काठमाडौं, २९ आषाढ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ बर्ष स्वेच्छारी ढंगले शासन गर्न दिए पार्टी समूल समाप्त हुने बताउनुभएको छ ।
एकीकरण पूर्वको नेकपाका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री खनालले सहाना प्रधान प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेकपाको आजको समस्या र सम्भावना ’विषयक भर्चुअल छलफलमा भाग लिँदै सो कुरा बताउनुभएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘अहिले जसरी केपी ओलीले सरकार चलाइरहनु भएको छ, यसरी नै ५ वर्ष उहाँ सरकारमा रहने हो भने नेकपा ‘रुट आउट हुन्छु ।नेकपाको भविष्य अनिश्चित हुन्छ।’
उहाँले प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो पार्टी र संसदमा भएको प्रचण्ड बहुमतको आडमा निर्दलीय ढंगको शासन सञ्चालन गरेको आरोप लगाउदै भन्नुभयो, ‘संघीय मन्त्रिपरिषद्, योजना आयोगदेखि प्रादेशिक सरकारका सबै राजकीय पदहरुमा प्रधानमन्त्री ओलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै ठाउँ दिनुभएको छ, विभिन्न बामपन्थी दलहरु मिलेर बनेको विशाल पार्टीभित्रको सन्तुलन र सामाथ्र्यलाई उहाँले उपेक्षा गर्नुभएको छ । अब नयाँ ढंगले नसोची हुँदैन, सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै नेकपाले पुनर्जीवन पाउने सम्भावना रहन्छ।’
पार्टीका शीर्ष नेता खनालले पार्टीमा देखा परिेको अहिलेको अन्तरविरोध नेपाल कम्युनिष्ट पार्टी र पार्टीभित्रको ओली गुटको भएको जिकिर पनि गर्नुभयो ।
‘अहिलेको नेकपाभित्रको अन्तरविरोध पार्टी र केपी ओली गुटबीचको हो , प्रधानमन्त्री ओली गुटका कारण नवउदारवादीहरु हाबी भए, समाजवादीहरु कमजोर हुँदै गए’, उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री खनालले नेपाली जनताको साढे सात दशक लामो सपना पूरा गर्न ठूलो सम्भावनाका साथ प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बने पनि विगत अढाई वर्ष उहाँले मुलुकले खोजेको भ्रष्टाचारमुक्त सुशासनयुक्त शासन दिन नसक्नुभएको, सरकारका नीति,कार्यक्रम र बजेटहरु पार्टीसगको परामर्श र समन्वयमा ल्याउने नगरिएको र तिनीहरु जनतामुखी बन्न नसकेको आरोप पनि लगाउनुभयो ।
उहाँले ुकस्तो योजना बनाउँदा संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिन्छ भन्ने बारेमा र कस्ता नीति तथा कार्यक्रमले समाजवादी परिपाटीतर्फ डोर्याउन सघाउ पुर्याउछ भन्ने बारेमा पार्टीको ठूलो संयन्त्र,पार्टीका ग्रास रुटमा खटेका अनुभवी कार्यकर्तादेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विद्धानहरुसंग छलफल र परामर्श गर्ने काम नभएको आरोप पनि लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्रीको कार्यशैलीले नेकपाका कार्यकर्तासहित आम नागरिकलाई निराश बनाएकोले जनतामा आशाको ज्योति जगाउन संघीयदेखि प्रान्तिय सरकारको नेतृत्व फेर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले पार्टीको सञ्चालनमा र संगठन निर्माणमा समय दिन नसके पनि पद ओगटेर उहाँले संगठन निर्माणको महत्वपूर्ण कामलाई निश्क्रिय पारिदिनुभएको आरोप लगाउनुभयो । पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका सदस्यहरुले जनसंगठन र पार्टीका सबै कमिटीलाई पूर्णता दिएर पार्टीलाई गाउँसम्म चलायमान बनाउनका लागि एक व्यक्ति एक पदको अवधारणा अगाडि सार्दा प्रधानमन्त्री ओलीले नै निकास अवरुद्ध गरेको आरोप पनि लगाउनुभयो ।
संबोधनको क्रममा जारी स्थायी समितिको हाउसबाहिर दुई अध्यक्षहरुले अध्यारोमा चोचोमोचो मिलाएर आपसी भागबण्डाका आधार सहमति गरेर त्यसलाई अनुमोदन गर्न पार्टी संयन्त्रलाई उपयोग गरेमा त्यसको विरोध गरिने पनि उहाँले बताउनुभयो ।
उहाँले नेकपाभित्रको अहिलेको माग पार्टी र सरकारलाई संस्थागत ढंगले सञ्चालन गर्ने कि निर्दलीय र हुकुमी पाराले गर्ने भन्ने रहेको भन्दै पार्टीको निर्देशन,नियन्त्रण र समन्वयमा मात्र सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सरकार यथास्थितिमा नै रहे नेपाल कम्युनिष्ट पार्टीको ७१ वर्षको उपलब्धि गुम्ने बताउदै शीर्ष नेता खनालले कम्युनिष्ट आन्दोलनलाई बचाइराख्न अब सरकार र पार्टीको समीक्षा गरेर पुनर्गठन गर्नुको विकल्प नरहेको बताउनुभएको थियो।
कार्यक्रममा राननीतिक विश्लेषक डा.खगेन्द्र प्रसाईले अहिले सरकार हिँडिरहेको बाटो समाजवादी नभएको बताउदै भन्नुभयो, ‘सरकार समाजवादी कार्यक्रमबाट विमुख भएर पूर्णत पुँजीवादीहरुको चंगुलमा फसेको छ ।’
भर्चुअल गोष्ठिमा सहजकर्ता तथा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले नेकपाले मुलुकलाई बनाउन चाहेको कार्यदिशामै अन्योलको अवस्था रहेको बताउदै पार्टीका सबै नेता कार्यकर्ताको सम्मानजनक भूमिका र अस्तित्व नहुँदा अहिलेको संकट निम्तिएको बताउनुभएको थियो।
प्रतिष्ठानकी अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र अहिले देखिएको अन्तरविरोधले नेकपाको भविष्यमै प्रश्न उठेको बताउदै यसले नेकपाको अबको यात्रा नै अलमलमा परेको बताउनुभएको थियो ।


















