काठमाडौं, १९ भाद्र । प्रधानमन्त्री के.पी. शर्मा ओलीको अत्यन्त निकटको विश्वासपात्रको रुपमा उदाउनुभएका डा.युवराज खतिवडा राष्ट्रिय सभामा मनोनित हुनुभयो र लगत्तै अर्थमन्त्रीको जिम्मेवारी पाउनुभयो ।
एक जागीरेको रुपमा नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त गर्नुभएका डा.खतिवडा नेकपाभित्र पटकपटक अवसर पाउने भाग्यमानीमा नै पर्नुहुन्छ । राजनीतिक झुकाव र सम्बन्ध कायम नराखेको भए उहाँ राष्ट्र बैंकको विशिष्ट श्रेणीबाट पाएको अवकाशमै चित्त बुझाउनु पर्दथ्यो । तर राजनीतिक झुकाव र सम्बन्धले उहाँको वृत्ति विकासलाई उत्कर्षमा पुर्याउन मद्दत गर्यो । युएनडीपीको जागीर खान श्रीलंका पुग्नुभएका उहाँ अवकाश पछि नेपाल राष्ट्र बैंकको गभर्नर हुन पाउनुभयो, राजनीतिक नियुक्तिको आडमा । योजना आयोगको उपाध्यक्ष बन्न पाउनुभयो, राजनीतिक नियुक्तिमै । राष्ट्रिय सभाको सदस्य बनेर अर्थमन्त्रालय सम्हाल्न पाउनुभयो, राजनीतिक सम्बन्धको आडमा ।
राष्ट्रिय सभाको पदावधि निर्धारण गर्दा आफ्नै हातले चिठ्ठा तान्दा भने उहाँलाई उहाँकै भाग्यले त्यति साथ दिएन, ६ बर्षसम्मको कार्यकाल रहने राष्ट्रिय सभामा उहाँले २ बर्षको चिठ्ठा तान्नुभयो । सायद त्यसै दिन देखि हुनुपर्दछ,उहाँको अर्थशास्त्र र योजनाको ज्ञानको लाभलाई निरन्तर रुपमा लिने सम्बन्धमा उहाँलाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीमा चिन्ता थपियो । सायद आफ्नो स्वास्थ्य राम्रो भएको भए र पार्टीभित्रको पकड पूर्ववत रहेको भए प्रधानमन्त्री ओली उहाँको कार्यकाल थप्न हिच्किचाउनु हुन्थेन तर उहाँले परिस्थितिले त्यति साथ दिएन् । पार्टीभित्रको गुटबन्दी झ्यांगियो र डा. खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिने उहाँको इच्छाका विरुद्धमा २०७६ फागुन १४ को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सो स्थानमा लग्ने निर्णय गरिदियो ।
आफूमा निहित संवैधानिक विशेषाधिकारको उपयोग गर्दै प्रधानमन्त्री ओलीले डा.खतिवडालाई थप ६ महिना संसद सदस्य नरहेकै अवस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पनुभयो । तर यी छ महिनामा पनि प्रधानमन्त्रीको अनुकूल परिस्थिति बनेन । उहाँले डा.युवराजलाई राष्ट्रिय सभाको सदस्य बनाउन सक्नुभएन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णय भएको थियो । त्यतिखेर प्रयास भएको भए सायद डा.खतिवडा राष्ट्रिय सभामा निरन्तरता दिन पाउनुहुने थियो । तर प्रधानमन्त्रीको पद र कुर्सीनै डोलयमान भैरहेको बेला डुब्न लागेको डुंगामा बसेर सयर गर्ने रुचि डा. खतिवडामा पनि भएन होला र यसका चालकमा नै त्यस्तो रहर रह्यो होला ।
