काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले पत्नी हत्या मुद्दामा आजीवन कैद सजाय पाउनुभएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।
आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि महान्यायाधिवक्ताको कार्यलयले दिएको निवेदनलाई अघि बढाउने अनुमति दिएको छ ।

२०६८ सालमा पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
गत असार १५ मा प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उहाँको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
सर्वोच्चको फैसलाअनुसार कैद सजाय भुक्तान गरी पूर्व डीआर्ईजी कोइराला साउन ८ मा रिहा हुनुभएको थियो ।
सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन साउन ८ गते सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।
आफ्नी पत्नी गीता ढकालको हत्या गरेर लासलाई मकवानपुरको टिष्टुड.मा लगि सडक किनारमा मट्टितेल छर्की जलाएर अनुहार नचिनिने गरी छोडेर हिड्नु भएका कोइराला केही दिनपछि सोही स्थानको निरीक्षणमा गएको बेलामा स्थनीय वासिन्दाले शंका लागेर उहाँको गाडी रोकेर केरकार गरी प्रहरीलाई बुझाए पछि उहाँले आफ्नो अपराध कबुल गर्नुभएको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले दिएको पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ।
सपना मल्लको फैसला के हुने ?
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतका प्रधानन्यायाधीयसहितको संयुक्त इजलाशले गरेको फैसला पुनरावेदनका लागि दिएको निवेदनमा सुनुवाई गर्ने अनुमति दिएपछि यस्तै प्रकृतिको मुद्दामा सर्र्वोच्चकी माननीय न्यायाधीश सपना मल्लसहितको बेञ्चबाट भएको अर्को मुद्दामा पनि प्रश्न उठ्न गएको छ ।
मदिरा सेवन गरी पैदल यात्रुको ज्यान जाने गरी सवारी चलाएर दुर्घटना गराउने गोठाटारका २१ वर्षीय पृथ्वी मल्ललाई सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीको हवाला दिंदै लडडाउनको अवधिमा ५ लाख धरौटीमा छोडेको थियो।
२०७६ मंसिर २८ गते मदिरा सेवन गरी उनले चलाएको बा १४ च ६१२३ नम्बरको कारले बुढानिलकण्ठ विद्यालयका गेटमा ठक्कर दिँदा गोरखा घर भई बुढानिलकण्ठमा बस्ने लीेला देवकोटाको मृत्यु भएको थियो।
२०७७ असार ३१ गते बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले अभियुक्त मल्ललाई ५ लाख धरौटीमा छोड्ने आदेश गरेको हो।
न्यायाधीशद्वयले अभियुक्त मल्ल गम्भीर मानसिक रोग लागेका र दमका रोगी भएको कारण देखाउदै धरौटीमा छोड्ने आदेश गर्नुभएको थियो ।
“यसमा प्रस्तुत निवेदक हाल सिभियर डिप्रेसन रहेको तथ्य नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको लगनखेलस्थित मानसिक अस्पतालको मिति २०७६ फागुन ३० को ओपिडी बुक तथा सोही अस्पतालको २०७७ असार २८ गतेको डिस्चार्ज समरीबाट देखिन्छ। निज दमको बिरामी रहेको भन्ने चिरायु अस्पतालको मेडिकल रिपोर्टहरूबाट समेत देखिन्छ”,आदेशमा भनिएको छ, “निज भागी जाने वा प्रमाण लुप्त गर्ने अवस्था नदेखिएको हुँदा निजलाई थुनामा राखी पुर्पक्ष गर्ने काठमाडौं जिल्ला अदालतको मिति २०७६ पुस २३ को आदेश र सो सदर गर्ने उच्च अदालतबाटको फागुन १५ गतेको आदेश बेरितको देखिएकोले बदर गरिएको छ। अब निवेदक प्रतिवादीलाई ५ लाख धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू।”

कोरोनाभाइरस महामारीको अवस्थामा दमको बिरामी “हाइ रिस्क ग्रुप” मा रहेकोले मल्ललाई थुनामा राख्न नहुने न्यायाधीशद्वयको आदेशमा उल्लेख भएको थियो।निवेदक करिब ७ महिना थुनामा नै बसेर अनुसन्धानमा सहयोग गरिसकेकोले अब प्रमाण लुकाउने र भाग्ने संभावना नरहेको भन्दै काठमाडौं जिल्ला अदालतको आदेश बदर हुने सर्वोच्चको उक्त आदेशमा उल्लेख छ।
प्रहरीले अनुसन्धान गरेर पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मल्लविरूद्ध सवारी ज्यान मुद्दामा लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएकोले ३ देखि १० वर्षसम्मको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ बमोजिम उक्त कैद सजाय माग गरिएको थियो।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले मल्ललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।
After weeks of silence, model Paramita Rana admits being inside car that killed woman in Budanilkantha https://t.co/9ZwtyeRY4R
— Santosh Ghimire (@journonepali) January 8, 2020
जिल्ला अदालतको थुनछेक आदेशपछि मल्ल उच्च अदालत पाटनमा जानुभएको थियो। साधारण तारेखमा छोड्नु पर्ने माग लिएर जानुभएका मल्लको पुनरावेदन उच्च अदालतले सुनेन,पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतके आदेश सदर गर्यो।
दुबै अदालतका आदेशविरूद्ध मल्लको परिवार सर्वोच्च अदालत गएको थियो।
नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमै मल्लले मादकपदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो। मल्लले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताउनु भएको थियो भने चिरायु अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत मल्लले मादकपदार्थ सेवन गरेको उल्लेख थियो।
मंसिरमा दुर्घटना गराएर पक्राउ पर्नुभएका मल्लले आफू गम्भीर डिप्रेसनमा रहेको पुष्टि गर्न मानसिक अस्पतालको २०७६ फागुन ३० को ओपिडी बुक र त्यही अस्पतालको २०७७ असार २८ गतेको डिस्चार्ज विवरण पेस गर्नुभएको थियो।
चिरायु अस्पतालले पनि उहाँलाई दमको रोग भएको मेडिकल रिपोर्ट दिएको छ।


















