टोकियो(जापान),३१ भाद्र (बीबीसीं) । जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ।
शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्मा बुधवार मतदान भएको थियो।
यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित हुनुभएको थियो।
संसद्मा भएको मतदानले सुगाको नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।
सुगा आबेको मन्त्रिपरिषद्मा मुख्यसचिवका रूपमा दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।

आबेका निकटतम सहयोगी मानिने सुगाले आबेका नीतिहरूलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ।
आबेले गत महिना देशमको कार्यकारी पद छोड्ने घोषणा गर्नुभएको थियो।
बुधवार बिहान आयोजित मन्त्रिपरिषद् बैठकपछि आबेले आठ वर्ष सत्तामा हुँदा प्राप्त उपलब्धिप्रति आफू गौरवान्वित भएको सञ्चारमाध्यमलाई बताउनुभयो।
त्यसपछि जापानको तल्लो सदनमा प्रधानमन्त्री पदका लागि मतदान हुँदा कुल ४ सय ६२ सांसदमध्ये ३ सय १४ जनाले सुगालाई समर्थन गरेका थिए।
लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीले नेतृत्व गरेको गठबन्धनको संसद्मा बहुमत भएकाले सुगाको विजय निश्चित थियो।
मन्त्रिपरिषद्का अन्य सदस्यसहित जापानी सम्राटले एउटा विशेष समारोहका बीच नवनिर्वाचित प्रधानमन्त्रीलाई पदभार ग्रहण गराउने कार्यक्रम छ।
सुगाको चयन
यसअघि सर्वसाधारणका लागि सुगा “नहाँस्ने र आकर्षणहीन सरकारी प्रवक्ता” मात्र हुनुहुन्थ्यो।
जापानी पत्रकारहरूले प्रश्न सोध्दा आफूलाई मन नपरे उहाँ उत्तर दिन अस्वीकार गर्ने सुगालाई पत्रकारहरू “लौहपुरुषर्” पनि भन्छन्।
केही समयअघि के उहाँ असल व्यक्ति त हो नि भनेर सोध्दा सुगाले भन्नुभएको थियो “जसले आफ्नो काम राम्ररी गर्छन् तिनका लागि म राम्रो मान्छे हुँ।”
बुधवार संसद्मा मतदान भएको थियो

उसोभए सुगा अहिले कसरी प्रधानमन्त्री बन्नुभयो ?
लामो समय राजधानी टोकियोमा बसेका अर्थशास्त्री जेस्पर कोलका अनुसार एलडीपीका प्रभावशाली नेताहरूले अरू कुनै वैकल्पिक व्यक्ति नभेटेपछि सुगालाई छानेका हुन्।
ूयो निश्चित रूपमा एलडीपीभित्र अँध्यारो कोठामा भएको रोजाइ हो,ू उहाँ भन्नुहुन्छ ूजापानको प्रधानमन्त्री छनोटमा सर्वसाधारणको कुनै भूमिका थिएन।ू
ूअन्ततोगत्वा जननिर्वाचनमा जित्न सके मात्र तपाईँ दलभित्र राम्रो मानिनुहुन्छ। त्यसैले उनी दबावमा छन्। उनले आफूलाई दलमा र जापानी जनतासमक्ष प्रधानमन्त्री बन्न योग्य छन् भनेर प्रमाणित गर्नुपर्नेछ।ू
अरू चुनौती के हुन् ?
सुगा अनुभवी नेता हुनुहुन्छ। उहाले लामो समय मन्त्रिपरिषद्मा बसेर काम गर्नुभएको छ। अहिले जटिल परिस्थितिमा उहाँ विश्वको तेस्रो ठूलो अर्थतन्त्र मानिने देशको शीर्ष नेतृत्वमा पुग्नुभएको छ।
अरू देशले जस्तै जापानले पनि अर्थतन्त्रलाई धराशायी बनाइदिने कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको छ।
आबेले सुरु गरेको आर्थिक सुधारको कार्यक्रमसहित उहाँले निवर्तमान सरकारका प्राथमिकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।
“सुगाको निर्वाचनले शिन्जो आबेले थालेका मुख्य नीतिगत कुराले निरन्तरता पाउने सुनिश्चित गर्छ,” अमेरिकास्थित स्टिम्सन सेन्टरको जापान कार्यक्रमकी निर्देशक युकी तात्सुमीले बीबीसीलाई बताउनुभयो।
“आबेका प्रमुख सहयोगी र मन्त्रिपरिषद्को मुख्यसचिवका रूपमा उहाँको क्षमता प्रमाणित भइसकेको भए पनि देशको शीर्ष नेताका रूपमा उहाँको सामर्थ्यको परीक्षण हुन बाँकी छ – विशेषगरी विदेशनीतिमा,” उहाँले भन्नुभयो।
सहयोगीबाट मुख्य कर्ताको भूमिकामा उहाँ कसरी रूपान्तरित हुनुहुन्छ भन्ने कुराले उहाँ कति कुशल नेता हुनुहुन्छ त्यो देखाउने तात्सुमीको भनाइ छ।
राजनीतिक यात्रा
कुनै अभिजात्य वर्गमा नभई किसान परिवारमा जन्मिनुभएका सुगालाई राजनीतिमा स्थापित हुन लामो समय कुर्नुपर्यो।
अहिले उहाँ ७१ वर्षको हुनुभयो।
उहाँले पहिला एक सांसदको सचिव बनेर काम गर्नुभएके थियो। बिस्तारै उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो।
नगर परिषद्को निर्वाचनदेखि सुरु भएको उहाँको राजनीतिक यात्रा सन् १९९६ मा संसद्मा पुग्यो।
सन् २००५ मा जुनिचिरो कोइजुमीले नेतृत्व गरेको सरकारमा उहाँ मन्त्री बन्नुभयो। त्यसपछि बनेको आबे सरकारमा उहाँ प्रभावशाली बन्नुभयो।
उहाँलाई प्रधानमन्त्री आबेको “दाहिने हात” मानिन्थ्यो। सुगाले सक्षम र व्यावहारिक नेताको छवि बनाउनुभयो।
निवर्तमान प्रधानमन्त्री आबेले पनि सुगाको नेतृत्वको अभियानलाई समर्थन गर्नुभयो।
तर उहाको कार्यकाल छोटो हुनेछ। आगामी वर्ष हुने निर्वाचनमा उहाँले सर्वसाधारण मतदातासमक्ष उभिनुपर्ने हुनसक्छ।
तर अनुभवी भए पनि धेरै चर्चित नमानिने सुगा देशव्यापी निर्वाचन अभियानका लागि उहाँको दलको पहिलो रोजाइ नहुन पनि सक्ने पर्यवेक्षकहरूको धारणा छ।


















