हीथर चेन/केभिन पोनाया / मायुरी मेई लिन/ बीबीसी न्यूज
क्वाललम्पुर(मलेशिया), ८ भाद्र । अर्बौँ अमेरिकी डलर अपचलन भएको एउटा प्रकरणका कारण मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाइएको छ।
भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये एउटाको निर्णय सुनाउँदै अदालतले उहाँ विरुद्ध लागेका सातवटै अभियोगमा अदालतले रजाकलाई दोषी भएको ठहर गरेको हो।
सन् २००९ मा रजाक प्रधानमन्त्री भएका बेला स्थापना गरिएको वनएमडीबी (1MDB) नामक कोष अपचलन भएपछि उनीविरुद्ध मुद्दा परेको थियो।
यो आर्थिक हिनामिनासम्बन्धी विश्वकै सबैभन्दा ठूलो काण्डमध्ये एउटा हो।
मलेशियाली नागरिकहरूलाई सहयोग गर्न लागि सञ्चित अर्बौँ अमेरिकी डलर गायब भएको थियो।
मलेशिया र अमेरिकाका अभियोजनकर्ताहरूका अनुसार उक्त रकम केही शक्तिशाली व्यक्तिहरूको खल्तीमा पुगेको थियो र त्यो सुविधासम्पन्न घरजग्गा, निजी विमान खरिद गर्नेदेखि हलीवुडमा चलचित्रमा लगानी गर्नसम्म खर्च गरिएको थियो।
वनएमडीबी प्रकरण कम्तीमा ६ देशमा फैलिएको छ। यो काण्डका पात्रहरू र कथा रहस्यात्मक धारावाहिक चलचित्रका जस्ता देखिन्छन्। यसमा पत्रकारदेखि अन्तर्राष्ट्रिय छवि भएका ख्यातिप्राप्त व्यक्तिहरू पनि संलग्न छन्।

यो कथाको केन्द्रबिन्दुमा मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक रहनुभएको छ।
उहाँ कुनै बेला निकै प्रख्यात हुनुहुन्थ्यो। उहाँले आफ्नो देशको आर्थिक विकासलाई अगाडि बढाउन सन् २००९ मा उक्त सार्वभौम कोष स्थापना गर्नुभयो। तर नौ वर्षपछि त्यसैले उहाँ र उहाँको परिवारलाई अधोगतिमा पुर्याइदियो।
उहाँ मलेशियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुनुहुन्छ।

एक समय नजिब र बाराक ओबामा मिल्ने साथी हुनुहुन्थ्यो ।
नजिब रजाकले माध्यमिक तहको शिक्षा यूकेमा पूरा गर्नुभएको थियो । त्यसपछि उहाँले नटिङ्अम विश्वविद्यालयमा औद्योगिक अर्थशास्त्र पढनुभयो।
उहाँको त्यो पृष्ठभूमि र ‘मर्यादित इस्लाम’बारे उनका भनाइका कारण डेभिड क्यामरुन र बराक ओबामाजस्ता नेताहरु उहाँको स्वाभाविक रूपमा कुरा मिल्ने समकालीन व्यक्तित्व बन्न पुग्नुभयो।
पूर्व प्रधानमन्त्री रजाकलाई शक्तिको दुरुपयोगको अभियोगमा १२ वर्ष र सम्पत्ति शुद्धीकरण तथा विश्वासघातका ६ अभियोगमा प्रत्येकमा १० वर्ष जेल सजाय सुनाइएको छ।

डेभिड क्यामरुन र नजिब
‘म पक्कै पनि यो फैसलाँसग सन्तुष्ट छैन’, पूर्व प्रधानमन्त्री रजाकले भन्नुभएको छ. ‘यो पक्कै पनि संसारको अन्त्य होइन किनकि पुनरावेदनको प्रक्रिया पनि छ र हामी त्यसमा सफल हुने छौँ भन्ने कुरामा आशावादी छौँ ।’
रोशमाह मन्सोर

रोशमाह मन्सोरको खर्च गर्ने बानी फिलिपिन्सकी इमेल्डा मार्कोस र फ्रान्सकी मारी आँन्वानेटसँग तुलना गरिएको छ।
पति शक्तिबाट हटेपछि कर छली तथा पैसाको अवैध कारोबारका विषयमा उहाँमाथि पनि आधिकारिक रूपमा अभियोग लगाइएको छ। तर उहाँले पनि त्यस्ता आरोप अस्वीकार गनुभएको छ ।
मलेशियामा मन्सोरको भड्किलो जीवनशैलीको चर्को आलोचना हुने गरेको छ।
सन् २०१८ मा प्रहरीले नजिब रजाक र उनकी पत्नीसँग सम्बन्धित केही स्थानमा छापा मारेको थियो। त्यसमा ५ सय वटाभन्दा बढी महँगा ह्यान्ड ब्याग, सयौँ घडी अनि १२ हजार थानभन्दा बढी गरगहनाका फेला परेका थिए।
त्यो घटनाले नजिबको परिवारले निकै विलासी जीवन व्यतीत गरिरहेको अनुमानलाई पुष्टि गरिदिएको थियो।
रोज्मालाई सोधपुछका लागि बोलाइँदा उनको पोसाक अनि झोलामा धेरै मानिसको चासो हुने बताइएको मलेशियास्थित रोएटर्सका संवाददाताले बताएका छन्।

