Prakash Adhikari September 8, 2020

 

नयाँ दिल्ली(भारत), २३ भाद्र(बीबीसी) । लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ।

बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ।

उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए।

प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकहरूले हावामा गोली हानेको उसको दाबी छ।

गत राति चिनियाँ सेनाले भारतीय सैनिकहरूले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो।

विश्लेषकहरूका अनुसार सन् १९७५ पछि उक्त क्षेत्रपछि सीमामा गोली चलेको यो पहिलो पटक हो।

गत जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान क्षेत्रमा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकहरूको मृत्यु भएको थियो। त्यो बेला गोली भने चलेको थिएन।

उक्त घटनामा आफूतर्फ कति सैनिक हताहत भए भन्नेबारे चीनले केही भनेको छैन।

भारतीय सेनाको भनाई

भारतीय सेनाले आफ्नो एउटा वक्तव्यमा भनेको छ, ‘सेप्टेम्बर ७ सोमवार चिनियाँ सेना (पीएलए) का सेनाहरूले ‘लाइन अफ एक्चूअल कन्ट्रोल’ एलएसीस्थित भारततर्फ बढ्ने कोसिस गरेका थिए।’


‘हाम्रा सैनिकहरूले उनीहरूलाई त्यहाँबाट लखेटे, उनीहरूले हावामा गोली चलाएर हाम्रा सैनिकहरूलाई तर्साउन खोजे।’

उसले चिनियाँ फौजले उक्साहटपूर्ण कार्य गरे पनि भारतीय सैनिकहरू संयमित भएको र परिपक्व एवम् जिम्मेवार व्यवहार गरेको जनाएको छ।

भारतीय सेनाले चीनका वेस्टर्न थिएटर कमान्डले वक्तव्यमार्फत् आफ्नै देशभित्र र अन्तर्राष्ट्रिय जगत्‌लाई झुक्याउने प्रयास गरेको आरोप पनि लगाएको छ।

चीनको जिकीर

सन् १९९६ भएको एउटा सम्झौताअनुसार दुवै देशहरू विवादित मानिएको एलएसीमा हतियार प्रयोग गर्न पाउँदैनन्। तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपहरू हुने गरेका छन्।

चिनियाँ सरकारी समाचारसंस्था ग्लोबल टाइम्सका अनुसार भारतीय सेनाहरू ‘अवैध रूपमा एलएसी पार गरेर चिनियाँ भूभागमा प्रवेश गरेका थिए।’

India-China standoff in Ladakh: Situation sensitive but not dangerous, say sources | India News | Zee News

पीएलएका एक प्रवक्तालाई उद्धृत गर्दै उसले यस्तो विवरण दिएको हो।

ग्लोबल टाइम्ससँग ती प्रवक्ताले यसले दुवै पक्षबीच बनेको सहमतिको उल्लङ्घन भएको र सीमामा तनाव उत्पन्न भएको बताउनुभएको छ।

तर भारतीय सेनाको वक्तव्यमा भने सेना शान्ति कायम राख्न कटिबद्ध रहेको उल्लेख छ।

विवाद साम्य पार्ने प्रयास
भारत र चीनबीचको पछिल्लो विवाद भारत र चीनका विदेशमन्त्रीबीच भेटघाट हुने बेलामा देखा परेको हो।

भारतीय सेना
भारतीय विदेशमन्त्री एस जयशङ्कर मङ्गलवार चारदिने भ्रमणका लागि मस्को जाँदै हुनुहुन्छ ।

उनी साङ्घाई सहयोग सङ्गठनका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुनका लागि रुस जान लाग्नुभएको हो।

आठ सदस्य रहेको साङ्घाई सहयोग सङ्गठनमा भारत र चीन दुवै सदस्य छन्।

यो बैठकका क्रममा जयशङ्करले चिनियाँ समकक्षी वाङ यीलाई भेट्ने खबर आएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार मस्को जाने क्रममा जयशङ्कर तेहरानहुँदै जाने र त्यस क्रममा इरानी विदेश मन्त्रीसँग पनि भेटघाट गर्ने सम्भावना भएको बताइन्छ।

Share Now

Leave a comment.