Prakash Adhikari July 4, 2020

 

काठमाडौं, २० आषाढ । नेपालमा शनिवार थप २ सय ३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेहरूमा गोर्खाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुष रहेका छन्।

योसँगै नेपालमा सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १५ हजार ४ सय ९१ पुगेको छ।

तीमध्ये ६ हजार ४ सय १५ जना निको भएका र ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ सय ७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार यसअघि शुक्रवार एकै दिन सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

डोटी

डोटीमा भारतबाट फर्किएका नेपालीहरूको स्वाब सङ्कलन हुँदै। नेपालका धेरै सङ्क्रमितहरू विदेशबाट फर्केका रहेका छन्

मृतक को-को हुन् ?
कतारबाट असार १७ गते नेपाल फर्केका गोर्खाको पालुङ्टार नगरपालिकाका ४४ वर्षीय पुरुषको गोर्खा अस्पतालको आइसोलेशनमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो।

उनी फर्केपछि क्वारेन्टाइनमा बसेका र १८ गतेको परीक्षणमा सङ्क्रमित देखिएपछि आइसोलेशनमा रहेको डा. गौतमले बताउनुभयो।

मृतक दीर्घरोगी रहेको पनि डा. गौतमले जानकारी दिनुभयो।

त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा मृत्युपछि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

असार १४ गते शिक्षण अस्पतालमा भर्ना भएका क्षयरोगीको असार १७ गते मृत्यु भएको डा. गौतमले बताउनुभयो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार २० गते शनिवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क


  • १५,४९१ कुल सङ्क्रमण
  • २७२ विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,०५०
  • सक्रिय सङ्क्रमित ९,०४२
  • देशभरि क्वारन्टाइनमा ३३,१२५
  • अहिलेसम्म निको ६,४१५

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

के छ अरू तथ्याङ्क ?

अहिले सबै ७७ वटा जिल्लामा कोभिड १९ पुगिसकेको छ।

गएको २४ घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको र कुल परीक्षण सङ्ख्या दुई लाख ४६ हजार दुई सय ९७ पुगेको डा. गौतमले जानकारी दिनुभयो।

आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९ हजार ४२ छ।

विभिन्न जिल्लामा ३३ हजार १ सय २५ व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ

Share Now

Leave a comment.