काठमाडौं, ३१ आषाढ । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको निधन भएको छ भने थप १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट रौतहट पर्रोहा नगरपालिका ७ का ३६ वर्षीय पुरुषको मृत्यु हुन गएको हो । उनको असार ३१ गते बुधबार दिउँसो २ः३० बजे भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो ।
कोरोना भाइरसको संक्रमणमा परेर भारतमा निधन भएका आफ्ना दाजुको अन्तिम संस्कारकालागि भारत बैंगलोर पुगेर असार २४ गते नेपाल फर्केर रौतहटको पर्रोहाको क्वारेन्टाईनमा बसेका उनीमा असार २९ गते रुघाखोकी, ज्वरो तथा स्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पताल,बीरगंजको आइसीयूमा भर्ना गरिएको थियो ।
सोहि दिन नमुना संकलन गरी हेटौंडा प्रयोगशालामा पठाइएकोमा उनको कोरोना नतिजा पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३९ पुगेको छ ।
थप ११६ जनााम कोरोना संक्रमण
बुधबार थप १ सय१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार संक्रमित हुने मध्ये काठमाडौंका ७ जना रहेका छन् ।
जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा धनकुटाका १, मोरङका १, ताप्लेजुङका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका १ ,काठमाडौँका ७ ,सिन्धुपाल्चोकका १, चितवनका ८, नवलपरासी पूर्वका ११, रौटहटका ५, धादिङका १, पाल्पाका १, गोरखाका १, कास्कीका ३, तनहुँका ३, म्याग्दीका ९, सल्यानका ३, अछामका १, दैलेखकका ३, जाजरकोटका १, जुम्लाका २, मुगुका १, सल्यानका २, सुर्खेतका २८ र डडेलधुराका २ जना रहेका छन् ।
नेपालमा हालसम्म १७ हजार १ सय ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ६ हजार १ सय १४ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८२९ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ५ हजार ९० परीक्षण भएका छन् ।
नेपालमा हाल क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ५ सय २७ जना रहेका छन् ।
त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार १ सय १३ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ६ सय ९७ रहेको छ । हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको कुल संख्या ११ हजार २५ पुगेको छ ।
नेपालमा कोरोना मुक्त भोजपुर, मनाङ, मुस्ताङ्ग र डोल्पा जिल्ला रहेका छन् ।
यस्तै महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।


