चिनियाँ मूलका मलेशियाली लगानीकर्ता लू ताएकझोलाई झो लू उपनामले चिनिन्छ। अनुसन्धानकर्ताहरूले उनलाई वनएमडीबी काण्डका एक योजनाकारका रूपमा चित्रण गरेका छन्।
कुनै आधिकारिक पद धारण नगरेको भए पनि झो लू ले विभिन्न गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लगाइएको छ।
व्यापक चिनजान र व्यावसायिक बुद्धिका कारण उहाँ अघि बढ्न सफल भएको सन् २०१८ मा सर्वाधिक विक्री भएको पुस्तक ुबिलीयन डलर ह्वेलुमा पत्रकार ब्र्याड्ली होप र टम राइटले बताउनुभएको छ।
‘झो लू वनएमडीबी प्रकरणका सबैभन्दा चाखलाग्दा व्यक्ति हुन। सबैतिर घुलमिल भएका रहस्यमय पात्र….’, होपले बीबीसीलाई भन्नुभयो।
अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उहाँले आफ्नो प्रभावशाली राजनीतिक सम्बन्ध प्रयोग गर्दै करोडौँ डलर घुस दिएर वनएमडीबीसम्बन्धी व्यवसाय हात पारेका हुन्।

झो लूले २५ करोड डलरमा किनेको भव्य क्रूज
उहाँ व्यवसाय र मनोरञ्जनबीच सन्तुलन मिलाउन जान्ने व्यक्ति मानिनु हुन्थ्यो।
भव्य भोज, अरब देशका राजपरिवारका सदस्यहरूसँगको मित्रता अनि चर्चित व्यक्तित्वहरूसँगको चिनजानका कारण झो लू छिट्टै सफल हुनुभयो।
कुनै बेला उहाँलाई संसारकै सबैभन्दा बढी पैसा जुटाउन सक्ने व्यक्ति भएको ती दुई लेखकले पुस्तकमा अनुमान गर्नुभएको छ।
तर नजिब रजाकको सरकार ढल्नु झो लूका लागि निकै नराम्रो खबर सिद्ध भयो। उहाँमाथि विभिन्न देशमा आपराधिक गतिविधिमा संलग्न भएको भन्दै मुद्दा दायर गरिएको छ।
पछिल्लो समय उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा नभए पनि उहाँले आफ्नो वेबसाइटमा वक्तव्य जारी गर्दै आफू निर्दोष रहेको बताउने गर्नुभएको छ।

टिमोथि लेइस्नर
यी जर्मन ब्याङ्करले कुनै समय संसारकै प्रभावशाली वित्तीय संस्थामध्ये मानिने गोल्डम्यान स्याक्सलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो।
सम्झौता गराउन सक्ने उहाँको क्षमताका कारण उहाँ दक्षिणपूर्वी एशिया क्षेत्रका अध्यक्ष बन्न सफल हुनुभयो।
तर ठूला सम्झौताका लागि उहाँले झोसँग सम्बन्ध राख्नुपर्ने हुन्थ्यो। उक्त वित्तीय संस्थाले झो लूलाई सेवाग्राहीका रूपमा अस्वीकार गरिदिएको थियो। त्यस्तो गर्नुको कारण उहाँको पैसाको स्रोत थियो।
तर एक अमेरिकी अभियोगका अनुसार लाइस्नरले गोल्डम्यानकै अर्का प्रतिनिधि रोजर एनजीसँग मिलेर व्यापारका लागि झो लूको शक्तिशाली सम्पर्कसूत्र प्रयोग गर्नुभएको थियो।
ब्याङ्कले वनएमडीबी सम्बन्धित कारोबारबाट सन् २०१२ र २०१३ मा गरेर ६० करोड अमेरिकी डलर कमाएको बताइएको छ।
चर्चित व्यक्तिहरू

