Prakash Adhikari July 6, 2020

काठमाडौं, २२ आषाढ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने बिरामीहरुको संख्या ३५ पुगेको छ ।

आइतबार मृत्यु भएका बाग्लुङ जिल्लाका २९ वर्षीय पुरुषमा सोमबार कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएप्छि यस घातक भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ३५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेको मृतक भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्कनु भएको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा थप १ सय ८० जनामा कोरोनाभाइरस सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।

यो दैनिक सङ्क्रमणको सङ्ख्या गएको ५ हप्तामा सबैभन्दा कम हो।

जेठ १७ गते १ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएयता दैनिक सङ्क्रमितको सङ्ख्या लगातार २ सयभन्दा बढी थियो।

गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। शनिवार २ सय ३२ जना र आइतवार २ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५ हजार ९ सय ६४ पुगेको छ।

तीमध्ये ६ हजार ८ सय ११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९ हजार १ सय १८ छ।

उद्धार उडानका कर्मचारी सङ्क्रमित

आज कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सात जना नेपाल वायुसेवा निगमका कर्मचारी भएको बताइएको छ।

उद्धार उडानमा संलग्न चालक दलका ३ सदस्यहरूसहित अन्य उडान कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

निगमले चार्टर्ड उडानका कर्मचारीहरुलाई परिवारबाट अलग्गे सोल्टी होटलमा राखेर नियमित स्वास्थ्य परीक्षण गराउदै ड्युटीमा खटाउदै आएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ती कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा दुस्ख व्यक्त गर्दै ट्वीट गर्नुभएको छ।

नेपालमा क्वारेन्टाइनमा अहिले २९ हजार ९ सय १५ जना छन्।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय २१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार २२ गते सोमवार अपराह्ण ४ः३० बजेसम्मको तथ्याङ्क

  • १५,९६४ कुल सङ्क्रमण
  • २६४ विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,७२१
  • सक्रिय सङ्क्रमित ९,११८
  • देशभरि क्वारन्टीनमा २९,९१५
  • अहिलेसम्म निको ६,८११

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Share Now

Leave a comment.