तर आफू प्रधानमन्त्री रहेसम्म डा. खतिवडालाई पनि साथै राख्न इच्छुक प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी सुरक्षित भएपछि उहाँका पक्षमा अडान राख्नुभएको हो । तर पार्टीमा आफू कमजोर भएपछि त्यसमा अड्न सक्नुभएन र अर्थमन्त्री डा.खतिवडाले भाद्र १९ गते राजिनामा दिने परिस्थिति सिर्जना भयो । संघीय संसदको कुनै पनि सदनको सदस्य नरहेकोले ६ महिनाका लागि नियुक्त हुनुभएका अर्थमन्त्री डा.खतिवडाको पदावधि शनिवार रातको १२ बजेसम्म थियो । उहाँले शुक्रबार दिउँसो नै राजिनामा दिनुभयो ।

उहाँले शुक्रबार बिहान भएको मन्त्रिपरिषद्को बैठकमा भाग लिनुभयो र आफूले आजै राजिनामा दिन लागेको घोषणा गर्नुभयो । प्रधानमन्त्रीले विश्वास गरेर आफूलाई दिएको अवसरलाई व्यक्तिगत लाभका लागि होइन देश र जनताको लागि उपयोग गरिएको दावी गर्नुभयो । उहाँले त्यहाँ आफूले अर्थमन्त्रालय सम्हाल्दा गरिएका कामको फेहरिस्त पनि वाचन गर्नुभयो ।
अर्थमन्त्री डा.खतिवडाले दावी गर्नुभएको आर्थिक उपलब्धि
उहाँले कोभिड–१९ संक्रमण जोखिम सिर्जना हुनुअघिका दुई वर्षमा उत्पादन शक्तिको विकास, लगानीमैत्री वातावरण निर्माण र शासकीय सुधारको निरन्तर प्रयासले समष्टिगत आर्थिक परिसूचक उत्साहजनक हुँदै गएको दावी गर्नुभयो । उहाँले यो सरकार पहिलेका१० वर्षको अवधिमा औसत आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेकोमा ०७४।७५ मा ६.७, ०७५।७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएको र कोरोनाको कारण ०७६ ।७७ मा आर्थिक वृद्धि २।३ प्रतिशतमा खुम्चिएको बताउनुभयो ।
उहाँले उच्च आर्थिक वृद्धिको दाबी गर्दै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना भएको अनुमान गर्नुभयो ।
उहाँले पछिल्ला ३ वर्षमा मुद्रास्फिति पनि औसत ५ प्रतिशतभन्दा तल नै सीमित रहेको दावी गर्नुभयो । उहाँले भूकम्प गएको वर्षबाहेक सरकार आउनुपूर्वको एक दशकमा आयातको वृद्धि वार्षिक औसत २० प्रतिशत रहेकामा पछिल्ला तीन वर्षमा सुधार आउँदै औसत ७.९ प्रतिशत मात्रै बढेको बताउदै निर्यातमा लिएको सही नीतिले निर्यात बढेको पनि बताउनुभयो ।
आयातमा कमी र निर्यातको वृद्धिले व्यापार घाटा कम भएको दावी गर्दै आर्थिक वर्ष ०७४ । ७५ मा कुल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशत रहेको व्यापार घाटा ०७६ ।७७ मा २९ प्रतिशतमा सीमित रहेको बताउनुभयो । उहाँले व्यापार घाटा नियन्त्रणले चालु खाता घाटा, भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा सुधार भएका तथ्यांक उल्लेख गर्नुभएको थियो ।
उहाँले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको भन्ने दावी गर्दै ‘वर्तमान सरकारको कार्यकालमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत क्षेत्रमा गरिएको लगानीको सूचकमा राम्रो प्रतिफल हासिल हुन थालेको ’ दाबी गर्नुभयो।
उहाँले यातायात, विद्युत्, सञ्चार तथा सूचना प्रविधि पूर्वाधारमा उल्लेख्य विस्तार भएको दावी गर्नुभयो ।

