ब्रायन लारा स्टेडियम (ट्रिनिडाड), १७ भाद्र । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तल्लाबाजले आफ्ना वेष्ट ब्याट्सम्यान आद्रे रसेललाई मैदानमा ढिलो उतार्दा १९ रनले खेलको नतिजा प्रतिस्पर्धी टिम ट्रिनबागो नाइट राइडर्सलाई सुम्पनु परेको छ ।
ट्रिनबागो नाइट राइडर्सले सातौँ खेलसम्म पनि अपराजित यात्रा कायमै राख्दै खेलमा १४ अंक बटुलेर अंकतालिकाको शीर्षस्थान सुरक्षित गरेको छ । सन्दीपको जमैका तलाहवाजभने ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक प्राप्त गरी चौथो स्थानमा यथावत रहेको छ। समान ७ खेल खेलेको गुयना अमेजन वारियर्सको पनि ६ अंकनै रहेको छ तर नेट रन रेटमा अघि रहँदै तेश्रो स्थानमा रहेको छ।
ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा टस जितेर फिल्डिड. रोजेको सन्दीपको जमैकाले ट्रिनबागोले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि आन्द्रे रसेलले आक्रामक अर्धशतक प्रहार गरेका थिए । तेह्रो ओभरमा मैदानमा उत्रिएका रसेललाई सुरुका ओभरमा फवाद अहमद,द्धायन ब्राभो र सुनिल नारायनले रोके । १८ औं र २० औं ओभरमा रसेल चम्किएका थिए तर आवश्यक रन जोड्नका लागि त्यो ढिलो भैसकेको थियो ।
उनले जित दिलाउन सकेनन् ।

अविजित ५० रन बनाएका रसेलले अन्तिम बलमा छक्का प्रहार गर्दै २३ बलमा अर्धशतक पुरा गरेका थिए। यस क्रममा रसेलले ५ चौका र ४ छक्का प्रहार गरे। कार्लोस ब्राथवेटले अविजित २१ रन बनाए जसले १६ बलमा २ चौका र १ छक्का हिर्काए। ओपनर ग्लेन फिलिप्सले ४१ , क्रुमाह बोनरले २६ तथा जर्माइन ब्ल्याकवुडले १२ रन बनाए।
ट्रिनबागोको बलिंगमा फवाद एहमदले २ विकेट तथा अकिल होसन, खरी पिएरे, सुनिल नारायण र ड्वेन ब्राभोले समान १ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा ट्रिनबागोले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो।
ट्रिनबागोको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका कोलिन मुनरोले सर्वाधिक ६५ रन बनाए । उनले ५४ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान काइरन पोलार्डले अविजित ३३ रन बनाए । उनले १६ बलमा १ चौका र ३ छक्का प्रहार गरे। पोलार्ड र मुनरोले चौथो विकेटको लागि ३४ बलमा ७३ रनको साझेदारी गरेका थिए।
मुनरोले सर्वाधिक ६५ रन बनाए भने पोलार्डसंग ७३ रनको साझेदारी गरे। मुनरो म्यान अफ द म्याच घोषित भए ।
जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले २ तथा सन्दीप लामिछाने र फिडेल एडवार्ड्सले १। १ विकेट लिए। लिगको सर्वाधिक विकेटकर्ता मुजिब उर् रहमान लिगमा पहिलो पटक विकेट विहिन रहे। सबैभन्दा किफायती बलिंग गरेका सन्दीप ४ ओभरमा २० रन मात्र जोड्न दिए भने कप्तान रोभम्यान पावेल र एड्वार्ड्सले ४ ओभरमा समान ४८ रन जोड्न दिए।
सन्दीपको लय कायमै

आठौँ ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो ओभरमा ३ बल डट फाले भने बाँकी ३ बलमा १ । १ रनमात्र बनाउन दिए । उनी पहिले क्रिजमा जमेका कोलिन कोलिन मुनरो र लेन्डल सिमोन्सको गति रोक्न सफल रहे ।
१० औं ओभर दोस्रो स्पेल लिएर आएका सन्दीप ओभरको दोश्रो बलमा ओपनर लेन्डल सिमोन्सलाई क्याच आउट गराए। मुनरो र सिमोन्स बीचको ४६ रनको महत्वपूर्ण साझेदारी तोड्दै सन्दीपले टिमलाई खेलमा फर्काए। ओभरको अन्तिम बलमा सन्दिपले गरेको लेग स्पिन मुनरोको ब्याटको भित्रि किनारा लागेर किपर पछाडी चौका गएको थियो। थोरै अन्तरले सन्दिपले मुनरोको विकेट ढाल्न चुके।
१२ औं ओभरको तेस्रो स्पेलमा सन्दीपले अझ उत्कृस्ट बलिंग गरे । उनले यो ओभरमा ४ बल डट फाले भने दुई बलमा एक एक रन बनाउन दिए । उनले मुनरोलाई नियन्त्रण गरे। तेश्रो बलमा सन्दिपले गरेको एलबिडब्लु अपिललाई अम्पायरले अस्वीकार गरेका थिए ।
१४ औं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले ३ बल डट फाले भने ३ बलमा ७ रन जोड्न दिए । ओभरको दोश्रो बलमा टिम सेफर्टले उनलाई चौका प्रहार गरेका थिए।

खेलका ४ ओभरमा सन्दीपले २० रन बनाउन दिएर १ विकेट लिए।
सीपीएल २०२० अन्तर्गत सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो नाइट राइडर्सविरुद्ध १ विकेट, तेश्रो खेलमा गुयना अमेजन वारियर्सविरुद्ध २ विकेट, चौथो खेलमा गुयनाविरुद्ध १ विकेट, पाँचौ खेलमा बार्बेडोस ट्राइडेण्टविरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स एण्ड नेभिज प्याटिअर्टसबिरुद्ध २ विकेट लिएका थिए।


















