काठमाडौं, २९ जेठ । कुवेतमा अलपत्र परेका ३ सय ६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
उनीहरु जजिरा एअरलाइन्सको बिहिबार बिहान र दिउसोका दुई उडानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन्।
एयरबस ए३२०–२५१ सेरिजका दुई जहाजमा कुल ३ सय ६ नेपालीहरु स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको ।
त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने छ।
उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
नेपाल सरकारले विदेशमा अलपत्र परेकामा सजाँयबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका तर नेपाल आउने अनुमति पाएका, बहिर्गमनको भिसामा रहेका, आफन्तको मृत्युका कारण नेपाल आउन पर्ने, करार समाप्त भएका वा रोजगारी गुमाएका, सुत्केरी र गर्भवति महिला,बालबालिका, अपांग, सरकारी कामकाज, अध्ययन वा तालिममा गएर अडकिएका, अध्ययन सकिएका विद्यार्थी,नेपाल आउने अवस्थामा रहेका विद्यार्थी,पारिवारिक भेटघाटमा गएका, कम्पनीबाट रोजगारीमा विदा सुविधा पाएका,अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपालमा आउन पर्ने अवस्थामा रहेका र पर्यटक तथा व्यापारिक भिसामा विदेशमा गएर अड्किएका नेपालीलाई उद्धारको प्राथमिकतामा राखेको छ ।
नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो ।
कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो ।
अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । तिनमा पुरुष १ हजार ६ सय ८८ र महिला १ हजार ३ सय ३ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।।


















