Prakash Adhikari July 3, 2020

 

काठमाडौं, १९ आषाढ । नेपालमा विगत २४ घण्टामा ७ सय ४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा यस घातक भाइरसको संक्रमणमा पर्नेको संख्या १५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसारशुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५ हजार २ सय ५९ पुगेको छ।

तीमध्ये ६ हजार १ सय ४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८ सय २३ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् भने असार १७ मा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म प्रदेश नं ५, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कोभिड(१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

बिहीवार मन्त्रालयले ४ सय ७३ जनामा सङ्क्रमण पुष्टि गरेको थियो भने एकै दिन सर्वाधिक ६ सय ६४ जना भाइरसमुक्त भएर घर फिर्ता भएका थिए।

यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। २४ घण्टामा सबैभन्दा बढीमा कोरोना संक्रमण भने शुक्रबार मात्रै देखिएको हो ।

को हुन् मृतक ?

मन्त्रालयका अनुसार असार १७ गते राति काठमाडौं एउटा अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस पुष्टि भएको छ।

उनी नयाँबानेश्वर निवासी ८५ वर्षीय वृद्ध भएको डा. गौतमले बताए। ती व्यक्ति पार्किन्सन्स रोगबाट पीडित थिए।

छाती दुखेको र पिसाब कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो।

सङ्क्रमितहरु कहाँका ?

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेरका समूहका भए पनि युवाको बाहुल्य छ।

कुल ७ सय ४० जनामध्ये १ सय ३४ महिला र ६ सय ६ महिला छन्।

अहिले अछाम जिल्लामा सर्वाधिक २ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी बाजुरामा ५३, कैलालीमा ५१ , कञ्चनपुरमा ४३, बैतडीमा ३२, डडेलधुरामा २८, डोटीमा २४ र सिरहामा २४ सङ्क्रमित फेला परेका छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार १९ गते शुक्रवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • १५,२५९ कुल सङ्क्रमण
  • ८२३ विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,४८३
  • सक्रिय सङ्क्रमित ९,०८४
  • देशभरि क्वारेन्टाइनमा ३५,४७२
  • अहिलेसम्म निको ६,१४३

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

के छ अरू तथ्याङ्क ?

अहिले सबै ७७ वटा जिल्लामा कोभिड १९ पुगिसकेको छ। आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९ हजार ८४ छ।

महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा सङ्क्रमितको कुल सङ्ख्या ५ सय नाघेको छ।

निको भएकाबाहेक अहिले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक २ हजार ८ सय ४९ सङ्क्रमित छन् भने प्रदेश नं ५ मा २ हजार १ सय ५७ र प्रदेश नं २ मा २ हजार १ सय २४ जना छन्।

विभिन्न जिल्लामा ३५ हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

परीक्षणको दायरा फराकिलो

डा. गौतमका अनुसार शुक्रवारबाट परीक्षणको दायरा अझ फराकिलो बनाइएको छ।

उनका अनुसार अब क्यान्सर तथा मधुमेह भएका बिरामी, इमर्जेन्सीमा आउने बिरमाी, आईसीयूमा भर्ना भएका बिरामी, पकेट एरियामा बस्ने मानिस र स्वास्थ्यकर्मीहरूमा परीक्षण हुनेछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ४ सय ८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख ४२ हजार २ सय ४७ पुगेको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.