काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसबाट सोमबार थप ८ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासंगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनको संख्या १ सय ५७ जना पुगेको छ । यसअघि आइतबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १ सय ४९ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।
गएको २४ घण्टामा देशभरि थप ७ सय ४३ जना कोरोनाका बिरामी थपिएका छन् । योसंगै अहिलेसम्म कोरोनाबाट नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । त्यसमध्ये उपचारपछि १८ हजार ८ सय ६ जना निको भएका छन् ।
राजधानीमा नै २ सय २४ जनालाई संक्रमण
पछिल्लो समय राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका थप २ सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा काठमाडौं जिल्लामा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
त्यसैगरी बारामा ९४, कैलालीमा ७९, पर्सामा ३४, चितवनमा ३२ र मोरङमा ३१ सङ्क्रमित थपिएका छन्।
अहिले थपिएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये २ सय ४६ जना महिला र ४ सय ९७ जना पुरुष छन्।
मोरङ, पर्सा, महोत्तरी, रौहट, सर्लाही, बारा र काठमाडौंमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
तर मुस्ताङ र हुम्लामा उक्त सङ्ख्या शून्य छ।
को हुन् मृतक?
मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मृतकहरू सुनसरी, मोरङ, पर्सा र काठमाण्डू र रूपन्देही जिल्लाका हुन्। रूपन्देहीमा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको पुष्टि भएको हो।
काठमाण्डू र पर्सामा पनि एक-एक महिला र सुनसरी र मोरङमा एक-एक पुरुष गरी थप चार जनाको मृत्यु भएको मन्त्रालयले तथ्याङ्कले देखाउँछ।
मृतकमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका थिए ।

अन्य विवरण
मन्त्रालयका अनुसार अहिलेसम्म कुल १८ हजार ८ सय ६ सङ्क्रमित निको भएका छन्।
सक्रिय सङ्क्रमितमध्ये १ सय ३८ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचाररत छन्। भेन्टिलेटरमा भएका सबै बिरामी वाग्मती प्रदेशका हुन्।
अहिले देशभरि क्वारन्टीनमा ११ हजार २ सय ७५ जना छन्।
गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १ हजार १६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ थियो।
यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८ र साउन ३२ गते ६ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।


















