतवार बताउनुभएको थियो।


















