काठमाडौं, २३ भाद्र । मङ्गलवार अपरान्ह २४ घण्टामा नेपालमा थप ९ सय २ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाले यस घातक भाइरसको संक्रमणबाट जीवन गुमाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो संगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ।
अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३ सय ६ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३२ हजार ९ सय ६४ जना निको भएका छन्।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।
अहिले देशभरि १४ हजार ८ सय ६८ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ६ हजार ८ सय १५ जना घरमै र ८ हजार ५३ जना संस्थागत आइसोलेशनमा छन्।
सरकारले सोमवार भदौ २२ गते ९ सय ७९ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।
को हुन् सङ्क्रमित र मृतक ?
सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
मृतकमध्ये एक महिला र पाँच पुरुष छन्। उनीहरूको उमेर ५४ देखि ८५ वर्ष भएको मन्त्रालयले जनाएको छ।
सङ्क्रमितमध्ये ३ सय ७ जना महिला र ५ सय ९५ जना पुरुष छन्।
अहिले काठमाडौं उपत्यकामा ३ सय ९६ जना अर्थात् सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये काठमाडौं ३ सय, भक्तपरका ५८ र ललितपुरका ३८ जना छन्।
त्यसैगरी मोरङमा ५१ जना, सुनसरीमा ३८ जना, धनुषामा ३३ जना, कास्कीमा ३० जना र कैलालीमा ७७ जना थप सङ्क्रमित फेला परे।
सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अन्यत्रभन्दा उपत्यकामा बढी छ।
सङ्क्रमितमध्ये सिकिस्त बिरामी परेका १ सय ४४ जनालाई सघन उपचार उपलब्ध गराउनुपरेको र २३ जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ।
सघन उपचार आवश्यक परेका र भेन्टिलेटरमा भएका बिरामीहरूको सङ्ख्या वाग्मती प्रदेशमा सर्वाधिक छ।
के छ अरू तथ्याङ्क ?
विगत २४ चौबीस घण्टामा १० हजार ६ सय ११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।
सो अवधिमा २ हजार २ सय ८७ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भए।
अहिलेसम्म झन्डै ६८.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका सरकारी तथ्याङ्क छ।
भदौ २१ गते आइतवार ९ सय ८० जनामा सङ्क्रमण र नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो। भदौ १६ देखि २० गतेसम्म प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परेका थिए।
गत भदौ १९ गते मन्त्रालयले १ हजार ३ सय ५९ जनामा सङ्क्रमण र १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।(बीबीसी)


















