काठमाडौ, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यस घातक भाइरसको संक्रमण समेतको कारणले थप ७ जनाले जीवन गुमाएका छन् ।
यो संगै नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या ६१ हजार ५ सय ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यो नेपालमा एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५ सय ९३ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ९० जनाको कोरोना भाइरसको संक्रमणसमेतको कारणले मृत्यु भएको छ।
अहिले देशभरि १७ हजार ३ सय ८३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेशनमा र अरू ८ हजार ८८ जना घरमै भएको मन्त्रालयले जनाएको छ।
अहिले सक्रिय सङ्क्रमितमध्ये ९ हजार ४ सय ९३ जना अर्थात् आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्।
त्यसमा पनि काठमाडौं उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या सर्वाधिक छ।
संक्रमित कहाँका ?
विगत २४ घण्टामा ११ हजार ४ सय ५८ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
तीमध्ये ६ सय ३९ महिला र १ हजार ३ सय ८१ पुरुषमा सङ्क्रमण पुष्टि भयो।
अहिले काठमाडौं जिल्लामा थप ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ गरी उपत्यकामा कुल ८ सय ५९ जनामा कोभिड-१९ देखिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी मोरङमा १ सय १८, सुनसारीमा ५८, बारामा ७८, सप्तरीमा ४५, चितवनमा १ सय ९१, कास्कीमा ८६, नवलपरासीमा ४१, रूपन्देहीमा ८६ र सुर्खेतमा १ सय १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
काठमाडौं पत्यकाबाहेक मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रूपन्देहीमा धेरै सङ्ख्यामा सङ्क्रमितहरू छन्।
बिहीवार देशभरि १ हजार २ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो दिन १ हजार ५ सय ३९ सङ्क्रमित फेला परेका थिए।
को हुन् मृतक ?
मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणसमेतको कारणले विगत २४ घण्टामा ज्यान गुमाउने बिरामीमध्ये २ महिला र ५ पुरुष छन्।
मृतकमध्ये दुई महिला र दुई पुरुष काठमाडौं उपत्यकाका, दुई पुरुष मोरङका र एक पुरुष नवलपरासीका हुन्।
उनीहरूको उमेर ३१ देखि ८८ वर्षसम्म भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अन्य जानकारी
विगत २४ घण्टामा नेपालभर ८ सय ७१ जना रोगमुक्त प्रमाणित भए।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४३ हजार ८ सय २० जना अर्थात् ७१.१ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।
गम्भीर लक्षण भएका बिरामीमध्ये १ सय ७३ जना सघन उपचारमा र ३६ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।
तीमध्ये वाग्मती प्रदेशमा १ सय २६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा छन्।
देशभरि ७ हजार ७ सय ३६ जना क्वारेन्टाइनमा छन्।