काठमाडौं, २२ आषाढ । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि निगमका अन्तर्राष्टिय उडानका बाँकी कर्मचारी र निगमले विभिन्न देशबाट गरेको उद्धार गरि स्वदेश ल्याएका सबै यात्रुहरुको निगरानी गर्नुपर्ने नयाँ नौवत आइपरेको छ ।
निगमले लकडाउनको समयमा हुने चार्टड उडानका लागि पाइलट, को पाइलट, उड्डयन इञ्जिनियर, एअर होस्टस र एटेण्डेण्ट गरी झण्डै ६० जना उड्डयन कर्मचारीलाई होटल सोल्टीमा राखेको छ ।
निगमले चार्टड उडानबाट फिर्ता भएपछि सो उडानमा खट्ने सबै कर्मचारीको कोरोना भाइरस परीक्षण पनि गर्ने गरेको छ । उनीहरुमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि मात्र अर्को उडानमा पठाउने गरिएको छ ।
तर यस्तो ब्यवस्था गराउदा गराउदै पनि विभिन्न उडानमा रहेका पाइलट तथा अन्य उडान कर्मचारीमा कोरोना संक्रमण देखिएपछि निगमका कर्मचारीहरुमा त्रास फैलिएको छ । निगमका एक उच्च सूत्रका अनुसार उडान कर्मचारीहरुलाई सुरक्षित निगरानी केन्द्र(क्वारेन्टाइन)को रुपमा होटल सोल्टीमा राखिएको भएपनि झण्डै पाँच दर्जनको संख्यामा रहेका उनीहरु होटलमा नै नाच-गान र रमाइलो गर्ने गरेकोले बाँकी सबै त्रसित भएका हुन् ।
निगमको सञ्चालक समितिका सदस्य ई.अच्युत पहाडीले अन्तर्राष्ट्रिय उद्धार उडानमा रहेको केही उडान कर्मचारीहरु घरमा पनि आउने जाने गरेकोले ती कर्मचारीका परिवारमा समेत त्रास फैलिएको बताउनुभएको छ ।
‘कोरोना भाइरसको संक्रमणका कुनै लक्षण नै नदेखिइ स्वाब परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले भन्ने संक्रमित कर्मचारीहरुको दावीले सबैलाई चिन्तित बनाएको छ’, सञ्चालक पहाडीले भन्नुभयो, ‘निगमका जहाजले यूएइ,कतार, साउदी अरब, बंगलादेश, हंगकंग, अष्ट्रेलिया, भारत, चीन, ओमान, मालद्धीप, साइप्रस,कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, थाइल्याण्ड, जोर्डन,पाकिस्तान,सिंगापुर आदि स्थानमा अलपत्र परेका नेपाली कामदारहरुलाई चार्टड उडानबाट उद्धार गरेको छ ।सबै ठाँउबाट आएका यात्रुहरु शंकाको घेरामा पर्नुभयो ।’
निगमले अन्तर्राष्ट्रिय उडानमा रहेका आफ्ना ३३०-२४३ सेरिका दुई वाइडबडी र ३२०-२०० सेरिजका दुई न्यारो बडीका जहाजबाट चार्टड उडान गर्दै आइरहेको छ । निगमका दुवै खाले जहाज सञ्चालन गर्ने उडान कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएकोले कुन उडानका यात्रुबाट कोरोना सर्यो भन्ने निक्र्यौल गर्न कठिन भैरहेको छ ।
निगमले भने सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै निगमले व्यक्तिगत सुरक्षाका अन्तराष्ट्रिय तथा राष्ट्रिय मापदण्ड अपनाउदा अपनाएदै पनि ७ जनालाई कोरोना पुष्टि भइसकेको र ७ जनाको पुनर्पुष्टि हुने क्रम बाँकी रहेको जनाएको छ । निगमले संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने शुरु गरिसीएको र बाँकी कर्मचारीको पनि ’कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको जानकारी दिएको छ ।
प्रेस विज्ञप्ति
मितिः २०७७-०३-२२
नेपाल वायुसेवा निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीहरुका लागि आवश्यक निर्धारित मापदण्ड अनुसारको जिम्मेवारी पुरा गर्दै आएकोे छ ।
उडान कार्यमा संलग्न चालकदल सहित अन्य क्याविन क्रु हरुलाई PPE सहितका सामाग्री उपलब्ध गराउनुका साथै अन्य आवश्यक सुरक्षा पनि व्यवस्था गरिदै आएको छ । उडानमा संलन चालकदलका सदस्य एवं अन्य उडान कर्मचारीहरुलाई नियमानुसार निर्धारित समयसम्म होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ । आफ्ना निर्धारित तालिका अनुसारका उडानहरु गरेपश्चात क्वारेन्टाइनबाट घर पठाउने क्रममा पि.सी.आर. परीक्षण गर्दा परीक्षणको क्रममा ७ जना क्रु मेम्बर लाई कोरोना पुष्टि भएको छ र अन्य ७ जना सम्भावित क्रु मेम्बरहरुलाइ पुष्टि हुन बाँकी नै छ । उहाँहरुको उपचार सम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको छ र अझ थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडानहरु यथावत सञ्चालन भइरहने छन् ।
यता निगमका उडान कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्तका कालीमाटीका डीएसपी रुगम कुँवरले उनीहरु बस्ने होटल सोल्टीलाई स्वास्थ्य सुरक्षाको सिल गरिएको दावी गर्नुभएको छ । तर निगमका एक उच्च पदाधिकारीले सोल्टीमै बसेको उडान कर्मचारीको सेटबाट सोमबार राती पनि उद्धार उडान थालिएको जानकारी दिनुभएको छ । अर्थात जे भन्ने गरिएको र व्यवहारमा त्यो लागू भएको छैन,पूरै लापरवाही छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकमा सदस्य ई. अच्युत पहाडीले करिब एक दर्जन सीट भएका बिजनेश क्लासको टिकट नबेचेर सो स्थान निगमका उडान कर्मचारीको लागि सुरक्षित गर्ने र यात्रुको लागि लञ्च प्याकेट पहिल्यै राख्ने व्यवस्था गरेमा उडान कर्मचारीलाई यात्रुबाट सर्ने संक्रमणबाट जोगाउन सकिने तर्क राख्नुएको थियो ।
सञ्चालक समितिले अपरेसन्स विभागका प्रमुख क्याप्टेन दीपु शेरचन र कमर्सियल विभागका प्रमुख टंकनिधि दाहालसंग यस विषयमा सोधनी गरेको थियो । दुवैले बिजनेस क्लासको टिकट नबेचिएको तर्क दिनुभएको थियो तर उडानमा जाने कर्मचारीहरुका अनुसार सबै सीटको टिकट बेच्ने गरिएको छ । निगमका उडान कर्मचारीको लागि अलग्गै सीटको व्यवस्था नभएकोले कोरोना भाइरसको संक्रमणको अधिक जोखिम बढ्न गएको हो ।
निगमले भने १४ जना कर्मचारीलाई संक्रमण देखिए पनि उडान तालिका अनुसारका उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ ।
यस अघि हिमालय एयरलाइन्सका पनि एक जना विदेशी पाइलटलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


















