शरद केसी / बीबीसी न्यूज नेपाली
काठमाडौं, १७ भाद्र । नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई पठाउने निर्णय कार्यान्वयनको पक्षमा आवाज उठाएपछि उक्त पार्टीभित्र र राष्ट्रिय राजनीति फेरि तरङ्गित बनेको छ।
गौतम त्यो नेता हुनुहुन्छ जसले राखेको छबुँदे प्रस्तावपछि नेकपाभित्रको लामो र गम्भीर विवादको समाधान खोज्न कार्यदल बन्यो र त्यसले प्रस्तुत गरेको प्रतिवेदनपछि त्यो सुल्झिने सम्भावना देखा परेको थियो।
केपी शर्मा ओलीमाथि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नै पर्ने परेको दबाव त्यससँगै टरेको हो।
त्यसमाथि औपचारिक छलफल नहुँदै गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने गत फागनु १४ गतेको सचिवालयको बैठकको निर्णय लागु हुनुपर्ने माग फेरि अघि सार्नुभएको छ।
ओली र गौतमको सम्बन्ध
तत्कालीन नेकपा एमालेमा लामो समय पार्टीभित्र विपक्षीको जस्तो भूमिकामा रहनुभएका के.पी. शर्मा ओलीलाई पार्टी र सरकारको प्रमुख बन्ने वातावरण बनाउन गौतमले निर्णायक भूमिका निर्वाह गरेको नेकपाभित्रै ठानिन्छ।
तर त्यसको ‘गुन तिर्न छाडेर’ ओलीले धोका मात्र दिएको गौतम निकटस्थहरूको बुझाइ पाइन्छ। पछिल्लो प्रकरणलाई पनि उनीहरूले त्यसैसँग जोडेर हेरेका छन्।

तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा परास्त गर्न ओलीलाई गौतमले साथ दिनुभएको थियो।
पार्टी महाधिवेशनमा खनालको सहयोगप्राप्त अर्का नेता माधवकुमार नेपाललाई अध्यक्षमा झिनो मतले हराउनुभएका पार्टी अध्यक्ष ओलीका निम्ति गौतमकै काँध दरिलो सावित भएको ठानिन्छ।
दशकौँदेखि नेता गौतमसँग राजनीतिक रूपले निकट पूर्वमन्त्री हरि पराजुली काठमाडौंको गौशालामा त्यस बेला भएको केन्द्रीय नेता र अगुवा कार्यकर्ताहरूको भेलामा एक जना अध्यक्ष र एक जना प्रधानमन्त्री बन्ने घोषणा ओलीले गरेको बताउनुहुन्छ।
उहाँले भन्नुभयो, ‘त्यो कुनै गोप्य कुरा होइन, सार्वजनिक कुरा हो।’
वामदेवमाथि छलकपट
पार्टी अध्यक्ष ओलीले गरेको भनिएको त्यो अलिखित ूवाचाू गौतमले कहिल्यै सार्वजनिक रूपमा कोट्याउनुभएको छैन।स्थानीय निर्वाचनअघि तत्कालीन माओवादी र एमालेबीच खटपट पर्दा गौतमले मध्यस्थता गर्नुभयो र बजेटपछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने सहमति बन्यो। तर त्यो कार्यान्वयन नभएपछि माओवादीले नेपाली कांग्रेसको समर्थनमा गठबन्धन सरकार बनायो।

अर्का एक नेताका भनाइमा गौतमले त्यस बेला ओलीलाई प्रस्ताव राख्दै भन्नुभएको थियो, ‘तपाईँले प्रचण्डलाई नदिने हो भने म माओवादीसँग कुरा गर्छ, तपाईँले मलाई प्रधानमन्त्रीमा साथ दिनूस्।’
उहाँले सुनाउनुभयो, ”तर ओलीले मान्नुभएन, नत्र वामदेव गौतमको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो।’
चुनावमा हराउन पार्टीभित्रैबाट झेल भएको गौतमको बुझाइ छ। चुनाव हारेपछि पुनर्निर्माण प्राधिकरणलाई शक्तिशाली बनाएर उपप्रधानमन्त्रीसरहको हैसियतमा त्यसको जिम्मेवारी लिने इच्छा गौतमको थियो। तर उहाँले प्रधानमन्त्री ओलीको साथ पाउनुभएन।
प्रतिनिधिसभामा लग्ने आश्वासन र जाने इच्छाका खबरहरू बारम्बार आए, तर गौतमको निम्ति त्यो ढोका खुल्दै खुलेन। उहाँका लागि सांसद पद छाड्न तयार भएकालाई प्रधानमन्त्री ओलीले नै रोकिदिएको गौतम निकटस्थहरूको बुझाइ पाइन्छ।
कस्ताकस्ता प्रस्ताव आए ?
गौतम राष्ट्रिय सभामा जान तयार हुनुभयो। सचिवालयको बैठकले निर्णय गर्यो। तर प्रधानमन्त्रीले सिफारिस नै गरिदिनुभएन।
जब ओलीमाथि प्रधानमन्त्रीमाथि पद छाड्ने दबाव आयो, ओलीले उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याएर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो। त्यसो गर्ने पार्टीले निर्णय नै गर्यो।

