Prakash Adhikari July 4, 2020

प्रकाश अधिकारी
काठमाडौं, २० आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद नयाँ मोड लिएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीभित्रका आफ्ना विरोधीहरुमाथि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउने तयारी गरेको संगीन आरोप लगाएपछि यो विवादले पार्टीको दायरा नाघेर राष्ट्रप्रमुखको भविष्यमा समेत असर गर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्नुभएको छ र लगत्तै आफू निकट मन्त्रीहरुसंग राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नुभएको छ । यो परामर्शमा आफूनिकटका मन्त्रिपरिषद्का सदस्यहरुलाई मात्र बोलाइएको बताइएको छ । परामर्श ७ बजेदेखि आरम्भ भएको बताइएको छ ।

राष्ट्रपतिलाई महाभियोग ?

पार्टीको केन्द्रीय कमिटी,स्थायी समिति र सचिवालयमा समेत अल्पमतमा पर्नुभएका प्रधानमन्त्री के.पी शर्मा ओलीले स्थायी समितिको बैठकमा दबाव दिएर आफूलाई राजिनामा गर्न बाध्य पार्न खोजिएको थाहापाए पछि त्यसका विरुद्ध जेहाद छेड्नुभएको छ ।

आफ्नो राजिनामा माग्नेलाई विदेशी शक्तिका ऐजेण्टसम्मको गम्भीर आरोप लगाउदै राजिनामाको विषय जारी स्थायी समितिको बैठकमा प्रवेश गराउन नसक्ने परिस्थिति सिर्जना गराउन देशभरिका आफ्ना पक्षका कार्यकर्ताहरुलाई सडकमा उतार्ने रणनीति अख्तियार गरिरहनुभएको छ ।

कार्यकर्ताहरुलाई सडकमा उतारेर आफ्नो पक्षमा माहौल सिर्जना गर्नेक्रममा प्रधानमन्त्री ओलीले बिहिबार र शुक्रबार साँझ पार्टीका आफ्नो पक्षका भातृ र जनवर्गीय संगठनका इन्चार्ज, अध्यक्ष र संयोजकसहितका नेताहरुसँग पार्टीभित्रका विरोधीहरुले राष्ट्रपतिलाई महाभियोग लगाउने समेत तयारी गरेको बताउनुभएको थियो। उहाँले ती बैठकहरुमा संघीय संसदको अधिवेशन जारी राखेमा त्यस्तो कदम चाल्न सक्ने जोखिम देखिएकोले आफूले त्यसलाई निष्प्रभावी बनाउन संसद अधिवेशन अन्त्य गर्ने शिफारीस गरेको र राष्ट्रपतिले तुरुन्तै कार्यान्वयन गर्नुभएको बताउनुभएको थियो ।

आफ्ना पक्षका पार्टीका नेताहरु र भातृसंगठनका प्रमुख तथा कार्यकर्ताहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुट्न सक्ने अवस्था रहेकोले तयसको लागि तयार रहन निर्देशन दिनुभएको बताइएको छ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रपतिलाई हटाउने पूर्ण तयारी गरेको सूचना आएपछि तत्कालै संसद अधिवेशन अन्त्यको निर्णय सरकारले लिएको हो । अहिले नेपालको राष्ट्रपतिले सरकारले जे निर्णय गर्छ, त्यसलाई संविधान बमोजिम कार्यान्वयन गर्ने हो, यस्तो अवस्थामा राष्ट्रपतिलाई विवादमा ल्याएर हटाउने सम्मको खेल गरेको मैले थाहा पाएको छु।’

प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलाई ‘कुनै पनि बहानामा राष्ट्रपतिमाथिको आक्रमण स्विकार्न सकिँदैन भन्दै जुनसुकै अवस्थाको सामना गर्न तयार रहन कार्यकर्तालाई आग्रह गर्दै म पार्टी फुटाएर जान्‍न तर त्यस्तो परिस्थिति आयो भने सामना गर्न पनि तयार हुनुपर्छ’ भन्नुभएको बताइन्छ ।

