बीरगञ्ज(पर्सा), १६ साउन । नेपालको बाणिज्य नगर मानिएको बीरगञ्ज अहिले कोरोना भाइरसको घातक संक्रमणको हटस्पट बनेको छ । बीरगञ्ज महामहानगर पालिकाका मेयर बिजय सराबगीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने नेपालको प्रतिष्ठित औद्योगिक समूह जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको पनि कोरोनाको कारण मृत्यु हुन गएको छ । उहाँको मृत्युसंगैकोरोना भाइरस संक्रमणको कारण पर्सामा बिहिबार कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
कोरोना भाइरसको संक्रमण देखिएका जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका प्रमुख कार्यकारी अधिकृतको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको भारतीय नागरिक भएको बताएको छ ।
गण्डक कोभिड अस्पतालका अनुसार मृटुको समेत रोगी रहेका उनको राति साढे ११ बजे अस्पतालमा मृत्यु भएको हो। साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। बिहिबार दिउँसोदेखि शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।

यस्तै बिहीबार साँझै वीरगञ्जका ३५ र ६५ बर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा..मदन उपाध्यायले जानकारी दिनुभएको छ।
मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन्।
‘उनीहरु दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो,’ उपाध्यायले भन्नुभयो, ‘३५ वर्षीय युवाको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। छपकैयाका वृद्धको भने घरमै मृत्यु भएको रहेछ। मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना पोजेटिभ देखिएको छ।’
योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
ज्वरो आउने र श्वासप्रस्वासमा गम्भीर समस्या भएका ३५ वर्षीय युवा विभिन्न अस्पताल हुँदै १३ साउनमा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई ५ साउनदेखि ज्वरो आउन थालेको आफन्तले बताएका छन्।
उनको बिहीबार साँझ पौने आठ बजे आइसियुमा उपचारकै क्रममा मृत्यु भएको उपाध्यायले जानकारी दिनुभयो। मृत्युपछि उनको रिपोर्ट आएको थियो। ‘रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ,’ उपाध्यायले भन्नुभयो।
६५ वर्षीय बृद्धको भने आफ्नै घरमा निधन भएको हो। घरमा एक्लै बस्दै आएकाले उनको उपचार हुन नसकेको कारणले मृत्यु भएको हुन सक्ने डा. उपाध्यायको भनाई छ।
‘बृद्धको घरमै मृत्यु भएको जानकारी पाएपछि नारायणी अस्पतालको टोलीले गएर बिहीबार दिउँसो स्वाब संकलन गरेको थियो,’ उपाध्यायले भन्नुभयो, ‘बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो।’
वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको डा.उपाध्यायले जानकारी दिनुभएको छ।
‘संक्रमितमध्ये ५ जनाको अवस्था गम्भीर छ, उनीहरुको आइसियुमा उपचार भइरहेको छ,’ उहाँले भन्नुभयो ।
यसअघिका संक्रमितमा लक्षण नदेखिएपनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको उपाध्यायले बताउनुभएको छ।

मेयरलाई कोरोना संक्रमण
बीरगञ्ज महानगरपालिकामा जनताको सेवामा खटिइरहेका मेयर विजयकुमार सरावगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उहाँले दिनुभएको छ ।
तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उहाँले भन्नुभएको छ , ‘काठमाडौंको एक अस्पतालमा मेरो उपचार भइरहेको छ ।’
कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उहाँले बताउनुभएको छ ।
वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टाइन र संक्रमितहरुको आइसोलेसनको निगरानीमा समेत खटिँदै आउनुभएको थियो ।
उहाँले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टाइन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाउन कुनै कसर बाँकी राख्नुभएको थिएन ।



