पैसा आफैँ बोल्छ। तर के चर्चित व्यक्तिहरूको शक्ति झन् बढी बोल्छ ?
वनएमडीबी प्रकरण प्रभावशाली राजनीतिज्ञ अनि लगानीकर्ताहरूसँग मात्रै सम्बन्धित छैन। झो लू प्रायः हलीवुडका प्रभावशाली कलाकारहरूसँग पनि रमाइलो गर्नुहुन्थ्यो।
ती कलाकारहरूलाई गलत काम गरेको अभियोग लगाइएको छैन।
तर कलाकारहरूको झोसँगको सम्बन्ध सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ।

लियोनार्दो डिक्याप्रिओसँग लोउ
अस्कर विजेता अभिनेता लिओनार्दो डिक्याप्रिओले सन् २०१३ मा ‘द वुल्फ अफ वोल स्ट्रीट’ नामक चलचित्रमा अभिनय गर्नुभएको थियो।
उक्त चलचित्रको सहायक लगानी रोज्माका छोरा (नजिब रजाकका झड्केला छोरा) रिजा अजिजले गर्नुभएको थियो। उक्त चलचित्रबाट डिक्याप्रिओले सर्वोत्कृष्ट अभिनेता विधामा प्रतिष्ठित गोल्डन ग्लोब अवार्ड पनि जित्नुभएको थियो ।
पुरस्कार जितेपछि मन्तव्यमा डिक्याप्रिओले अजिज र झो लूको नामोच्चारण गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उक्त चलचित्र वनएमडीबीको रकम हिनामिना गरेर निर्माण गरिएको थियो।
चलचित्र निर्माण कम्पनी रेड ग्र्यानिटले त्यस विषयमा परेको मुद्दा मिलाउन ६ करोड अमेरिकी डलर खर्च गरेको बताइएको छ। तर उक्त कम्पनीले भने आफूहरूले गलत काम नगरेको बताएको छ।
सन् २०१९ को जुलाई महिनामा रिजा अजिज मलेशियामा पक्राउ पर्नुभयो। उहाँले वनएमडीबीबाट हिनामिना गरिएको झन्डै २५ करोड अमेरिकी डलर हात पारेको आरोप लगाइएको छ।
डिक्याप्रिओले भने अमेरिकी निकायहरूलाई सहयोग गर्ने बताउनुभएको छ र उहाँले लूले उपहारस्वरूप दिएको पिकासोका चित्र पनि बुझाउनुभएको छ।
सङ्गीतकार कसीम डीन र अलिसिया कीज

सङ्गीतकार कसीम डीन अनि अलिसिया कीजसँग झो लू
महत्त्वाकाङ्क्षी उत्पादक कसीम डीन र उनकी सुप्रसिद्ध पत्नी अलिसिया कीज एक समय झो लूसँग धेरै निकट हुनुहुन्थ्यो।
दुवै जना उहाँका भड्किला भोजमा देखा पर्नुहुन्थ्यो। डीनले झो लूको ३१ औँ जन्मदिनको समारोहमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
कसिम डीनले झो लूलाई निकै पैसा रहेको कला क्षेत्रमा ल्याउने व्यक्तिका रूपमा जस पाउनुभएको छ।
प्यारिस हिल्टनसँग पार्टी
भित्री समूहकी अर्की पात्र प्यारिस हिल्टनले सन् २००९ मा झो लूलाई भेटेको बताइएको छ। गोप्य रूपमा खिचिएका तस्बिर अनि ‘सेल्फी’मा उहाँहरू प्रायः सँगै देखिनुहुन्थ्यो।
उहाँहरू लसभेगासका जुवाघरदेखि विभिन्न स्थानमा सँगै देखिनुहुन्थ्यो।
मिर्यान्डा कर र एल्भा सिआओसँग प्रेम
अस्ट्रेलियाकी सुपर मोडल र ताइवानी अभिनेत्री तथा गायिकाबीच के समानता छ ? उहाँहरू दुवैको नाम कुनै बेला झो लूसँग जोडिएको थियो।
लामो समयसम्म चलेको भेटघाटपछि झो लूले विश्वकै महँगी सुपर मोडलमध्येकी करलाई झन्डै १० लाख अमेरिकी डलर बराबरको पीयानो र ११ क्यारटको हीराको हार अनि कानमा लगाउने गहना उपहार दिनुभएको थियो।
त्यस्तै ताइवानी गायिका एल्भालाई उहाँले झन्डै १० लाख अमेरिकी डलर खर्च गरेर दुबई लगेको बताइएको छ। उक्त ‘डेट’मा उहाँहरूले निजी समुद्री तटमा खानपिन गरेको ‘बिलीयन डलर ह्वेल’मा उल्लेख गरिएको छ।
पत्रकारहरू

