काठमाडौं, २८ आषाढ (बीबीसी) । नेपालमा यस वर्षको मनसुन सुरु भएपछि झन्डै एक महिनाको अवधिमा बाढी, पहिरो र चट्याङका कारण झन्डै ९६ जनाको ज्यान गएको छ, ३८ जन वेपत्ता छन भने हजारौ परिवार विस्थापित भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार गत जेठ २८ गतेदेखि आइतवार बिहानसम्ममा बाढी, पहिरो र चट्ट्याङका कारण ९६ जनाको ज्यान गइसकेको छ भने कम्तीमा ३८ जना बेपत्ता छन्।
यी प्राकृतिक घट्नामा परेर १ सय १६ जना घाइते भएका छन्।
गृह मन्त्रालयका अनुसार गत साताको अन्त्यदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाले विशेषतः मध्यपहाडी जिल्लाहरूमा पहिरोले धेरैको ज्यान लिएको छ।
सयौँ विस्थापित
मन्त्रालयका अनुसार विगत तीन दिनमै देशका विभिन्न भागमा बाढी र पहिरोका कारण सयौँ परिवार आफ्नो बसोबास क्षेत्रबाट विस्थापित हुनुपरेको छ।
मन्त्रालयले शनिवार मात्र लमजुङका ४९ र रौतहटका ३ सय विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा लगिएको जनाएको थियो।

त्यस्तै सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट आदि जिल्लामा पनि पहिरोका कारण कैयौँ परिवार विस्थापित भएको जनाइएको छ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार गएको एक महिनामा बाढी, पहिरो र चट्याङबाट ३ सय ९६ परिवार प्रभावित भएका छन्।
गएको एक महिनामा बाढी, पहिरो र चट्याङका कुल २ सय ३३ घटना भएको केन्द्रले जनाएको छ।
यस अवधिमा पहिरोमा परेर सबैभन्दा बढीले ज्यान गुमाएका छन्।

पहिरोमा परेर ७६ जनाको ज्यान गएको छ। चट्याङ लागेर १७ जना र बाढीमा परेर ३ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी पहिरोमा परेका ३५ जना अझै बेपत्ता छन् भने बाढीमा परेर तीन जना हराइरहेका छन्।
तीनैखाले प्राकृतिक विपद्बाट ज्यान गुमाउनेमा पुरुषहरू धेरै छन्।
वर्षा जारी, पूर्वी नेपालमा बढी खतरा
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न भागमा बाढी र पहिरोको खतरा बढी रहेको छ।
शाखाले कोशी, कमला, वाग्मती, नारायणीजस्ता ठूला नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल प्रदेश १, २ बागमति तथा गण्डकी प्रदेशका धेरै स्थानहरू र बाकी प्रदेशहरूका थोरै स्थानहरूमा मनसुनी बादल विकसित भई मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावनारहेकोले सतर्कता अपनाउनु होला https://t.co/c3kD3I2jjF@NDRRMA_Nepal pic.twitter.com/H59cndCkmy
— Nepal Weather Forecast (@DHM_Weather) July 12, 2020
त्यस्तै प्रदेश नम्बर १, २ र ५ का चुरे र तराई क्षेत्रबाट बहने साना नदीमा आकस्मिक रूपमा बाढी आउने उच्च सम्भावना रहेको शाखाले जनाएको छ।
शाखाका अनुसार सम्भावित खतरा रहेका क्षेत्रका बासिन्दाहरूलाई एसएमएसमार्फत् पनि चेतावनी दिइएको छ।
असार २८
आज #कोशी,कमला,बागमती र नारायणीमा बहाव #सतर्कता आसपास हुने#कन्काईमा #खतरा पुग्न सक्ने
प्रदेश १,२र५को चुरे र तराईबाट बहने साना नदीमा #आकस्मिक बाढी हुने #उच्च संभावना#तराईको डुबान भईरहने होचा स्थानमा सतर्क रहौ
चित्रःकोशीको बाढी र २४ घण्टाको बर्षा पुर्वानुमान @NDRRMA_Nepal pic.twitter.com/P3caam19R1— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2020
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीन दिनसम्म देशका विभिन्न भागमा वर्षा जारी रहने जनाएको छ।
आइतवार बिहान आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका थोरै स्थानहरू साथै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एकाध स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ।
ती क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
पछिल्ला घटना
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका उपसिचव मुरारि वस्तीका अनुसार आइतवार बाढी र पहिरोमा परेर केही व्यक्ति मृत्यु भएको पुष्टि भएको छ।
आइतवार म्याग्दीमा सात जना, सिन्धुपाल्चोक र जाजरकोटमा एक(एक जनाको मृत्यु भएको पुष्टि भएको हो। त्योबाहेक सङ्खुवासभामा पनि एक जनाको मृत्यु भएको बुझिएको छ।
म्याग्दीमा अहिलेसम्म पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ।
ूपहिले हराइरहेका व्यक्तिहरूको खोजी गर्दा मृत्युभएको अवस्थामा कतिपयलाई भेटिएको हो,ू वस्तीले भन्नुभयो।
विराटनगरस्थित बीबीसी संवाददाता विक्रम निरौलाका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
शनिबार राति पहिरो खस्दा नौवटा घर बगाएको र तिनमा बस्ने आठ महिला र तीन पुरुष हराएको सिलिचोङ गाउँपालिकाका प्रवक्ता नरभूपाल राईले बताउनुभयो । उद्धारका क्रममा एक युवकको मृत्यु भएको उहाँले जानकारी दिनुभएको छ ।
पहिरोले गाउँ नै बगाएर सिसुवा खोलामा मिसाएको बताइएको छ । पहिरोका कारण थप ८६ घरका मानिस विस्थापित भएका छन्।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी , स्वास्थ्यकर्मीको टोली पुगेर खोज तथा उद्धार थालिएको छ। चार जनाको भने स्थानीयवासीले उद्धार गरेका छन्।
बर्दियामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरद्धारा नगरपालिकाका एक दम्पती बेपत्ता भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

महोत्तरीमा डुबानका कारण ४० वटाभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन्।
वस्तीले संखुवासभामा बेपत्ता भएकाहरूको खोजीका लागि इटहरीबाट हेलिकप्टर पठाउन लागिएको जानकारी दिनुभयो।
म्याग्दीमा भने ५ सय जनालाई सुरक्षित स्थानमा लगिएको र घर बगाएकाहरूलाई हेलिकप्टरबाट राहत पुर्याइएको उहाँले बताउनुभयो।
त्यस्तै घाइतेहरूको म्याग्दी अस्पताल र पोखरामा ल्याएर उपचार भइरहेको केन्द्रले जनाएको छ।
वस्तीले देशैभरिबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति र मृतक तथा घाइतेको सङ्ख्या बढिरहेको जानकारी दिनुभएको छ।


















