काठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीकोआगामी १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको छ।
वर्तमान पार्टी सभापति देउवाले आफ्नो कार्यकालमा पार्टीलाई गति दिन नसकेको राष्ट्रिय राजनीतिमा दोस्रो स्थानमा पुर्याएको आरोप लगाउने उहाँलाई पार्टी नेतृत्वबाट बिदाई गर्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारमा आफ्नो दावी रहने पनि उहाँले बताउनुभएको छ ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गर्नुभयो।
उहाँले भन्नुभयो‘मैले धेरैसँग परामर्श गर्दै छु । उनीहरु तपाई नै उठ्नुपर्यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरूका दावी छ भन्छु । रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ । प्रकाशमान छन् धेरै छन् सबै उठेर त भएन नी । हाम्रो लक्ष्य के हुुनुपर्यो । हामी सबै मिलेर एक जना उठ्नु पर्यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ।’
उहाँले बडो आत्मविश्वासको साथ भन्नुभयो “व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेन्टीका साथ भन्न चाहन्छु म बाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन ।’’
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरीत गरिरहेको भन्दै उहाँले असन्तुष्टि जनाउदै आउनुभएको छ।
सभापति देउवाले विधानको अक्षर र भावना विपरीत महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएपछि पार्टीका विभाग र समितिहरु गठन गरेको कार्यको प्रारम्भदेखि नै विरोध गर्दै आउनुभएका महामन्त्री कोइरालाले सभापतिमा सामूहिक नेतृत्वको भावना नरहेको र पार्टीलाई नेतृत्व दिने क्षमता पनि ह्रास भएको बताउनुभयो।
उहाँले पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले अरुका कुरा नसुन्ने गरेको उल्लेख गर्दै महाधिवेशनबाट सबै कार्यकर्ताले यसको जवाफ दिनुपर्ने बताउनुभएको छ।
उहाँलेभन्नुभयो, “उहाँ(सभापतिजी)ले मनोमानी गर्नुभयो । उहाँले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न । हाम्रो निर्णय हामीले महाधिवेशनबाट गर्नुपर्ने अवस्था आउँछ। उत्तम विकल्प नै त्यही हो त्यो बाहेक अरु विकल्प छैन ।”
पार्टीको सभापतिका आकांक्षी डा. कोइरालाले भन्नुभयो,” पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो ।”

सभापतीय पद्धति अंगीकार गरेको नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको संगठन लथालिंग बनाएर पार्टीको साख गिराउनु भएका वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैली र क्षमतामा प्रश्न उठाउदै उहाँले भन्नुभयो, “अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ?”
उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोलि महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेर पनि भनेका छौँ । तर पटक पटक सम्झाउँदा पनि टेर्नुभएन ।
उहाँले महाधिवेशन र निर्वाचनको मुखमा विभाग गठन गर्नु उचित नहुने बताउदा पनि सभापतिले नमानेको बताउदै उहाँले भन्नुभयो, “अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन ।”
कांग्रेस महामन्त्री कोइरालाले क्रियाशील सदस्यता वितरणमा पनि गडबडी गरिएको भैरहेको बताउनु भयो । उहाँले क्रियाशील सदस्यता वितरण पनि सही किसिमले गर्नुपर्ने बताउदै भन्नुभयो, “धेरै जिल्लामा समस्या देखिएको छ । निर्धारित समयमा महाधिवेशन गर्ने हो भने पार्टीभित्रका विवाद घटाउदै क्रियाशील सदस्यताको विवाद टुंग्याएर एकाई, प्रदेश सभा निर्वाचन क्षेत्र,संसदीय निर्वाचन क्षेत्र र जिल्ला,प्रदेशका अधिवेशनहरु यथासमय सम्पन्न गर्न आवश्यक भएको छ।”
उहाँले शतप्रतिशत क्रियाशील सदस्यता थप्ने निर्णयले पार्टीमा गाईजात्रा हुने डर सिर्जना भएको बताउदै भन्नुभएको छ, पार्टीबाट निर्णय नगरिकन केन्द्रीय सदस्य र पदाधिकारी नियुक्त गर्ने, क्रियाशीलसदस्यता वितरण गर्ने कार्य भएकोले ती विषयको निरुपण पनि गर्न जरुरी रहेको बताउनुभयो ।
![]()
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उहाँले बताउनुभयो।
कांग्रेसका निर्वाचित महामन्त्री डा. कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दावी गर्नुभएको छ।
उहाँले वर्तमान पार्टी सभापति देउवाले महाधिवेशन र निर्वाचनको समयमा पार्टीमा देखिएका गुट उपगुटको व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उहाँले महाधिवेशनमा आफ्नो पक्षमा सिर्जना भएको गुटको नेताको रुपमा मात्रै पार्टी सञ्चालन गरेको पार्टीलाई एकताबद्ध बनाएर हिडाउन नसकेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभयो, “पार्टी सभापति अर्को अधिवेशनको संघारमा आजको मितिमा पनि मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ।”
नेपाली कांग्रेसका संस्थापक, नेपाली कांग्रेसका सभापति र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाका कनिष्ट पुत्र डा. कोइरालाले तोकिएकै मिति फागुन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगामी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने बताउनुभयो।
उहाँले आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनको तयारीका लागि पनि पार्टीको निर्वाचन शीघ्र गर्न उचित हुने उल्लेख गर्दै भन्नुभयो, ‘कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ । भावि राष्ट्रिय चुनावको तयारीका लागि नयाँ नेतृत्वलाई सम्पूर्ण तयारी गर्न र सिथिल बनिसकेको पार्टी संरचनामा उर्जा भर्न पर्याप्त लाग्ने भएकोले शीघ्र महाधिवेशन सम्पन्न गर्न आवश्यक भएको बताउनुभयो ।

कांग्रेसका महामन्त्री डा. कोइरालाले अहिलेको सरकारबाट लोकतन्त्र खतरामा परेको बताए। सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको आरोप लगाउदै उहाँले भन्नुभयो, “देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको छ । लोकतन्त्र जोगाउन भए पनि अहिले डेमोक्रेटिक एलायन्सको आवश्यकता रहेको छ। ‘लोकतन्त्र स्थापित नहुँदासम्म अलाइन्स गर्नुपर्छ । डेमोक्रेसी अहिले पनि खतरामा छ ।”
कांग्रेस महामन्त्रीले भन्नुभयो, “कम्युनिष्टहरू डेमेक्रेसीमा विश्वास गर्दैनन् ।‘संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन् त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो।”


















