Prakash Adhikari June 30, 2020

 

काठमाडौं, १६ आषाढ । नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३ हजार ५ सय ६४ पुगेको छ।

तीमध्ये ३ हजार १ सय ९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १० हजार ३ सय ४१ छ।

कहाँ कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ४८ संक्रमित थपिएका छन् । यस्तै, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जना छन् ।

यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७/७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२  छन् ।

ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरस ब्यानर
अहिलेसम्म प्रदेश नं ५ मा सर्वाधिक ३ हजार ८ सय ७ जना र २ मा ३ हजार ७ सय ९४ जना कोभिड १९ भएका व्यक्ति भेटिएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

मङ्गलवार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १ सय २१ जना र प्रदेश नं २ मा ८२ जना थप सङ्क्रमित पुष्टि भएको छ।

हालसम्म सात जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमण देखा परेको डा. गौतमले जानकारी दिनुभएको छ।

ती जिल्लाहरूमा प्रदेश नं २ को महोत्तरी, रौतहट र सर्लाही, प्रदेश नं ५ मा कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ७ सय ११ वटा नमुनाको पीसीआर विधिबाट र २ हजार १ सय ४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख २८ हजार ३ सय ४१ पुगेको छ।

विगत २४ घण्टामा विभिन्न जिल्लामा ६० जना निको भएर घर फर्किएका छन्।

क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ५३ हजार ७० व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

Share Now

Leave a comment.