‘नागरिकको औसत आयु वृद्धि भएको, स्वास्थ्य बीमा तथा निःशुल्क स्वास्थ्य सेवाका कारण स्वास्थ्यसम्बन्धी अरू परिसूचकमा पनि सुधार आएको, सबै नागरिकमा सरसफाइ र खानेपानीको स्रोतमा पहुँच पुग्ने स्थिति बनेको छ , गरिबीको रेखामुनि रहेको जनसंख्या १९.६ प्रतिशतबाट करिब १७ प्रतिशतमा झरेको पनि दावी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘कोभिड–१९ को असर नपरेको भए यस अवधिमा गरिबीको दर १६ प्रतिशत रहने अनुमान थियो । उहाँले भोकमरी पूर्णरूपमा अन्त्य भएको दावी गर्दै सडक मानवमुक्त समाज निर्माण भइरहेको र ‘टुहुरा, असहाय, अशक्त एवं वृद्धवृद्धालाई राज्यले संरक्षण गर्ने काम गरिरहेको बताउनुभयो ।श्रम कानुनको कार्यान्वयन र ज्यालामा भएको वृद्धिले श्रमिकको जीवनस्तर माथि उठेको पनि उहाँले दावी गर्नुभयो ।
यो सरकार आएपछि नागरिकमा इन्टरनेटको पहुँच ६१ प्रतिशतबाट करिब ७३ प्रतिशत पुगेको , दैनिक ५.१ किलोमिटरका दरले सडक कालोपत्र भएको ४ सय ९९ पुल निर्माण सम्पन्न भएको, विद्युत् उत्पादन ३० प्रतिशतले वृद्धि भई १ हजार ३१ मेगावाटबाट १ हजार ३ सय ९७ मेगावाट पुगेको दावी गर्नुभयो । उहाँले आगामी ३ वर्षभित्र कम्तीमा ५ हजार मेगावाट जलविद्युत् उत्पादन हुने गरी निर्माण कार्य अघि बढिरहेको पनि बताउनुभयो ।
व्यावसायिक, नीतिगत र कानुनी सुधारका कारण भन्दै निजी लगानी आकर्षित भएको पनि खतिवडाले उल्लेख गर्नुभएको छ । ‘गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको लगानी सम्मेलनका कारण लगानी बोर्डमार्फत ८ आयोजना निर्माण गर्न २ खर्ब १० अर्ब बराबरको विदेशी लगानी स्वीकृति भएको र १४ आयोजनाका लागि १४ खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उहाँले दावी गर्नुभएको छ ।
उहाँले ‘वर्तमान सरकार गठन हुँदासम्मको एक वर्षको अवधिमा २१ अर्बको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा यो २ वर्ष ६ महिनाको अवधिमा ९५ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको ’दावी गर्नुभएको छ ।
आफ्नो कार्यकालमा ब्याजदर नियन्त्रण भएको र कम दरमा समेत रहेको खतिवडाले बताउनुभयो । उहाँलेसेयर बजार सुधारोन्मुख एवं गतिशील बनेको समेत दावी गर्नुभएको छ ।
उहाँले कुल वैदेशिक सहायताको ३० प्रतिशत रकम बजेटरी सहायताका रूपमा प्राप्त भएको दावी गर्दै ‘यस अवधिमा विश्व बैंक, आईएफएफ, एसियाली विकास बैंक र युरोपियन युनियनबाट १ खर्ब ४४ अर्ब बजेट सहायता प्राप्त भएको थप २४ अर्ब बराबरको बजेटरी सहायता प्राप्त हुने चरणमा रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले वैदेशिक अनुदानतर्फ ९१ अर्ब र ऋणतर्फ ४ खर्ब १ अर्ब गरी ४ खर्ब ९२ अर्ब विकास सहायता प्रतिबद्धता प्राप्त भएको तथ्यांक पनि राख्नुभएको थियो ।

विदाई भेटमा डा. खतिवडा
दिउँसो अपरान्ह उहाँले आफूले सम्हालेका अर्थ मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा विदाई भेट गर्नुभयो ।
