Prakash Adhikari July 15, 2020

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ३१ आषाढ (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गर्नुभएको छ।

उहाँले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चाल्नुभएको हो।

वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बताउनुभयो।

‘हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ’, ह्वाइटहाउसमा पत्रकारहरूलाई उहाँले भन्नुभयो।

एउटा कानुन पनि

ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताउनुभयो।

यसै महिनाको सुरुमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै ब्याङ्कहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो।

मङ्गलवार राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन।’

हङकङको हैसियत

पूर्व ब्रिटिश उपनिवेश उक्त भूमिले मुख्यभूमि चीनमा नपाइने मौलिक स्वतन्त्रताहरू पाउँछ।

तर त्यहाँका थुप्रै मानिसहरूले बेइजिङले जारी गरेको नयाँ सुरक्षा कानुनले हङकङको विशेष हैसियत अन्त्य गर्ने ठान्छन्।

हङकङ
हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।

त्यस्तो हैसियतका लागि चीन र संयुक्त अधिराज्यबिच सन् १९८४ मा एउटा सम्झौता भएको थियो।

चीन सरकारको आलोचनालाई गैरकानुनी ठान्ने बेइजिङको त्यस्तो कानुन ब्रिटेनले सन् १९९७ मा हङकङलाई चीन फिर्ता दिएपछि त्यहाँको राजनीतिक परिदृश्य फेर्ने कठोर परिवर्तन हो।

ट्रम्पले थप के भनेरु
सोही पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको बताउनुभयो।

उहाँले चीनले विश्वमा कोरोनाभाइरस छाडेको आरोप समेत लगाए।

ब्रिटेनले आफ्नो फाइभ जी मोबाइल नेटवर्कमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका सामग्री प्रतिबन्ध लगाउन गरेको निर्णयको श्रेय ट्रम्पले स्वयं लिनुभएको छ।

उक्त प्रविधिमा रहेका सुरक्षा जोखिम आफूले ब्रिटेनलाई प्रस्ट पारेको उहाँको भनाइ थियो।

ब्रिटिश सरकारले जोखिमको पुनर्समीक्षा गरेपछि यस्तो कदम लिइएको जनाएको छ।

तर ह्वावेईले त्यो सबै अमेरिकी नीति रहेको भन्दै त्यसले ब्रिटेनलाई सुस्त डिजिटल बाटोमा धकेल्ने जनाएको छ।

एकजना पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुरा गर्ने आफ्नो कुनै योजना र रुचि नभएको बताउनुभएको छ।

Share Now

Leave a comment.