Prakash Adhikari July 13, 2020

 

काठमाडौं, २९ आषाढ । सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन दिने निर्णय गरेपछि अब आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध कहिले अन्त्य होला भन्ने चासो पाइन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार आन्तरिक हवाई उडान खोल्ने तयारी भइरहेको छ।

मन्त्री भट्टराईले त्यसबारे जानकारी दिँदै भन्नुभयो, ‘आन्तरिक उडान खोल्ने पूर्वतयारी सुरु गरेका छौँ, जस्तो विमानस्थलनमा दूरी राख्ने, स्यानिटाइज गर्ने व्यवस्था गरेका छौँ। यात्रु र विमान सेवा कम्पनीले पालना गर्नुपर्ने प्रोटोकल तयार गरेर दिइसकेका छौँ।’

चैत ११ देखि बन्द भएको उडानमा साउन ६ गतेसम्म रोक लगाइएको छ। प्रतिबन्ध थपिने निश्चितजस्तै देखिएको छ।

साउन १७ को तयारी

Buddha Air to launch budget flights to Kolkata today
त्यसैले निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको तर्फबाट अगस्ट १ तारिख अर्थात् साउन १७ गतेबाट उडान खुला गर्न सरकारलाई आग्रह गरिएको बुद्ध एयरका बजार निर्देशक समेत रहेका वायुसेवा सञ्चालक सङ्घका कोषाध्यक्ष रूपेश जोशीले जानकारी दिनुभएको छ।

मन्त्रिपरिषद्को बैठकले रोक लगाएकाले उडान खुला गर्न पनि उसकै निर्णयको खाँचो पर्छ।

त्यसैले मितिबारे अहिल्यै भन्न नसकिने बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, ‘आन्तरिक उडान गर्न एक साताको सूचना दिए पनि हुन्छ। तर सुरु गर्ने मितिबारे भन्न सकिने अवस्था छैन। तयारी भने गरिरहेका छौँ।’

उडान सुरु गर्न नागरिक उड्डयन प्राधिकरण पनि तयार छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भन्नुहुन्छ्, ‘प्राधिकरण करिब तयार छौँ, विमान सेवा कम्पनीहरूको तर्फबाट पनि गर्नुपर्ने काम भइरहेको छ। सरकारको निर्णयको प्रतीक्षामा छौँ ।’

‘विमान सेवा कम्पनीको तयारी पूरा’

विमान सेवा कम्पनीहरूले सरकारले खुला गर्नेबित्तिकै उडान सुरु गर्न सक्ने अवस्थामा रहेको बताएका छन्।

बुद्ध एयरका बजार निर्देशक जोशीका अनुसार उहाँको कम्पनीले कोभिड-१९ सम्बन्धी प्रोटोकलअनुसार सुरक्षित उडानका निम्ति सुर्खेतबाहेक सबै विमानस्थलबाट उडान गर्न सकिने गरी प्रशिक्षण र अभ्यास पूरा गरिसकेको छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो तयारी पूरा भइसक्यो, राजधानीबाहिर पनि अभ्यास भइसक्यो, सरकारको उडान अनुमति पाउने बित्तिकै प्रोटोकल अनुसार उडान गर्न सक्छौँ।’

जोशीका अनुसार सामान्य अवस्थामा दैनिक साढे पाँच हजार यात्रु ओसार्ने बुद्ध एयरले अब तीन हजारको हाराहारीमा यात्रुलाई सेवा दिने आकलन गरेको छ।

यती एयरलाइन्सले पनि प्रोटोकलअनुसार यात्रु व्यवस्थापन र उडानको अभ्यास गरेको थियो।

विमानस्थल पनि तयारीमा

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डअनुसार उड्डयनसँग सम्बन्धित निकाय र विमान सेवा कम्पनीहरूले स्ट्यान्डर्ड अपरेटिङ प्रोसि­­­­­ड्यूअर्स (एसओपी) तयार गरेका छन्।

त्यसैअनुसार अभ्यास र तयारी गरिएको अधिकारीहरूको भनाइ छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले भन्नुभयो, ‘जेजे गर्नुपर्ने हो, सुरक्षाका सबै कुराहरू हामीले विमानस्थलमा गरेर बसिरहेका छौँ।’

त्रिभुवन विमानस्थलमा दैनिक ३ सय ५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए। तर अब त्यसमा ठूलो कटौती हुने ठानिएको छ।

आन्तरिक उडानका निम्ति प्रतिघण्टा करिब ७ सय यात्रुलाई उडान प्रक्रियामा सहभागी गराउन सक्ने विमानस्थलको क्षमता थियो।

प्रवक्ता कर्ण भन्नुहुन्छ्, ‘अब कोभिड १९ का कारण राख्नुपर्ने सामाजिक दूरीले गर्दा करिब ५० प्रतिशत कटौती गर्नुपर्ने हुनसक्छ।’

उडान धेरै गर्न अहिले बिहान ११ बजेदेखि दिउँसो ३ बजेको बीचमा केन्द्रित हुने गरेका उडानको समय पनि हेरफेर गर्नुपर्ने बताइन्छ।

Image may contain: airplane, sky and outdoor

ठूलो आर्थिक क्षति
अन्तर्राष्ट्रिय उडान अर्को देशसँग पनि सम्बन्धित हुने भएकाले त्यो तत्काल खुल्ने सम्भावना कमजोर देखिए पनि आन्तरिक उडान खुला गरिए व्यापक घाटाको अवस्थाबाट मुक्ति पाउने आशा वायुसेवा कम्पनीको पाइन्छ।

संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीहरूले बेहोरिरहेको क्षतिलाई ध्यानमा राखेर ुएरोनटिकल शुल्कु मा ७५ प्रतिशतसम्म छुट दिइएको जानकारी दिनुभयो।

तर पनि आम्दानी ठप्प भएका बेला ठूलो खर्च भार रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।

उडान ठप्प रहेका बेला पनि कर्मचारीको तलब, भाडा, बीमालगायतमा मासिक करिब नौ करोड रुपैयाँ खर्च भइरहेको बुद्ध एयरले जनाएको छ।

हेलिकप्टर सेवाहरू पनि करिब ठप्पजस्तै छन्।

सेवा सुरु भयो भने पनि तत्काल पुरानै आम्दानीमा फर्किन नसक्ने अवस्था रहेको बताउने वायुसेवा कम्पनीहरू कम्तीमा खर्च धान्न सकिने आशामा छन्।

(बीबीसीबाट)

Share Now

Leave a comment.