काठमाडौं, १९ भाद्र । विगत २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४ हजार २ सय ३६ पुगेको छ।
अहिलेसम्म २५ हजार ५ सय ६१ सङ्क्रमित निको भइसकेका छन् भने २ सय ७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ। मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।
शुक्रवार अपरान्ह आयोजित दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८ हजार ४ सय ४ सक्रिय सङ्क्रमित भएको बताउनुभयो।
तीमध्ये ७ हजार ४ सय ६२ जना घरमै र १० हजार ९ सय ४२ जना संस्थागत आइसोलेशनमा छन्।
काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
को हुन् मृतक र सङ्क्रमितहरू ?
अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
सङ्क्रमितमध्ये ४६४ जना महिला छन्।
शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका ४ सय ५४ जना छन्।
मृतकहरू काठमाडौंमा ३ जना महिला र सप्तरीका २ जना पुरुष रहेका छन्।
अन्य मृतकहरूमा चितवनकी एक महिला रहेकी छन् भने धनुषा, कास्की, नवलपरासी, प्युठान, रूपन्देही, पाल्पा र सुर्खेतका पुरुष रहेका छन्।

परीक्षणको स्थिति
शुक्रवार अपराह्ण चार बजेसम्म २४ घण्टाको अवधिमा १३ हजार ६ सय ३८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो।
सो अवधिमा १ हजार ३ सय ५४ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।
अहिले देशभरि क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना छन्।
भदौ १८ गते १ हजार २ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसअघि भदौ १७ गते १ हजार १ सय २० जनामा, भदौ १६ गते १ हजार ६९ जनामा, भदौ १४ गते १ हजार २ सय २१ जनामा र भदौ ११ गते १ हजार १ सय ११ जनामा देखिएको पुष्टि गरेको थियो।
त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो।(बीबीसीबाट)


