नेकपाभित्र ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पद त्याग्नुपर्ने माग पटकपटेक उठेको थियो
तर महामारीका बेला त्यसको चर्चा हुन छाड्यो।
बहुमतकै बलमा प्रधानमन्त्रीलाई राजीनामा दिन लगाउने परिस्थिति बनेपछि नेकपा फुटको सम्भावना देखिएको थियो। ओलीको दुवै पद कायम रहने गौतमको प्रस्तावले त्यो टर्यो।
गौतमनिकट एक नेताका भनाइमा तैपनि ओलीबाट बारम्बार पाएको धोकाको बोझले वामदेव गौतम बिउँझिन थाल्नुभएको छ।
तर नेता हरि पराजुलीका बुझाइमा ूजनताको बहुदलीय जनवाद ओलीले नछोड्ने र वामदेवजीले पनि नछोड्ने सवालमा उनीहरूबीच सामीप्यू छ तर कार्यशैली भने दुवैका भिन्नभिन्न छन्।

ओलीमाथि आइपरेको सङ्कट समाधान गर्ने सूत्र वामदेव गौतमले दिएको मानिएको छ
पराजुली भन्नुहुन्छ, ‘त्यसैले कार्यशैलीगत भिन्नता र विचारधारात्मक एकताले गर्दा उहाँहरूबीच बेलाबेला समर्थन र विरोध देखिएको जस्तो लाग्छ।’
सेलाएको विवाद विधिवत् अन्त्य नहुँदै गौतमको राष्ट्रिय सभा प्रवेशको आकाङ्क्षाले नेकपाभित्रको समिकरण फेरि बदलिने हो कि भन्ने चर्चा हुन थालेको छ। अनि त्यसको अर्को पात्रको रुपमा देखा पर्नु भएको छ, अर्थमन्त्री डा. युवराज खतिवडा।
उहाँलाई अर्थमन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको सदस्य बनाउनुपर्ने हुन्छ।
युवराज खतिवडाको निरन्तरता किन ?
धेरैलाई चासो छ, पार्टीका उच्च नेताहरू रुष्ट हुने जोखिम उठाउँदै आखिर प्रधानमन्त्री किन डा.खतिवडालाई नै निरन्तरता दिन चाहनुहुन्छ ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका बुझाइमा केही विशेषताका कारण सरकारमा खतिवडाको उपस्थिति विशिष्ट छ।

खतिवडाबारे उहाँ भन्नुहुन्छ :
- नक्कली बहीखाता देखाएर राजस्व ठग्नेहरूलाई वास्तविक खाताका आधारमा कर तिर्ने वातावरण बनाउनु खतिवडाले गरेको सबैभन्दा ठूलो कुरा हो। उनीहरूको निम्ति उहाँ असह्य पात्र हुनुहुन्छ किन कि लुटको स्वर्गमा धावा बोले जस्तो भएको छ। राजस्वमाराहरू एकदम क्रुद्ध र आक्रोशित रूपमा उहाँविरूद्ध लागिपरेका छन्।नीतिगत सबै कुराहरूमा डा.खतिवडा ‘इन्साइक्लोपेडिया’ जस्तै हो।
- अर्थतन्त्रका चुनौती, सबलता र जटिलता सबै कुरा बुझेर चल्ने मान्छे हो।
- उहाँ लोकप्रियता चाहने मान्छे होइन, सेलेब्रिटी बन्ने रहर गर्ने वा लोकप्रिय हुन सम्झौता गर्ने मान्छे होइन।
- आफू, परिवार, पार्टी वा समूहलाई भन्दा पनि देशलाई हेरेर काम गर्ने मान्छे हो। विभिन्न क्षेत्रका स्वार्थ समूहहरूले घेरा हालेर उहाँबाट आफ्नो स्वार्थअनुरूप निर्णय गराउन सक्दैनन्। सेयरबजार र घरजग्गा कारोबारमा उहाँले गरेको हस्तक्षेप त्यसका उदाहरण हुन्।
थापा भन्नुहुन्छ, ‘एकजना अर्थमन्त्रीले लगातार पाँचवटा बजेट प्रस्तुत गर्ने कुरा देशमा स्थिर र सबल सरकार, नीतिगत निरन्तरता अनि त्यसको प्रभावसँग जोडिन्छ जस्तो लाग्छ।’
तर अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेट पार्टी घोषणापत्र र प्रतिबद्धताविपरीत रहेको भन्दै कैयौ सांसद र उच्च नेताहरूले चर्को असन्तुष्टि प्रकट गरेका थिए।


















