Prakash Adhikari June 10, 2020

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन तथा नेपालमा अलपत्र परेका विदेशी सहित कामको लागि बाहिरिने नेपालीका लागि चार्टर्ड गरिने नेपालका वायु सेवाहरुबाट चर्को शुल्क लिने त्यस्तो अनुमति दिने दुवैलाई कारवाही गर्न माग गरेको छ ।

 

नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय  विभागका प्रमुख गोविन्द्र भट्टराईले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै कोभिड–१९ को विश्वव्यापी महामारीले विश्व नै आक्रान्त भैरहेका बेला चार गुणा महंगो शुल्क लिएर चार्टर्ड उडान गरी  केही निजी ट्राभल्स कम्पनी पोस्ने र महामारीको बेलामा संकटमा परेका नेपाली नागरिकलाई शोषण गर्ने काम भएकोले तत्काल चर्को शुल्क रोक्न माग गर्नुभएको छ ।

कांग्रेस नेता भट्टराईले स्वदेश तथा विदेशमा रहेका नेपालीले  रोजगारी गुमाएको र पेशा÷व्यवसाय संकटमा परेको अवस्थामा सरकारले नै सस्तोमा उडान गर्नुपर्नेमा नियमित उडानमा भन्दा चार गुणा महङ्गो भाडा असुलेर जापान, हङकङ, भारत, ढाका, अष्ट्रेलिया लगायतका मुलुकमा चार्टर्ड उडान गरिरहेकोमा आश्चर्य व्यक्त गर्दै  सामाजिक उत्तरदायित्व समेतको बोध गरेर सकेमा निशुल्क र नभए न्यूनतम् लागत शुल्कमा उडान गर्न अनुरोध गर्नुभएको छ ,

 

उहाँले चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएको भन्दा महङ्गो शुल्क लिने अनुमति दिने पर्यटन मन्त्रालय, वायु सेवा निगमका अधिकारी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, गृह मन्त्रालय लगायत माथि छानविन सुरु गर्न पनि माग गर्नुभएको छ ।

 

नेपाली कांग्रेसले नेपाल वायु सेवा निगमको चार्टर्ड उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो ? त्यो सार्वजनिक गर्न माग गर्दै स्वदेश तथा विदेशमा कार्यालय खोलेर बसेको झण्डैं १५ सय कर्मचारी भएको निगमलाई एजेन्ट बिना चार्टर गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै  महङ्गो भाडा लिएका ट्राभल्स एजेन्सीमाथि छानविन गरी कारबाही गर्न पनि माग गर्नुभएको छ ।

नेपाली कांग्रेसको जनसम्पर्क समन्वय विभागले कुवेत लगायतका केही मुलुकहरुले नेपाली कामदारलाई उनीहरुकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति माग्दा नदिएकोमा सरकारको नियतमाथि प्रश्न उठाउदै भनेको छ, कुवेतले ४१ दिनदेखि नेपाली कामदारलाई ट्राभल्स डकुमेट तयार गरी एकै ठाउँमा राखेर नेपाल ल्याउने अनुमति कुरिरहेको  छ । तर नेपाल सरकारले अझैसम्म किन उनीहरुलाई आउने अनुमति दिएको छैन ।

कांग्रेसले सरकारसंग प्रश्न गरेको छ , कि ती नेपाली ल्याउन पनि चार्टर्ड उडानका नाममा कमिसनको खेल सुरु गर्नका लागि रोकिएको हो ?

कांग्रेसको जनसम्पर्क समन्वय समितिका प्रमुख भट्टराईले तत्काल नेपाल आउन चाहने तीी नेपालीहरुलाई फिर्ता ल्याउने अनुमति दिइयोस् भन्ने पनि माग गर्नुभएको छ ।

 

Share Now

Leave a comment.