काठमाडौं, ८ असोज । बिहिबार दिउँसो सम्म २४ घण्टाको अवधिमा नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार तीमध्ये आधा संक्रमित काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६९ हजार नाघेको छ।
सो अवधिमा १७ जनाको कोरोना संक्रमणसँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बिहीवार अपरान्ह सार्वजनिक गरेको छ।
यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वोच्च सङ्ख्या हो।
नेपालमा अहिलेसम्म ४सय ५३ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५० हजार नाघेको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४ सय ५७ जना रोगमुक्त भएका छन्।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
बुधवार मन्त्रालयले १ हजार१ सय ७२ सङ्क्रमित फेला परेको तथा सात जनाको मृत्यु भएको जनाएको थियो।
गत शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।
कहाँ छन् सङ्क्रमित ?
अहिले देशभरि १८ हजार ४ सय ३७ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेशनमा र ९ हजार ८ सय २३ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।
वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।
अहिले उपत्यकामा ९ हजार भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
यो सङ्ख्या देशभरि भएका सङ्क्रमितको सङ्ख्याको आधाजति हो।
को हुन् सङ्क्रमित ?
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये एकतिहाइभन्दा बढी अर्थात् ५ सय १३ जना महिला र ९ सय ८४ जना पुरुष छन्।
काठमाडौं सर्वाधिक ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी मोरङमा ७३, बाँकेमा ५३, रूपन्देहीमा ८६ र कैलालीमा ४५ जनामा पनि कोरोनभाइरस भेटिएको छ।
को हुन् मृतक ?
मृतकहरू विभिन्न जिल्लाका हुन्।
उनीहरूको उमेर ३२ देखि ८२ वर्षसम्म भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
काठमाण्डू उपत्यकामा दुई महिला र चार पुरुष, धनुषामा दुई पुरुष अनि मोरङ, सुनसरी र धादिङमा एक(एक महिला तथा झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीमा एक एक पुरुषको मृत्यु भएको हो।
अहिलेसम्म ०.६५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
के छ अरू तथ्याङ्क ?
बुधवार अपराह्णदेखि बिहीवारसम्म ११ हजार ४ सय ४९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।
उहाँका अनुसार अहिलेसम्म नेपालमा ५० हजार ४ सय ११ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.७ प्रतिशत हो।
गम्भीर लक्षण भएका बिरामीमध्ये २ सय ३२ जना सघन उपचारमा र २८ जना भेन्टिलेटरमा छन्।
अहिले देशभरि ६ हजार ५ सय ६५ जना क्वारेटाईन छन्।(बीबीसीबाट)