काठमाडौं, ३१ आषाढ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष द्धय के.पी.शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बुधबार ३ घण्टा वार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको वार्ताको लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ११ बजे बालुवाटार पुग्नुभएको थियो।
आज सुरुमा सहयोगी विना वार्तामा बसेका दुई अध्यक्षले पछि विष्णु पौडेल र जनार्दन आचार्यलार्ई पनि सहभागी गराउनुभएको थियो ।
वार्ता भोलि बिहिबार पनि हुने सहमति भएको बताइएको छ ।
वार्तामा दुवै अध्यक्षहरु आआफ्नै अडानमा रहनुभएको बुझिएको छ । प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने बताउनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डसहितको समूह उहाँले सरकार र पार्टी दुवैको सबल नेतृत्व दिन नसकेकोले दुवै पदबाट विश्राम लिन दवाव दिंदै आइरहेको छ ।
नेकपाको आषाढ १० गतेबाट आरम्भ भएको स्थायी समितिको बैठक आषाढ १८ गतेदेखि स्थगित हुँदै आएको छ ।
बैठकका लागि निर्धारित गरिएका एजेण्डामा छलफल चलिरहदा सरकार र पार्टीका सञ्चालनमा चित्त नबुझाएका अधिकांश वक्ताहरुले सरकारको नेतृत्वप्रति असन्तुष्टि जाहेर गरेपछि क्रुद्ध हुनुभएका प्रधानमन्त्री ओलीले गत आषाढ १४ गते नेपाल कम्युनिष्ट पार्टी एमालेका तात्कालिन महासचिव मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई भारतले हटाउन प्रयत्न गरेको र आफ्नै पार्टीका नेताहरु त्यसको गोटी बन्नुभएको आरोप लगाएपछि स्थायी समितिमा उहाँको राजिनामा मागिएको थियो ।
स्थायी समितिको माहौल आफ्नो विरुद्ध गएको अनुभूति गर्नुभएका प्रधानमन्त्री ओलीले यही बीचमा आषाढ १८ गते पार्टीका कार्यकारी भनिएका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य तथा स्थायी समिति कही कुनै सूचना नदिइकन आफ्नै निवासको बैठककक्षमा क्याबिनेट बैठक गरेर अप्रत्यासित रुपमा संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि दुई अध्यक्षबीच समझदारी कायम गरी बैठक सुचारु गर्ने नाममा स्थगित गरिएको स्थायी समितिको बैठक समझदारी असझदारीमा परिणत भएपछि साउन २ गतेसम्मको लागि रोकिएको छ ।
यसबीचमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बाढीले प्रभावित बनाएको आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर फर्कनुभएको छ भने प्रधानमन्त्री के.पी.शर्मा ओलीले देशभर आफ्नो समर्थनमा पार्टीका भातृसंगठनलाई परिचालन गरी आफ्नो राजिनामा माग्नेलाई विदेशी दलालको बिल्ला भिराउनु भएको छ ।
नेकपाभित्रको शक्ति संघर्षको दौरानमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्र मन्त्री भएको बेलामा नेपालको सुरक्षा र परराष्ट्र सम्बन्ध भारतलाई दिनुपर्दछ भन्ने प्रस्ताव तीनपटक क्याबिनेटमा पुगेको र सो प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तात्कालिन जनमोर्चा नेपालका अध्यक्ष र जनआन्दोलन पछि गठित अन्तरिम सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री अमिक शेरचनलाई अगाडि सारेर निश्क्रिय बनाउनुभएको रहस्योद्घाटन पनि भएको छ ।
आफूलाई अब्बल राष्ट्रवादी देखाउने र अरुको राजनीतिक योगदान,त्याग र बलिदानमा प्रश्न उठाउने फण्डा सृजना गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले आफूले परराष्ट्र मन्त्रालय सम्हाल्दा गरेको कृत्यको भेद खुल्न थालेपटिछ त्यसलाई छायामा पार्न आषाढ २९ गते भानुजयन्तीको दिन अर्को फण्डा सिर्जना गर्नुभएको छ ।
हिन्दुहरुको पवित्र ग्रन्थ रामायणमा बर्णित भगवान राम नेपाली राजकुमार हुन र अयोध्या नेपालको ठोरीतिर पर्दछ भनेर उहाँले स्थायी समितिका विवाद,आफ्नो राजिनामा, आफ्नै पार्टीका आफूबाहेकका नेताहरुको राष्ट्रभक्तिमा उठाइएको प्रश्नले सिर्जना गरेको प्रतिकूल वातावरणबाट पार्टी र आम जनताको ध्यान मोड्ने प्रयास गर्नुभएको देखिन्छ ।
नयाँ फण्डाका बारेमा देश र विदेशबाट चर्को विरोध भएपछि मंगलबार निकै थकित हुनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग वार्ता गर्न जानुभएका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड वार्ता नै नगरी आजलाई वार्ता गर्ने अनुमति लिएर फर्कनुभएको बताइन्छ ।
यसपूर्व भएको उहाँहरुबीचको वार्ता त त म म मै पुगेर टुंगिएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने रहर भए अर्को चुनाव कुर्न र पार्टीको एकल अध्यक्ष बन्ने भए पार्टीको महाधिवेशन कुर्न उहाँलाई उपदेश दिनुभएपछि प्रचण्ड रन्थनिनुभएको थियो ।
त्यसपछि पनि स्थिति सामान्यीकरण गर्न प्रयासरत रहनुभएका पार्टी अध्यक्ष प्रचण्डमाथि माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका सहकर्मी शीर्ष नेताहरुले दुईजना मिलेर गर्ने लेनदेनको सहमति आफूहरुलाई मान्य नहुने दवाव दिनुभएको थियो ।
निर्वाचन क्षेत्र र गृहनगर पुगेर पार्टीलाई विभाजन हुन नदिन आफू हदैसम्म लचिलो बन्ने आश्वासन दिएर र कार्यकर्ताहरुलाई विभाजनउन्मुख हुने कुनै गतिविधि नगर्न निदेशन दिएर फर्कनुभएका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसंगको सम्बन्ध सामान्यीकरण र स्थायी समितिको बैठक सुचारु गर्ने उपायको खोजीमा लाग्नुभएको उहाँ निकट नेताहरुले बताउनुभएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिबाट सिर्जित अन्योल र विवादलाई सामान्यअवस्थामा ल्याउन परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै प्रकाशित गरेर प्रधानमन्त्रीको अभिव्यक्तिको मनसाय भगवान राम, रामको हालसम्म स्थापित जन्मभूमिका बारेमा प्रश्न उठाउने नभएर रामायण कालीन स्थानहरुको खोजीमा केन्द्रित भएको सफाई दिनुपरेको थियो ।
उदास मनस्थितिमा रहनुभएका प्रधानमन्त्री ओलीसंग आज भएको वार्ताको विषय सार्वजनिक नभए पनि कार्यकारी अध्यक्ष प्रचण्डका लागि जारी स्थायी समितिको बैठक सुचारु गरी एजेण्डामा छलफल गराउने वातावरण तयार गर्नु आवश्यक भैसकेको छ । निर्धारित एजेण्डामाथिको छलफल पछि सरकार र पार्टीलाई दिने निर्देशन आफ्नो ठाँउमा छदैछ ।


