प्रधामन्त्री ओलीले कार्यकर्तालाई बताए अनुसार उहाँका विरोधीहरुले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरि उक्त पद निष्क्रिय तुल्याउने र उपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय बनाएर आफने अनुकूल राजनीति गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको पदबाट विद्यादेवी भण्डारीलाई हटाएपछि पार्टीकै वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने खेल भइरहेको सूचना पाएको पनि बताउदै आउनुभएको छ। उहाँले आफू निकट नेता र कार्यकर्तालाई भन्नुभएको छ,’राष्ट्रपतिदेखि तलसम्म सेट नै परिवर्तन गर्ने खेल भइरहेको सुनेको छु। तर त्यस्ता कच्चा खेलसँग डराएर भाग्‍ने कुरा हुँदैन । राष्ट्रपति र प्रधानमन्त्री दुवै हटाउने योजना सफल हुन म दिन्‍न, बरु जुनसुकै चुनौती फेस गर्न तयार छु।”

प्रधानमन्त्री ओलीले नेकपाको एकल अध्यक्षअध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्रीमा माधवकुमार नेपाल, राष्ट्रपतिमा झलनाथ खनाल र उपप्रधानमन्त्रीमा वामदेव गौतम र भीम रावललाई बनाउने तयारी गरि आफूहरुमाथि आक्रमण थालिएको सूचना प्राप्त भएको पनि बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीसमक्ष माधव नेपाललाई बढीमा एक वर्ष सरकारको नेतृत्व गर्न दिएर त्यसपछि सहमतिको सरकार गठन गरी डाक्टर बाबुराम भट्टराईको नेतृत्वको सरकार बनाएर निर्वाचन गराउने योजना मुलुक बाहिरबाट भएको सूचना पनि प्राप्त भएको बालुवाटारनिकट सूत्रहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीका शुभेच्छुकहरुले नागरिकता विधेयक, नक्सा प्रकरण र एमसीसीका कारण यो स्थिति आएको बताएका छन् । स्थायी समितिमा आएका एजेण्डा र छलफलमा आएका विषयहरु तपसिलका विषय हुन् ।

राष्ट्रपतिप्रति विरोधी गुटको सन्देह

बुधबार अप्रत्यासित रुपमा संघीय संसदको चालु बजेट अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस गर्ने वित्तिकै राष्ट्रपतिबाट कार्यान्वयन भएपछि नेकपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभ एको थियो । सो भेटमा प्रचण्डले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आवेगमा आएर दल विभाजनलाई सहज बनाउने अध्यादेश पुन ल्याउन सक्ने जोखिम भएकोले त्यस्तो अध्यादेश आएमा रोकिदिन आग्रह गर्नुभएको थियो । तर राष्ट्रपति भण्डारीले उहाँलाई त्यस्तो बचन दिन सक्नुभएन । बरु अहिलेसम्म त्यस्तो अध्यादेशको मस्यौदा नआएको बताउनुभयो । उहाँले आफू संविधान अनुरुप चल्ने बचन भने दिनुभएको बताइन्छ । त्यो भनेको मन्त्रिपरिषद्को सिफारिस अनुरुप काम गर्न आफू तयार रहेको जनाउ थियो ।

सरकारले संसद अधिवेशन अन्त्यको कदम चालेपछि प्रधानमन्त्री ओलीसँग केही बेर छलफल गरी शीतल निवास पुग्नुभएका प्रचण्ड त्यहाँबाट निराश भएर फर्किनुभयो । त्यसपछि अध्यक्ष दाहालले आफ्ना गुटका नेताहरुसमक्ष राष्ट्रपतिको भूमिकामाथि शंका गर्नुपर्ने प्रशस्त ठाउँ रहेको बताउनुभएको थियो।

‘राष्ट्रपतिको भूमिकाप्रति मलाई शंका लागेको छ। यदि पार्टीमा सहमति हुन सकेन भने स्थायी कमिटी विभाजनको बैठक पनि हुने अवस्था छ’,दाहालले राष्ट्रपतिको भूमिकामाथि शंका गर्ने प्रशस्त ठाउँ रहेको बताउँदै पार्टी विभाजनलाई अन्तिमसम्म रोक्न आफूले कोशिश गर्ने कुरा आफूनिकट स्थायी कमिटी सदस्यहरु माझ राख्नुभएको थियो।

