काठमाडौं, २२ आषाढ । नेपाल सरकार, अर्थ मंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि ५ दिने तालिम कार्यक्रमको समापन भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि भंसार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताउनु भयो ।
उहाँल अत्यन्त छोटो समयमा प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरेकोमा प्रशिक्षक तथा महासंघलाई धन्यवाद दिंदै प्रशिक्षार्थी कर्मचारीहरुबाट तालिम उपयोगी भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको बताउनुभयो ।
सो अवसरमा कार्यालय प्रमुख शम्भुप्रसाद मरासिनीले विज्ञहरुको कमीका कारणले भंसार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परीक्षण तालिमबाट समस्या समाधान हुने बताउनु भयो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले उक्त तालिमबाट सुनचाँदी गरगहना परीक्षणसम्बन्धी धेरै ज्ञान पाएको बताउनुभएको थियो ।
समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकायबिच विश्वासको वातावरण सिर्जना गरी दुवै निकायको सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले नियामक निकायमा क्षेत्रगत विज्ञहरु भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।




















