Prakash Adhikari July 6, 2020

काठमाडौं, २२ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनुभन्दा एक घण्टा अगाडि बैठक स्थगित गरिएको जानकारी स्थायी समितिका सदस्यहरुलाई गराइएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार आज ११ बजेदेखि बैठक सुचारु हुने कार्यक्रम थियो ।

आइतबार भएको सहझदारी अनुरुप स्थायी समितिको बैठकपूर्व दुई अध्यक्षबीच वार्ता गर्ने क्रममा ९ : ४५ देखि भएको वार्तामा दुवै नेताहरु स्थायी समितिको सोमबारको लागि निर्र्धारित बैठक बुधबार ११ बजेसम्म सार्ने सहमति बनेपछि बैठक स्थगित भएको हो । बैठकमा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको बताइन्छ ।

नेकपाको स्थायी समितिको बैठक गत बिहिबारदेखि स्थगित भएको छ । सो दिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टी नेतृत्वसंग परामर्श नै नगरीकन मन्त्रिपरिषद्को बैठकबाट संघीय संसदको बजेट अधिवेशन त्यसैदिन अपरान्ह ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि दुइजना पार्टी अध्यक्षबीच सहमति कायम गर्न १ दिन दिने र शनिवार बिहान ११ बजे बैठक पुन सुचारु गर्ने सहमतिका साथ स्थायी समितिको बैठक स्थगित गरिएको थियो ।

शनिवार बिहान टेलिफोन वार्ता गरी सो दिन स्थगित गरिएको स्थायी समितिको बैठक आज ११ बजे सुरु हुनुपर्ने थियो ।

आइतबार बिहान भने पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता द्धय माधवकुमार नेपाल र झलनाथ खनालले सामूहिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पार्टी विभाजन गर्ने खालका अध्यादेश आएमा तत्काल जारी नगर्न अनुरोध गर्नुभएको थियो । दिउँसो सहयोगीहरु सहित वार्तामा बसेका दुई अध्यक्षका बीचमा सोमबार स्थायी समितिको बैठक पहिले पुन वार्ता गर्ने सहमति बनेको थियो ।

नेकपामा अर्का अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री वामदेव गौतम सम्मिलित समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको अध्यक्ष र सरकारको नेतृत्वबाट राजिनामा दिन दवाव दिइरहेको छ ।

यो दबाबलाई टार्नका लागि प्रधानमन्त्री ओलीका पक्षधरहरुले स्थायी समितिको बैठक सार्दै आएका छन् ।

सरकार स्वेच्छाचारी ढंगले चलाउदै आउनुभएका प्रधानमन्त्री ओली निकटका मन्त्रीहरु भ्रष्टाचारमा विवादमा आउनु, कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि अपनाइएको कार्यशैलीमा कमी कमजोरी देखिनु, कोरोना संक्रमण र लकडाउनको कारण प्रभावित नागरिकलाई राहत तथा प्रभावित विभिन्न क्षेत्रको पुनरुत्थानको कार्यक्रम तय गर्न नसक्नु जस्ता कारणले पार्टीमा अधिक आलोचित बन्दै आउनुभएका प्रधानमन्त्री ओलीले आफू अल्पमतमा स्थायी समितिको बैठक टार्दै आउनुभएको थियो ।

यसपटक आषाढ १० गतेदेखि सुरु भएको स्थायी समितिको बैठकको सुरुआतमा मन्तव्य प्रकट गर्दा पनि उहाँले आफ्नो सरकारले राम्रो काम गरेको तर त्यसको प्रचार प्रसार पार्टीबाट हुननसकेको गुनासो गर्नुभएको थियो । त्यसपछि स्थायी समितिको बैठकलाई खासै भाउ नदिनुभएका प्रधानमन्त्री ओलीले आषाढ १४ गते मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई विदेशी शक्तिहरुले हटाउन लागेको र पार्टीभित्रका नेताहरुले तिनको एजेन्टको भूमिका निर्वाह गरेको संगीन आरोप लगाउनुभएपछि पार्टीमा उहाँको राजिनामाको माग भएको हो ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले विदेशी राजदूतावासमा बैठक भएका, राजदूतहरु नेताहरुको घर दैलोमा पुगेको होटल होटलमा बैठक गरेर आफूलाई हटाउन लागेको आरोप पनि लगाउनुभएको थियो ।