पत्रकारहरूले वर्षौँसम्म अहोरात्र खटेर काम नगरेको भए वनएमडीबी प्रकरण कहिल्यै पनि प्रकाशमा आउने थिएन।
क्लेअर र्यूक्यासल-ब्राउन, द सरावक रिपोर्ट
मलेशियमा जन्मेकी यी ब्रिटिश पत्रकारले एक दशकअघि लन्डनस्थित घरबाट नै मलेशियाका सम्भ्रान्त वर्गबारे अनुसन्धान थाल्नुभएको थियो।
उहाँको वेबसाइट सरावक रिपोर्ट मलेशियामा प्रकाशमा नआउने गतिविधिहरूमा केन्द्रित थियो। उहाँको ध्यान वनएमडीबीतिर मोडियो।
सन् २०१३ को अन्त्यमा नजिबका झड्केला छोराले ‘द वुल्फ अफ वोल स्ट्रीट’ चलचित्रमा लगानी गरेको सूचना उहाँले पाउनुभयो।
‘त्यसपछि मैले खोजी गर्न थालेँ ‘, उहाँले भन्नुभयो।
मलेशियाली सञ्चारमाध्यमहरूले उक्त विषयमा रूचि नदेखाएका बेला उहाँको वेबसाइटमा एकपछि अर्को ‘स्कूप’ आउन थाल्यो जसले मलेशियाका सर्वसाधारणहरूलाई आकर्षित गर्यो।
सन् २०१५ मा र्यूक्यासल-ब्राउनले २ लाखभन्दा बढी कागजपत्र प्राप्त गर्नुभयो। तिनमा झो लूको नियन्त्रणमा रहेको एउटा कम्पनीको खातामा वनएमडीबी सम्झौताअन्तर्गत पर्ने ७० करोड अमेरिकी डलर जम्मा गरिएको आश्चर्यजनक आरोप लगाइएको थियो।
त्यसको केही महिनापछि उहाँले सन् २०१३ मा प्रधानमन्त्रीको ब्याङ्क खातामा झन्डै ७० करोड डलर जम्मा गरिएको आरोप लगाउँदै विस्तृत विवरण प्रकाशन गर्नुभयो।
मलेशियाली निकायहरूले उहाँको वेबसाइट बन्द गरिदिए र उहाँविरुद्ध पक्राउपुर्जी जारी भयो।
टम राइट र ब्र्याड्ली होप, द वोल स्ट्रीट जर्नल
सन् २०१८ मा ुबिलीयन डलर ह्वेलु मा झो लूका कृत्यहरूबारे विस्तृत रूपमा उल्लेख गरिएको थियो। मलेशियामा त्यो धेरै विक्री भयो।
पत्रकारहरूले वर्षौँदेखि वनएमडीबीबारे अनुसन्धान गरेका थिए।
‘प्रायः समाचार २ हजार शब्दभन्दा लामो हुँदैन र हामीलाई चाखलाग्दा विवरण छुटिरहेका छन् भन्ने लाग्यो’, होपले भन्नुभयो ‘हामीलाई थाहा थियो कि यो काण्ड बुझ्न मानिसहरूलाई गाह्रो भइरहेको थियो र झोबारे अझ ठूला अनि झन् रङ्गीन कथाहरू थिए।’
उक्त पुस्तकले अन्तर्राष्ट्रिय स्तरमै लूको खोजी गर्न दबाब दियो।
द एज मलेशिया
सन् २०१५ मा वनएमडीबीबारे चर्चा चुलिएका बेला मलेशियाका पत्रिका अनि टेलिभिजन हेर्ने हो भने उक्त देशमा सबै ठिक छ भन्ने तपाईँलाई लाग्न सक्छ।
उक्त कोषबारे समाचार लेख्दा आफ्नो पत्रिका वा टीभी सञ्चालन गर्ने अनुमति खतरामा पर्न सक्ने पत्रकार तथा सम्पादकहरू जानकार थिए।
तर त्यस्ता केही संस्था पनि थिए जो विचलित भएनन्। तर तिनले त्यसो गरेबापत मूल्य पनि चुकाउनुपर्यो । द एज मिडिया ग्रूप तीमध्ये एक हो।
वनएमडीबीबारे समाचार छापेका कारण उसको प्रकाशन अनुमति निलम्बन गरिएको थियो र त्यसको कारण ‘सार्वजनिक व्यवस्थालाई असर पार्न सक्ने रिपोर्ट गरेको’ बताइएको थियो।
‘यो अरू केही नभएर हामीलाई मौन राख्न गराइएको हो’, प्रकाशक हो के टाटले त्यस बेला भन्नुभएको थियो।
ग्राफिक्सस् डेभिस सूर्या र अर्भिन सुप्रियादी, जकार्ता


















