Prakash Adhikari July 4, 2020

काठमाडौं, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद अब पार्टी विभाजनतर्फ बढ्न थालेको छ ।

राज्यको समग्र सूचना प्रणालीमा पहुँच राख्ने कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद्का सदस्यहरुलाई आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउन पार्टीभित्रैबाट गम्भीर षड्यन्त्र भएको बताउदै मन्त्रीहरुले कुन कित्तामा बस्ने भनेर चयन गर्नुपर्ने अवस्था आउन लागेको जानकारी गराउनुभएको छ ।

उहाँले बैठकमा आफूविरुद्ध षड्यन्त्र भएको बताउदै भन्नुभयो, ‘मेरो र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ ।‘यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरू भइरहेको भन्दै मन्त्रीहरूलाई आ-आफ्नो कित्ता स्पष्ट पार्न दिनुभएको चेतावनीयुक्त भाषाले यो पार्टी मानसिक रुपमा लगभग विभाजित भैसकेको र व्यवहारिक रुपमा प्रक्रिया पूरा गर्न बाँकी रहेको निष्कर्ष मन्त्रीहरुले नै निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सहयोगी र सहकर्मीहरुसंग प्रयोग गर्नुभएको भाषा र उहाँको हाउ भाउ कटाक्ष हेर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अब एक रहने सम्भावना निकै कम देखिएको बताइएको छ ।

मन्त्रिपरिषद्का सहकर्मी मन्त्री तथा राज्यमन्त्रीहरुसंग प्रधानमन्त्री ओलीले नै विभाजन अवश्यंभावी रहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरु कसले के गरिरहेको छ, त्यो कुरा पनि सबैलाई जानकारी नै छ । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’

प्रधानमन्त्रीका निकट मन्त्रीहरु पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले बताउदै प्रधानमन्त्री ओलीले विभाजनबाट पार्टीलाई जोगाउन अथक प्रयास गरिरहेको दावी गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो असम्भव भएको बताउदै पार्टीका नेताहरु अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइनको गोटी बनेको आरोप समेत लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको कुराको समेत मन्त्रीहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ?यसरी संगठन चल्छ?’ भनेर प्रश्न समेत गर्नुभएको थियो ।

उहाँले देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रहिरहने बताउदै भन्नुभयो,‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोल ।’

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगरले गलत वा प्रायोजित हल्लाका पछाडि नलागेर आपसी वार्ताका माध्यमबाट असझदारी हटाएर पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले यो सरकार कुनै हालत ढल्दैन भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो ।

Share Now

Leave a comment.