Prakash Adhikari September 5, 2020

 

काठमाडौं, १९ भाद्र । डा. युवराज खतिवडाले अर्थमन्त्री पदबाट शुक्रबार दिएको राजिनामा स्वीकृत भएको छ र उहाँले सम्हाल्दै आउनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई नै ती मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ।

अर्थमन्त्रीबाट डा.खतिबडाको बहिर्गमनसंगै नयाँ अर्थमन्त्रीको नियुक्ति नभएकोले अर्थ मन्त्रालयको बागडोर प्रधानमन्त्री ओलीले आफैं सम्हाल्नु हुने आशंकालाई बल मिलेकोे छ ।

प्रधानमन्त्री ओलीले यसको संकेत पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमलाई बिहिबार नै दिइसक्नुभएपछि शुक्रबारबाट राजनीतिक वृत्तमा यसको चर्चा सुरु भएको थियो । पार्टी सचिवालयले राष्ट्रिय सभाको रिक्त पदमा २०७६ फागुन १४ को निर्णय अनुसार नै पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपतिमा सिफारिस गर्ने निर्णय गरेपछि हौसिएर रिक्त्त हुने अर्थमन्त्रालयको जिम्मा उहाँलाई नै दिन उपयुक्त हुने प्रस्ताव बोकेर बालुवाटार पुग्नुभएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण र लकडाउन तथा निषेधाज्ञाका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकलाई पार लगाउन उपयुक्त टेक्नोक्र्याट पार्टीमा नदेखिएकोले तत्काल अर्थमन्त्रालय आफैले सम्हाल्ने संकेत दिनुभएको थियो ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको भेटपछि सोही माग दावीसहित प्रधानमन्त्रीलाई भेट्न पुग्नुभएका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई त प्रधानमन्त्री ओलीले तपाईलाई डेबिट क्रेडिट त आउछ भनेर नाजवाफ बनाइदिनुभएको थियो ।

आफूले अत्यन्तै विश्वास गरेका र कठिन अवस्थामा पनि साथ दिएका अर्थमन्त्री डा. खतिवडा मन्त्रिपरिषद्बाट बाहिरपछि उहाँको विज्ञतालाई उपयोग गर्न प्रधानमन्त्री ओलीले सचिवालयको बैठक लगत्तै नयाँ रणनीति बनाएको अनुमान छ । बालुवाटार सूत्रका अनुसार प्रधानमन्त्री ओली डा.खतिवडालाई आफ्नो सल्लाकार बनाएर देशको समग्र अर्थतन्त्र हेर्ने जिम्मेवारी दिन चाहानुहुन्छ र अर्को भरपर्दो व्यक्ति नपाएसम्म आफै अर्थमन्त्रालय सम्हाल्न चाहनुहुन्छ ।

प्रधानमन्त्री ओलीले यसको संकेत शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा पनि दिनुभएको थियो । बैठका अर्थमन्त्री डा.खतिवडाले आफूले विगत अढाई बर्षमा गरेका कामको संक्षिप्त जानकारी दिंदै नयाँ परिस्थितिमा प्रधानमन्त्रीलाई निर्णय लिन सहज हुनसकोस् भनेर शुक्रबार नै राजिनामा दिने घोषणा गर्नुभएको थियो । उहाँको मन्तब्यपछि प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा.युवराज खतिवडाको विज्ञताको आवश्यकता सरकारलाई रहेको बताउदै अबका दिनमा मन्त्रिपरिषद् बाहिरै बसेर सहयोग गर्न पनि आग्रह गर्नुभयो र हालसम्म इमान्दारीपूर्वक गर्नुभएको कामको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा यति ठूलो बहस भइसकेपछि खतिवडाले नै राष्ट्रियसभा सदस्यमा आउने इच्छा व्यक्त नगरेको बताउदै भन्नुभएको थियो, ‘यदि उहाँले इच्छा राखेको भए मैले अडान लिन्थेँ ।’

ओली रहिञ्जेल अर्थमा डा. युवराजकै चल्ने

प्रधानमन्त्री केपी शर्मा ओली निकटका अनुसार डा.युवराज खतिवडा बाहेक अन्य कुनै भरपर्दो व्यक्तिलाई अर्थ मन्त्रालय सुम्पिन नसक्ने निष्कर्षमा प्रधानमन्त्री ओली पुग्नुभएको छ ।

उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयको पदीय जिम्मेवारी लिनुहुनेछ र आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गरेर बालुवाटार भित्र्याउनुहुनेछ । यसो गर्दा खतिवडाको योजना अन्तर्गत नै अर्थ मन्त्रालय चल्नेछ । विज्ञ अर्थमन्त्री निकालेर ओली सरकारलाई आर्थिक संकटमा पारेर धराशायी बनाउन खोज्नेलाई गतिलो जवाफ मिल्नेछ भन्ने निश्कर्षमा प्रधानमन्त्री ओलीको टिम पुगेको छ ।

प्रधानमन्त्री ओलीले आफूजस्तै राजनीतिक संस्कारमात्र बोकेर आउनुभएका गिरिजाप्रसाद कोइरालाले महेश आचार्यलाई अर्थ राज्यमन्त्री बनाएर अर्थ मन्त्रालय आफैसँग राखेको नजिर अरुलाई देखाउने गर्नुभएको छ । कुनै एक उपयुक्त पात्रलाई उपयुक्त समयमा अर्थ राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रालयको बागडोर आफूले नै चलाउने र राय परामर्श र सबै फाइलको अध्ययन गर्ने जिम्मा डा. खतिवडालाई सुम्पने  तयारीमा प्रधानमन्त्री ओली रहनुभएको बालुवाटार स्रोतको दावी छ ।

Image

खतिवडाको अभिव्यक्तिको मर्म

त्यसो त यस्तो तयारीको पूर्वाभास अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिमा पनि देखिएको छ ।उहाँले प्रधानमन्त्रीलाई आफूले जुन ठाउँमा जे जस्तो जिम्मेवारी सुप्पे पनि इमान्दारीपूर्वक काम गर्ने वचन दिनुभएको छ ।

शुक्रबार राजीनामा बुझाउनु अघि मन्त्रालय मातहतका विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले भन्नुभएको थियो, ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मेरो ज्ञान, अनुभवलाई निष्ठापूर्वक प्रयोग हुने ठाउँमा, जुन पदमा, जुन जिम्मेवारीमा वा बिना पद र जिम्मेवारी रहे पनि पदीय जिम्मेवारी बाहिर रहे पनि काम गर्न तयार छु । त्यसैले मबाट सहयोग प्राप्त हुन सक्छ भने निसंकोच भन्दा हुन्छ ।’

Share Now

Leave a comment.