Prakash Adhikari July 21, 2020

काठमाडौं, ६ साउन । मौसमविद्हरुले बुधवारसम्म अविरल वर्षा भैरहने भएकोले अधिक पहिरो जाने सडक, खहरे खोला र नदीहरुको तटीय क्षेत्रभएर यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएका छन् ।

विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई अटेर नगर्न पनि सचेत गराएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम बुधवारसम्म जारी रहने र त्यसपछि केही कमी आउने विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग बताउनुहुन्छ।

उहाँले बुधवारबाट अलिकति वर्षाको मात्रामा कमी आउने तर नरोकिने बताउदै भन्नुभयो, “भारी वर्षा एक-दुई स्थानमा मात्रै हुनेछ।”

पछिल्लो अवस्था

Image

विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ।

शुक्रवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ।

कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ।

सोमवारदेखि नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ।

बाढी
त्यसबाहेक कन्काई, कमला, वाग्मती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ।

पहिरो र बाढीका कारण पृथ्वी राजमार्ग सहित विभिन्न जिल्लाका मुख्य र सहायक सडकहरू अवरूद्ध भएका छन्।

सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरुमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताउनुभएको छ । विभागले देशभर १ सय ९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको बताएको छ ।

सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्‍याएका सडक मर्मतको काम गरिररहेको छ । तर, अविरल वर्षा कारण प्रयासहरु सफल हुन नसकेको महानिर्देशक शर्माले बताउनुभयो ।

आइतबारदेखि लगातार वर्षाका कारण काठमाडौँ, गोरखा, धादिङ्ग, तनहुँ र दार्चुलामा गएको पहिरोमा परेर सात जनाको मृत्यु भएको छ ।

जेठ ३० गते नेपालमा मनसुन सुरु भएयता पहिरोका कारण १११ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जना र चट्याङ्‌का कारण १७ जनाले ज्यान गुमाएका छन्।

अझै पहिरोको सम्भावना

Landslide Archives - Netizen Nepal
अहिलेसम्म हेर्दा विगत वर्षको तुलनामा यस वर्ष पहिरोले धनजनको क्षति बढाएको छ।

“गएको हिउँद यामबाटै सरदरभन्दा बढी वर्षा भएको छ र अहिले मनसुनमा पनि औसतभन्दा बढी नै वर्षा भइरहेको अवस्था छ।”मौसमविद् प्रधानाङ्ग भन्नुहुन्छ, “जुन र जुलाई भनेको मनसुन सबैभन्दा सक्रिय रहने समय हो। पहिले नै कमजोर जमिन गलिसकेको हुनाले र वर्षा अगष्टसम्म भइराख्ने हुनाले पनि अझै पहिरोको सम्भावना बढी नै देखिन्छ।”

उहाँले विभागको बाढीको पूर्वसूचना प्रणाली राम्रो बनेको हुनाले बाढीबाट हुने मानवीय क्षति भने कम भइरहेको बताउनुभयो।

सावधानी आवश्यक

पहिरोबारे विद्यावारिधि गरेका विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा सरकारी संयन्त्रहरूले उपलब्ध गराउने मौसम र विपद्का सूचनाहरूका आधारमा समुदाय स्वयंले प्रकोपबाट आफूलाई जोगाउन सक्ने बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “विपद् जोखिम बारेका सूचनालाई राम्रोसँग सुनेर, हेरेर र बुझेर पहिरो जाने सम्भावित उच्च जोखिम रहेको ठाउँबाट कम जोखिमको ठाउँमा मानिसहरू जानुपर्छ। अटेर गरेर बस्नुभएन।”

पहिला पहिरो गएका स्थान, हाल पहिरो खस्न सुरु भएको ठाउँ वा जमिन चिरा परेका स्थानहरूमा बसिरहेका मानिसहरूले त्यस्तो ठाउँ तत्कालै छाड्नुपर्ने उहाँको सुझाव छ।

अहिले भारी वर्षा हुने समयमा निरन्तर पहिरो खसिरहेका सडकखण्ड प्रयोग गर्न नहुने र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देवकोटाको भनाइ छ।

बाढीको सन्दर्भमा पूर्वसूचना प्रणाली जडान गरिएको भन्दै उहाँले नदीको बहावबारेका सूचनाका आधारमा स्थानीय संयन्त्रहरू सक्रिय गराउनुपर्ने बताउनुभएको छ।

“माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको अवस्थामा पनि तल्लो तटीय क्षेत्रमा नदीको बहाव अस्वभाविक रूपमा बढे मानिसहरूले आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानमा लैजानुपर्छ।” उहाँले भन्नुभयो,”सुरक्षित ठाउँ जाने क्रममा त्यहाँ पुग्न सबैभन्दा सुरक्षित मार्गको प्रयोग गर्नुपर्छ। त्यति गर्न सकियो भने मानवीय क्षति कम गर्न सकिन्छ।”

अधिकारीहरू के भन्छन् ?

राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलल अविरल बर्षा हुने दिनसम्म जोखिम उच्च रहेका स्थानमा बसिरहेका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको बताउँनुभएको छ।

“पहिरोमा नै बस्ती बसेका स्थानहरूमा एकदमै सतर्क रहनुपर्छ। जोखिम भएका ठाउँमा रातको समयमा सुरक्षित ठाउँमा बस्न जानु उपयुक्त हुन्छ।” पोखरेलले भन्नुभयो,”तराईमा पनि जहाँ बाढीको जोखिम छ त्यसबारे मोबाइलका एसएमएसमार्फत जानकारी दिने गरिएको छ। त्यो सूचनालाई आधार मानेर आफू,आफ्नो परिवार र बस्ती जोगिने तथा जोगाउने कार्य गर्नुपर्दछ । ”

उहाँले हरेक स्थानीय र प्रादेशिक सरकारले विपद् नियन्त्रणका लागि संयुक्त रूपमा काम गरिरहेको र सुरक्षा निकायहरूलाई स्थानीय तहसँग मिलेर काम गर्ने गरी शुक्रवारबाटै तयार अवस्था राखिएको बताउनुभएको छ।

“यसपालि कोभिड-१९ को कारणले विद्यालय भवनहरू सञ्चालनमा नआएको सन्दर्भमा त्यस्ता स्थान र सामुदायिक भवनहरूलाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने हिसाबले कार्ययोजना बनाएका छौँ।” उहाँले भन्नुभयो ।

Share Now

Leave a comment.