काठमाडौं, २९ आषाढ । वरिष्ठ हृदयरोग विज्ञ तथा नेपाल मेडिकल काउन्सीलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले कोरोना जस्तो भाइरसको रोकथाम,नियन्त्रण र उपचारको लागि गरिने स्वाब संकलन र परीक्षणमा सरकारले गम्भीर गल्ती गरिरहेको आरोप लगाउनु भएको छ ।
डा. कोइरालाले भन्नुभएको छ,’परीक्षणको दायरा बढाउनुपर्दछ भनेर पटक पटक भनेको छु । सुनुवाई नभएपछि विज्ञ समुहको बैठकमा जानै छाडे । अहिले जसरी परीक्षणको दायरा घटाएर संक्रमित घटे भन्ने देखाउन खोजिएको छ त्यो मूर्खता हो ।’
विगत दुई दिन यता नेपालमा कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्या दिनहुँ दुई अंकमा सिमित अर्थात सय भन्दा कम देखाइदै आएको छ । त्यस अगाडि दैनिक नयाँ संक्रमितको संख्या पाँच सयभन्दा कम देखाइएको थियो ।
नेपालका मुटु रोगीका लागि भगवान नै सावित भएका डा.कोइरालाको भनाई निराधार मान्ने अवस्था छैन् । एकातिर कोरोना भाइरस परीक्षणको दायरा घटाउदै लगिएको साँचो हो भने अर्कोरित परीक्षण कीटको विश्वसनीयतामा पनि विभिन्न आशंका जन्मिरहेका छन् । चीनबाट आयात गरिएका कतिपय उपकरणले कामै नगरेको गुनासो पनि कायम नै छ ।



















