Prakash Adhikari July 12, 2020

 

काठमाडौं, २८ आषाढ । नेपालमा विगत २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ८ हजार ४ सय ४२ जना अर्थात् ५१ प्रतिशतभन्दा बढी व्यक्ति निको भएका छन् भने ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ४७ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

अहिले देशभरि आइसोलेशनमा ८ हजार १ सय ७४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

कोरोनाभाइरस
नेपालमा गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक वृद्धिको सङ्ख्या घटिरहेको छ।

ूअसार महिनाको सुरुतिर हामीले पीसीआर परीक्षण गरेकोमा ११ प्रतिशतको हाराहारीमा कोभिड पोजिटिभ हुने दर थियो जुन असार १९ गतेतिर आउँदा १७ प्रतिशतसम्म पुगेको पाइन्छ,ू मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रीफ्रिङमा बोल्दै डा. गौतमले भन्नुभयो, ूतर हिजोआज यो दुई प्रतिशतमा आएको छ।ू

मन्त्रालयले शनिवार थप ७० जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो।

आइतबार पनि कोरोना पोजेटिभ देखिनेको संख्या दुई अंकमा सीमित भएको छ ।

संक्रमित कहाँका ?
आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको सङ्ख्या बढी छ।

अहिले प्रदेश नं १ मा चार, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ २, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार उनीहरूमध्ये धनुषाका १९, सुर्खेतका सात, कालीकोटका सात, तनहुँका छ र चितवनका पाँच जना छन्।

त्यसैगरी काठमाडौंमा पाँच र ललितपुरमा एक जनामा पनि सङ्क्रमण देखिएको छ।

अहिलेसम्म काठमाडौं उपत्यकामा सङ्कक्रमितको सङ्ख्या ३ सय ४७ पुगेको सरकारको तथ्याङ्क छ।

थप तथ्याङ्क
विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ९ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ।


नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार २८ गते आइतवार अपराह्ण ४ः ३० बजेसम्मको तथ्याङ्क

  • १६,८०१ कुल सङ्क्रमण
  • १४७ विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ३,९१६
  • सक्रिय सङ्क्रमित ८,१७४
  • देशभरि क्वारन्टीनमा २३,७८४
  • अहिलेसम्म निको ८,५८९

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले देशभरि क्वारन्टाइनमा २३ हजार ७ सय भन्दा बढी व्यक्ति छन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ। अहिले त्यहाँ सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू आइसोलेशनमा छन्।

महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू छन् भने धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा सङ्क्रमितको सङ्ख्या शून्य छ।

Share Now

Leave a comment.