अर्थमन्त्रालयको विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले कैयन पटक भविष्यमा केही परे आफू सहयोग गर्न तयार रहेको र निसंकोच सहयोग माग्न आग्रह गर्नुभयो ।
उहाँले आफूले मन्त्रालयमा दुई जना सचिवलाई मिलाएर राख्न सकेकोमा गर्व गर्दै भन्नुभयो,‘पहिले मन्त्रालयमा अर्थ र राजस्व सचिव हुँदा दुईबीच कहिले के कहिले के चलिरहेको हुन्थ्यो । तर, मैले त्यो बुझेको हुनाले त्यो मौका नै दिइन, मैले जहिले पनि उहाँहरुको कुरा बराबरी रुपमा सुने ।
उहाँले आफ्नो निजी सचिवालयको पनि तारिफ गर्दै भन्नुभयो, ‘मेरो निजी सचिवालय पनि ‘फ्यान्ट्यास्टिक’ भयो । मेरो मनोविज्ञान बुझेर काम गर्ने सचिवालय पर्यो । मलाई फेरि २० को १९ पनि हुन नहुने त्यसैले बुझेर काम गर्नुभयो । ठूलो बोली पनि बोल्नु परेन ।’
दशकौंदेखि कोसिस गरेको कर सुघारका कुराहरुमा पहिलो त ट्याक्स सिस्टमलाई प्रोग्रेसिभ बनाऔं भनेर म योजना आयोगको उपाध्यक्ष हुँदा २ पटक प्रयास गरे तर साथीहरुले मान्नु भएन । यो आयकरको दर नचलाऔं, बेस बिग्रन्छ, घट्छ, यहाँ ६ अर्ब घट्छ, यहाँ ४ अर्ब घट्छ भनेर हैरान गर्नु भयो ।तर मैले भने ‘नो’ ।
यो हाम्रो पार्टीको सिद्दान्त हो, बैचारिक कुरा हो । सामाजिक न्यायसँग सम्बन्धित कुरा भएकाले यो गर्ने नै हो । मूल्यअभिवृद्धि कर रिग्रेसिभ नै हो । त्यो छल्न गाह्रो हुन्छ । सर्वसाधारणले उपयोग गर्ने कुरालाई बाहिर राखौं तर करको दायरामा आएको कुरालाई छुट नदिऔं भने । सर्वसाधारणले तिरेको कुरालाई बिक्रेतालाई फिर्ता नदिऔं भने । मोबाइल, तेल, घिउ, चामलमा पनि दिएर हामीले वर्षमा अर्बौ रुपैयाँ जोगायौं ।
‘व्यक्तिगत अभीष्टका लागि केही गरिनँ’
.jpg)
सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,‘दुवै मन्त्रालयबाट राजीनामा दिएको छु । सरकारबाहिर रहेर पनि राष्ट्रहित, राष्ट्रिय विकास र समृद्धिको अभियानमा कुनै न कुनै रूपमा म जुटिरहनेछु । आधारभूत रूपमा अध्ययन, अध्यापन, अनुसन्धान र नीति निर्माणमा बहस पैरवी गर्न रुचाउने मान्छे हुँ । त्यो काममा लागिरहनेछु ।’
काम गरिरहँदा सबै कुरा नमिलेको तर त्यसलाई राष्ट्रिय हितका दृष्टिकोणले हेरिदिन उहाँको अनुरोध थियो । ‘राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कुरा व्यक्तिको हितमा नहुन सक्छन् । आफ्नो ब्यक्तिगत हितमा केही नगरी बृहत्तर राष्ट्रिय हितका कुरा गरिरहँदा कसैलाई चित्त दुखेको रहेछ भने तपाईंहरूले बुझिदिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘किनभने मैले व्यक्तिगत अभीष्टका लागि केही गरिनँ, गरेको पनि छैन । यो मेरो निष्ठा हो । मेरो निष्ठा, ज्ञान र अनुभवले मैले यहाँसम्मको जिम्मेवारी पाएको हुँ ।’
उहाँले सरकार बाहिर रहेर पनि त्यसलाई निर्वाह गर्ने बताउनुभएको थियो ।


















