लण्डन(संयुक्त अधिराज्य), ९ असोज(बीबीसी) । संयुक्त अधिराज्य(बेलायत) मा कोरोना भाइरसको संक्रमविरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाएर ओषधीको प्रभावकारिता खाजिने भएको छ ।
यसो भएमा यसरी भाइरस दिएर खोप परीक्षण गर्ने पहिलो मुलुक बेलायत बन्नेछ।
‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लण्डनमा सम्पन्न गरिने बताइएको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ।
यस विषयमा द फाइनान्सीयल टाइम्सले पहिलोपटक समाचार प्रकाशन गरेको थियो।
यूके सरकारले ‘ह्यूमन च्यालेन्ज स्टडीज’ मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।
तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरिसकिएको छैन् ।
‘महामारीबाट निस्कने बाटो’
त्यस्तो किसिमको परीक्षण गर्नका लागि सहमति दिइएमा स्वयंसेवक बन्न १८ वर्षे विद्यार्थी एलास्टेर फ्रेजर-उरक्युहार्ट ले आफू तयार रहेको बताउनुभएको छ ।
उहाँले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भन्नुभयो, ‘मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।’
त्यसै कार्यक्रममा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पीटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोग बारे वास्तविक बुझाई प्राप्त गर्ने क्षमता रहेको बताउनुभयो।
‘हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ’, उहाँले भन्नुभयो , ‘हामीले यसबारे पहिले पनि शङ्का गरेका थियौँ तर हामीसँग यस्तो किसिमको परीक्षण अघि बढाउनका लागि प्रमाण थिएन। तर अब, मलाई लाग्छ कि हामीसँग स्पष्ट तथ्याङ्क छ।अर्को कुरा के छ भने हामीसँग अहिले केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा मिलेको छ। त्यसकारण परीक्षणमा सामेल कसैमा समस्या देखियो भने उनीहरूलाई सुरुवाती चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।’
प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वंयमसेवकहरूलाई नजिकबाट नियालिने छ र उनीहरूले भाइरस प्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरोध प्रणालीको अनुगमन गरिनेछ।
एकजना सरकारी प्रवक्ताले त्यस्तो परीक्षण बारे छलफल भइरहेको जानकारी दिनुभएको छ।
कोरोनाभाइरस विरुद्ध खोप विकास गर्नका लागि विश्वभर तीव्र गतिमा पहल भइरहेको छ।
हालसम्म ३६ वटा खोप क्लिनीकल परीक्षणका चरणमा छन्। त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको छ।
सफल खोपले भाइरस विरुद्ध सुरक्षा प्रदान गर्ने छ जसले गर्दा लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो पार्दै लान सकिने छ।


















