काठमाडौं, ३१ भाद्र । बुधबार नेपालमा हालसम्मकै उच्च संख्यामा दैनिक कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा गरिएको परीक्षणमा बुधबार अपरान्हसम्म १ हजार ५ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ सय ५२ जना काठमाडौंका रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार नाघेको छ।
विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना भाइरसको संक्रमण समेतको कारण नेपालमा एक चिनिया र एक भारतीय नागरिक सहित ३ सय ७९ जनाको मृत्यु भएको छ।
काठमाडौं र सिराहामा उच्च
नयाँ भेटिएका सङ्क्रमितमध्ये २ सय ६४ अर्थात् एकतिहाइभन्दा बढी महिला छन्।
यसले केही सातादेखि सङ्क्रमण भएका महिलाको सङ्ख्या बढेको देखाउँछ।
नयाँ भेटिएका संक्रमित भध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा ६ सय ५२ जना छन् । विगत २४ घण्टामा भक्तपुरमा २५ र ललितपुरमा ६० गरी काठमाडौं उपत्यकामा ७ सय ३७ जना थपिएका छन् ।
उपत्यकामा भेटिएका सङ्क्रमितमध्ये २ सय ६४ महिला छन्।
त्यस्तै भारतसंग सीमाना जोडिएको सिराहामा २ सय ७४ जना सङ्क्रमित थपिएका छन्। सीमावर्ति तराईका सुनसरीमा ७०, मोरङमा ३५, सप्तरीमा ४४, बाँकेमा ४४, रूपन्देहीमा ४५ थपिएका छन भने मकवानपुरमा ४९, कास्कीमा ३२ र सल्यानमा ३३ जनामा कोभिड १९ पुष्टि भएको छ।
मृतक कहाँका ?
बुधवार मृत्यु भएकामध्ये सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष, कास्कीका ७० वर्षीय पुरुष र बाराकी ४६ वर्षीया महिला रहेकी छन्।
दुई जनाको मृत्यु भएको काठमाडौंमा ७१ र ७४ वर्षीया महिलाहरू एवम् काभ्रेपलान्चोकका ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुष रहेका छन्।

अहिले देशभरि १६ हजार २ सय ४८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८ हजार ५ सय ४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।
त्यसमा पनि काठमाडांै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
के छ अरू तथ्याङ्क ?
विगत २४ घण्टामा १० हजार ४ सय ९४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।
डा. गौतमका अनुसार सो अवधिमा सङ्क्रमितमध्ये थप १ हजार ६८ जना कोभिड १९ मुक्त भएका छन्।
अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।
नेपालमा यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण। प्रत्येक दिन अपराह्ण प्राप्त तथ्याङ्क।
मङ्गलवार सङ्क्रमितको सङ्ख्यामा सर्वाधिक वृद्धि हुनुको साथै थप ११ जनाको मृत्यु भएको थियो भने सोमवार मन्त्रालयले १ हजार १ सय ७० जनामा सङ्क्रमण र १५ जनाको मृत्यु पुष्टि गरेको थियो।(बीबीसीबाट)


















