काठमाडौं, २० साउन । देशमा कोरोना भाइरसका संक्रमितको संख्या र मृत्युदर बढ्दै जान थालेपछि भावि रणनीति अख्तियार गर्नेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका प्रतिपक्षी दलका नेतासहति विज्ञहरुसंग परामर्श थाल्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेसहितका करिब २ दर्जन विज्ञहरु सहभागी भएका छन् ।

काठमाडौंमा सोमबार सबैभन्दा बढी ६२ तथा केही दिनअघि ५३ जना संक्रमित देखिएपछि काठमाडौं सबैभन्दा ठूलो हटस्पट बन्दै जाने खतरा बनेको छ । त्यस्तै प्रदेश २ पनि हटस्पट बन्दै गएको छ । प्रदेश २ को बीरगञ्ज, जनकपुर र राजविराजमा कोरोनाको संक्रमण बढेको छ भने प्रदेश ५ को बाँकेमा पनि संक्रमण बढेको छ ।
केही स्थानीय पालिकाहरुले कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी गर्न थालेका छन् तर आर्थिक सामाजिक गतिविधिलाई चलायमान बनाउने नाममा लकडाउन हटाइएको परिप्रेक्षमा छिमेकी मुलुक भारतमा बढीरहेको कोरोना संक्रमण र नेपालमा पनि पुन बढ्न थालेको प्रकोपलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आजको परामर्श बैठकमा राय लिइने बताइन्छ ।
जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले परामर्शमा बस्नुअघि ने तीन हप्तासम्म कडा लकडाउन लगाउने हो भने संभाव्य संक्रमितको संख्या ७५ प्रतिशत घटाउन सकिने भन्दै तत्काल लकडाउन लगाउनुको विकल्प नभएको बताउनुभएको थियो ।
https://www.facebook.com/rabindra.sameer/posts/4180884978649489
डा पाण्डेले लकडाउन लामो समय लगाइरहनु भन्दा अहिलेनै लकडाउन गरिहाल्ने र त्यसपछि बिस्तारै कम संक्रमित भएका स्थानमा खोल्दै जानुपर्ने सुझाव सार्वजनिक गर्नुभएको छ ।
https://www.facebook.com/rabindra.sameer/posts/4180884978649489
सरकारले २ जना संक्रमित भएका बेलामा चैत ११ गते लकडाउन लगाएको थियो ।
तर त्यसलाई लामो समयसम्म व्यवस्थित गर्न नसकेपछि जन दबाबको कारण साउन ६ देखि लकडाउन हटाइएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजेदेखि प्रधानमन्त्री प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्यविद्हरुसंंगको परामर्शमा हुनुहुन्छ । परामर्शमा २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

२०७६ साल चैत्र ११ देखि लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले चैत १० मा २५ जना विज्ञसँग छलफल गर्नुभएको थियो । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै ४ महिना लकडाउन गरिएको थियो ।


















