बेइजिड.(चीन), २३ भाद्र । चीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ।
तर कस्तो जबाफी कारबाही भन्ने उसले प्रस्ट पारेको छैन।
उच्च तनाव
जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक मारिएपश्चात् दुई देशबीच तनाव झन् झन् बढिरहेको छ।
सोमवार भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।
चीनको सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, ूभारतीय सैनिकहरूले भारत(चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पाङ्गोङ् त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन्।ू

भारत चीन सीमा
वक्तव्यका अनुसार भारतीय सेनाको उक्त कदमले दुई पक्षबीच बनेको सहमतिको गम्भीर उल्लंघन गरेको छ।
यसले त्यहाँ तनाव बढ्ने भन्दै प्रवक्ताले यसलाई गम्भीर भड्काउपूर्ण कदम भन्नुभएको छ। चिनियाँ सेनाले आफ्नो क्षेत्रको सम्प्रभुताको रक्षा गर्ने उहाँले बताउनुभएको छ।
सो घटनाबारे भारतको प्रतिक्रिया आएको छैन।
दुवै देशले सो क्षेत्रमा हजारौँ फौज परिचालन गरेका छन्।
नागरिक कब्जा गरेको दाबी
दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती राज्यबाट पाँचजना भारतीय नागरिकलाई कब्जामा लिएको विवरणपनि आएका छन्।
तीन दिनअघि अरुणाञ्चल प्रदेशका एक सांसदले ट्वीट गर्दै पहिलोपटक त्यस्तो आरोप लगाउनुभएको थियो।
त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताउनुभयो।
भारत र चीनका विदेशमन्त्रीको भेटघाट हुने निर्धारण भएको समयमा पछिल्लो विवाद चर्किएको छ।
भारतका विदेशमन्त्री एस जयशङ्कर मङ्गलवार चारदिने यात्राका निम्ति रुसको राजधानी मस्को जाँदै हुनुहुन्छ।
त्यहाँ हुने शाङ्घाइ सहयोग सङ्गठनको विदेशमन्त्री स्तरीय भेलामा उहाँ सहभागी हुनुहुनेछ। आठ सदस्यीय उक्त सङ्गठनमा भारत र चीन दुवै सदस्य छन्।
सो भेलाको बेला भारतीय विदेशमन्त्रीले चिनियाँ समकक्षी वाङ् यीसँग द्वीपक्षीय कुराकानी गर्नुहुने बताइएको छ।



















