काठमाडौं, १७ भाद्र । विगत २४ घण्टामा नेपालमा थप १ हजार १ सय २० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने १२ जनाको कोरोना भाइरसबाट मृत्यु भएको पुुष्टि भएको छ ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ५१ पुगेको छ।
बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८ हजार १ सय ८ सङ्क्रमित भएको बताउनुभएको छ।
तीमध्ये ७ हजार ६ सय १५ जना घरमै र १० हजार ४ सय ४३ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।
सरकारको तथ्याङ्क अनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सङ्क्रमित र मृतक
अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
सङ्क्रमितमध्ये ३२० जना महिला र ८०० जना पुरुष छन्।
विगत २४ घण्टामा १ हजार १ सय १२ जना पीसीआर विधिबाट परीक्षण गर्दा रोगमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो।
अहिलेसम्म झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू अर्थात् २३ हजार २ सय ९० जना निको भइसकेका छन्।
देशभरि क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना छन्।
भदौ १४ गते १ हजार २ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १ हजार १ सय ११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो।(बीबीसीबाट)


















