काठमाडौं, २२ आषाढ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने बिरामीहरुको संख्या ३५ पुगेको छ ।
आइतबार मृत्यु भएका बाग्लुङ जिल्लाका २९ वर्षीय पुरुषमा सोमबार कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएप्छि यस घातक भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ३५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेको मृतक भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्कनु भएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा थप १ सय ८० जनामा कोरोनाभाइरस सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।
यो दैनिक सङ्क्रमणको सङ्ख्या गएको ५ हप्तामा सबैभन्दा कम हो।
जेठ १७ गते १ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएयता दैनिक सङ्क्रमितको सङ्ख्या लगातार २ सयभन्दा बढी थियो।
गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। शनिवार २ सय ३२ जना र आइतवार २ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५ हजार ९ सय ६४ पुगेको छ।
तीमध्ये ६ हजार ८ सय ११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९ हजार १ सय १८ छ।
उद्धार उडानका कर्मचारी सङ्क्रमित
आज कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सात जना नेपाल वायुसेवा निगमका कर्मचारी भएको बताइएको छ।
उद्धार उडानमा संलग्न चालक दलका ३ सदस्यहरूसहित अन्य उडान कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।
निगमले चार्टर्ड उडानका कर्मचारीहरुलाई परिवारबाट अलग्गे सोल्टी होटलमा राखेर नियमित स्वास्थ्य परीक्षण गराउदै ड्युटीमा खटाउदै आएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ती कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा दुस्ख व्यक्त गर्दै ट्वीट गर्नुभएको छ।
नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020
नेपालमा क्वारेन्टाइनमा अहिले २९ हजार ९ सय १५ जना छन्।
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय २१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार २२ गते सोमवार अपराह्ण ४ः३० बजेसम्मको तथ्याङ्क
- १५,९६४ कुल सङ्क्रमण
- २६४ विगत २४ घण्टामा घर फिर्ता
- विगत २४ घण्टामा पीसीआर परीक्षण ४,७२१
- सक्रिय सङ्क्रमित ९,११८
- देशभरि क्वारन्टीनमा २९,९१५
- अहिलेसम्म निको ६,८११
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय


