विवादको बीजारोपण

प्रधानमन्त्री के. पी. शर्मा ओलीले पार्टीको स्थायी समितिको जारी बैठकका क्रममा आफूविरुद्ध पार्टीभित्रका वरिष्ठ नेताहरुबाट संगठित रुपमा आक्रमण भएको कुरा स्थायी समितिको बैठकको सुरुको दिन आषाढ १० गते शुभारम्भ मन्तव्यमा नै राख्नुभएको थियो । पार्टीले सरकारले गरेको कामको पार्टीका नेता र संयन्त्रले प्रचार प्रसार नगरेको गुनासो गर्नुभएको थियो ।

सोही दिन मन्तव्य राख्नुहुने अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारले लोकप्रिय र जनमुखी काम गर्न नसकेको, सरकारका मन्त्रीहरु आर्थिक अनियमिततामा संलग्न भएको आरोप लागेको, सरकारलाई सुधार्नका लागि दिइएका सुझावहरुलाई प्रधानमन्त्रीले गम्भीर रुपमा नलिएको र सरकार र पार्टीको छविलाई उज्वल राख्न सरकारको नेतृत्व नै फेर्नपर्ने दवाव पाटीभित्रबाटै आएको भन्दै सरकारका विरुद्ध चर्को असन्तुष्टी व्यक्त गर्नुभएको थियो । उहाँले राजनीतिक स्थायित्वका नाममा एकैव्यक्तिलाई पाँच बर्ष सत्ता सञ्चालन गर्न दिने निर्णय गरेर पार्टी सचिवालयबाट समेत गल्ती हुन गएको समेत बताउनुभएको थियो ।

जारी स्थायी समितिको बैठकमा प्रधानमन्त्री दोस्रो दिन उपस्थित नै हुनुभएन, तेस्रो बैठकमा केही बेर उपस्थिति जनाएर बाहिरिनुभयो । यसै बीचमा आषाढ १४ गते नेकपा एमालेका तात्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आफूलाई विदेशीको इशारामा पार्टीभित्रकै नेताहरुले प्रधानमन्त्रीबाट हटाउने खेल खेलेको गम्भीर आरोप लगाउनु भयो । त्यसपछि बसेको पार्टी स्थायी समितिको बैठक निर्धारित एजेण्डामा प्रवेशै नगरिकन प्रधानमन्त्रीले आफूबाहेक पार्टीका अन्य नेताहरुलाई विदेशीको एजेण्टका रुपमा प्रस्तुत गरेकोमा स्पष्टीकरणमा माग्नमा केन्द्रित भएको छ ।

पार्टीसंग समन्वय नै नगरिकन संघीय संसदको बजेट अधिवेशन हठात बन्द गरिदिएपछि उहाँसंग विमति राख्ने पार्टी नेताहरु अझै रुष्ट भएका छन् । बिहिबार बैठक स्थगित गरी  शुक्रबार दुई अध्यक्षबीच समझदारी कायम गरेर शनिवारबाट स्थायी समितिको बैठक सुचारु गर्ने निर्णय गरिए पनि शुक्रबार एकएक सहयोगीसहित दुई अध्यक्षका बीचमा भएको तीन घण्टा लामो बैठक विना निष्कर्ष टुंगिएको थियो । दुवै अध्यक्षहरु आआफ्नो अडानमा रहुन भएको थियो ।

प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र सरकारप्रमुख दुवै पदबाट राजिनामा दिने मुडमा नरहेको र त्यसबाहेकका अरु विषयमा कुरा गर्न आग्रह गर्नुभयो भने अर्का अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका समयमा गरिएको सहमति अनुरुप आधा समयमा प्रधानमन्त्री पदबाट राजिनामा गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्न आग्रह गरिरहनुभयो । कुनै समझदारी नबनेपछि शुक्रबार बिहान वार्ता गर्ने र स्थायी समितिको बैठक सुचारु गर्ने सहमति भएको थियो । तर शनिवार भौतिक उपस्थितिमा संवाद नभएर टेलिफोनमार्फत जारी स्थायी मितिको बैठक २२ गतेसम्म स्थगित गर्ने समझदारी गरी स्थायी समितिको बैठक स्थगित गरियो ।

बैठक आरम्भ नहुँदै अरु धेरै राजनीतिक घटनाक्रम विकसित भैरहेका छन् ।

Share Now

Leave a comment.