Prakash Adhikari September 8, 2020

काठमाडौं, २३ भाद्र। पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको लागि भएको टेण्डर प्रक्रिया रद्द भएको छ ।

रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १४ र १७ गते आह्वान गरिएको टेण्डरको सबै प्रक्रिया रद्द भएको  जानकारी दिएको छ ।

विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको छ ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १ सय ६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।

इनरुवा–काँकडभिट्टा खण्डमा ट्रयाक बेडका बोलपत्र सबै रद्ध  भएका छन् ।

रेल विभागले नेपालका १८ ओटा निर्माण कम्पनीले मात्र प्रतिष्पर्धा गर्न सक्ने गरी रेलमार्ग ट्रयाक बेडका (माटो भर्ने) ठेक्का आह्वान गरेको थियो।

विभागले जग्गा अधिग्रहण र मुआब्जा प्रक्रियाको तयारी समेत नगरी हतार हतार पुर्वपश्चिम रेलमार्ग ट्रयाक बेडका लागि बोलपत्र आह्वान गरेको थियो।

३३ अर्बको सो ठेक्कामा रेलमार्गको काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखेको थियो।

सो प्रावधानका कारण अनुभव भएका १८ नेपाली कम्पनीले मात्र ठेक्का पाउने अरु कम्पनीले प्रतिस्पर्धा गर्नै नसक्ने भएपछि ठेक्कामा विवाद उत्पन्न भएको थियो।


विभागका कर्मचारी नेपालका चल्तापूर्जा ठूला निर्माण कम्पनीको मिलेमतोमा विदेशी निर्माण कम्पनीलाई रोक्न ठेक्कालाई ५४ टुक्रा बनाइएको थियो।

सार्वजनिक खरिद ऐन अनुसार १ अर्ब भन्दा माथिका ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने प्रावधान छ।

Share Now

Leave a comment.