Prakash Adhikari July 26, 2020

 

ह्युस्टन(टेक्सस), ११ साउन (बीबीसी) । कोरोना भाइरसको संक्रमणको संकटसंग जुधिरहेको अमेरिकाको टेक्सास राज्य अहिले हाना समुद्री आँधीको चपेटामा परेको छ । भू-उपग्रहबाट लिइएको एउटा तस्विरमा हाना टेक्ससको तटतर्फ बढिरहेको देखिन्छ।

हाना नाम दिइएको एउटा समुद्री आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा बज्रिएसँगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन्।

गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा एउटा विपद् घोषणा गर्दै कोरोनाभाइरस महामारीले आपत्‌कालीन सेवाहरूलाई जटिल बनाउने बताएका छन्।

शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो। जुन अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरबीचमा प्रभाव जमाइरहेको छ।

यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुद्री आँधी हो।

कति शक्तिशाली ?

प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरहरूका छाना उडाएको छ।

हाना यतिखेर क्याटेगरी वानमा पर्ने समुद्री आँधी हो।

पाँच वटा तहमा मापन गरिने समुद्री आँधीमध्ये यो सबैभन्दा तल्लो तह हो।

‘जुनसुकै समुद्री आँधी पनि एउटा विशाल चुनौति हो’, सोमवार गभर्नर अबोटले भन्नुभयो , ‘राज्यमा कोभिड-१९ को सबैभन्दा उच्च चुनौती झेलिरहेको भागमा त्यसको प्रभाव बढिरहँदा यो चुनौती झन् जटिल बनेको छ।’

न्याशनल हुरिक्यान सेन्टर(एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सजग गराएको छ।

निगरानी
ह्युस्टन क्रोनिकल पत्रिकाका अनुसार यस आँधीले ह्युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जानेछ।

तटिय क्षेत्रमा बाढीको जोखिममाझ घर छाड्न भनिएका मानिसहरूलाई अनुहार मास्कसमेत बोकेर निस्कन भनिएको छ।

त्यसैगरी अर्को छुट्टै डोग्लास समुद्री आँधी समेत प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको बताउँदै एनएचसीले त्यस क्षेत्रका मानिसहरूलाई सचेत गराएको छ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आफ्नो प्रशासनले आँधीलाई नजिकबाट नियालीरहेको र दुवै राज्यसँग निकटमा रहेर काम गर्ने बताउनुभएको छ।

हाना बज्रिएको अमेरिकाको दक्षिणी राज्य टेक्ससमा कोभिड(१९ बाट अहिलेसम्म ५ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्।

कोर्पस क्रिस्टीमा शुक्रवार मात्र ४ सयभन्दा धेरै मानिसहरू भाइरसकै कारण अस्पताल भर्ना गरिएका थिए।

त्यहाँ ३ लाख ८० हजार भन्दाबढिमा सङ्क्रमण पुष्टि भइसकेको छ।

Share Now

Leave a comment.