विदेशी कुटनीतिज्ञहरुले मर्यादा उल्लंघन गरेर कुनै काम कारबाही गरेमा स्पष्टीकरण लिने र निष्कासन गर्ने सम्मको अधिकार रहेको सरकारका प्रमुख सार्वजनिक मञ्चमा राजदूतका गतिविधिको उछित्तो काढ्नु पनि शोभनीय व्यवहार नभएको भन्दै कुटनीतिक वृत्तमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भैरहेको छ ।

अहिलेसम्मको स्थितिमा आफूविरुद्ध संगठित आवाज आउने स्थायी समितिको बैठकलाई स्थगित गरेर आफ्नो अनुकूल बनाउन प्रधानमन्त्री ओली सफल हुँदै जानुभएको देखिन्छ । उहाँले विषम परिस्थितिमा पार्टी विभाजन नै गर्नुपरेमा पनि आफू अड्नसक्ने ढंगले नेकपा एमालेलाई ब्यूताउन निर्वाचन आयोगमा दर्ता प्रकृया बढाउनुभएको छ भने पार्टी फुटेको घडिमा सरकारलाई समर्थन गर्न प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वको सहमति पनि लिनुभएको छ ।

आफ्नो वचाउको लागि देशभरि समर्थनमा सडक प्रदर्शन थाल्नुभएका प्रधानमन्त्री ओलीले पार्टीमा आफूबाहेक अरुलाई विदेशी एजेण्टका रुपमा चित्रित गरिदिनुभएको छ ।

आफ्ना विरुद्धमा पटकपटक उफ्रिने पार्टीभित्रका एक दर्जन नेताहरुलाई भ्रष्टाचार,आर्थिक अनियमितता र अन्य अपराधिक क्रियाकलापमा फसाउनका लागि समेत उहाँले राज्यका संवैधानिक र अन्य निकायहरुलाई तयार बनाएर राख्नुभएको छ ।

विरोधीहरुलाई वार्तामा अल्झाएर विदेशी दवाव पनि उहाँले दिन लगाउनुभएको छ ।

अघिल्लो पटक विरोध हुँदा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई कहिले राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाइदिने त कहिले प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री पदमा विराजमान गराईदिने फोस्रो आश्वासन दिएर आफूविरुद्धको आक्रमणलाई निस्तेज बनाइसक्नु भएका प्रधानमन्त्री ओलीले यसपटक पनि अर्का अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमलाई उधारो पदको हरियो घासमा भुलाउने प्रयास गर्दै हुनुहुन्छ ।

आफूलाई पार्टी अध्यक्षको अफर आएको कुरा त उपाध्यक्ष बामदेव गौतमले खुमलटार बैठकमा बताइसक्नुभएको छ । त्यस्तै जेठ २ गतेको सहमतिमा फर्किऔं भनेर प्रधानमन्त्री पदमा अर्का अध्यक्ष प्रचण्डले आफ्नो हक खोज्नुभएको छ । सो सहमतिमा दुवै नेताहरुले समानताका आधारमा पार्टी र सरकारको नेतृत्व गर्ने कुरा उल्लेख छ । पार्टीमा संयुक्त अध्यक्ष प्रणाली लागु गरेर समानता कायम गरिएपनि प्रधानमन्त्री पदमा भने आलोपालो आधा आधा समय नेतृत्व गर्ने सहमति बनेको थियो ।

अहिलेको विवादमा प्रचण्डले आफ्नो पदको सुरक्षामा मात्र चासो दिएमा बाँकी विरोधीप्रति प्रधानमन्त्री के.पी.ओली निर्ममतापूर्वक जाईलाग्ने जोखिम बढ्न जाने निश्चितै देखिन्छ भने प्रधानमन्त्री ओली जीवित रहेसम्म सो पार्टीमा अरुलाई टाउको उठाउन नदिने पनि निश्चितै छ ।

Share Now

Leave a comment.