गनी अन्सारी / बीबीसी न्यूज नेपाली
काठमाडौ, १५ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कारसम्बन्धी घटनाबारे बुधवार दिएको एउटा अभिव्यक्तिबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
दुई वर्षअघि संसद्मा बोल्दै गृहमन्त्री थापाले बलात्कारका घटना रोक्न वर्तमान सरकारसँग स्पष्ट नीति रहेको र त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
वैदैशिक रोजगारीका क्रममा नेपाली महिलाविरुद्ध हुने गरेका यौन हिंसा र निर्मला पन्त हत्या प्रकरणबारे बोल्दै उहाँले भन्नुभएको थियो, ‘अहिलेको सरकारले यसलाई रोक्ने प्रयास गरेको छ। यो सरकारसँग त्यस्तो किसिमको भिजन छ, नीति छ र नेतृत्व पनि छ। र, हामी यसलाई रोक्छौँ।’
तर बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बलात्कारका घटनाबारे उहाँले दिएको अभिव्यक्तिले धेरै चर्को आलोचना निम्त्याएको छ।
आलोचना किन ?
‘झन्डै सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन। न्यूनीकरण गर्ने सन्दर्भमा सरकारको तर्फबाट प्रयासहरू भएका छन्।’, गृहमन्त्री थापाले संसदीय समितिमा भन्नुभयो, ‘सवा दुई सयमध्ये हाम्रो स्थान पछाडि आउँछ। पछाडिबाट हेर्दा हामी टप १५ भित्र छौँ भन्ने कुरा विश्लेषणबाट देखिन्छ भने हामीभन्दा अगाडि विकसित मुलुकहरू अमेरिका, दक्षिण अफ्रिका देखिन्छन् ।’
यसअघि २०७१ सालको चैत दोस्रो साता तात्कालिक उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बलात्कारको घटनाबारे दिएको अभिव्यक्तिले पनि निकै आलोचना निम्त्याएको थियो।

त्यतिबेला संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा उहाँले भन्नुभएको थियो , ‘राजनीतिक सङ्क्रमणकालमा यस्ता घटना भइहाल्छन्। यद्यपि यस्ता घटना नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ।’
लेखक तथा अधिकारकर्मी सावित्री गौतमले गृहमन्त्री थापाको पछिल्लो अभिव्यक्तिले आफूलाई ूआक्रोशित र निराशू तुल्याएको प्रतिक्रिया दिनुभयो।
‘हाम्रो समाजमा महिलामाथिको हिंसाप्रतिको संवेदनशीलता कति फितलो छ भन्ने उदाहरण हो यो। यसबारे गृहमन्त्रीले ‘गलत बोलेँ’ भनेर संसद्मा माफी नै माग्नुपर्छ, गौतमले भन्नुभयो, ‘बलात्कार र बलात्कारपछिको हत्याजस्तो गम्भीर अपराधलाई तथ्याङ्कमा हिसाबकिताब गर्ने व्यक्ति गृहमन्त्री पदमा बसिरहन कुनै पनि कोणबाट योग्य हुनुहुन्न ।’
तुलना गर्न मिल्छ त ?
समाजशास्त्री डा. चैतन्य मिश्र नराम्रा उदाहरण दिएर तुलना गर्नुभन्दा त्यस्ता घटना कसरी कम गर्दै जानेतर्फ सोच्नु उपयुक्त हुने धारणा राख्छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बुधवार सिंहदरबारमा बसेको बैठकमा बझाङ तथा मुलुकको विभिन्न क्षेत्रमा महिला तथा बालिकामाथि भइरहेको बलात्कार, हत्या र हिंसा आदि घटनाबारे छलफल भएको थियो ।

‘तुलना अरू मुलुकसँग भन्दा पनि आफ्नै विगतसँग गर्ने हो। विगत यति वर्षमा कति प्रगति भयो भनेर केलाउनुपर्ने हो। जोसँग तुलना गर्दा आफूलाई बेफाइदा हुन्छ त्योसँग नगर्नु गलत चलन हो।’
‘अन्त पनि नराम्रो छ। त्यसकारण हामीकहाँ पनि नराम्रो छ भनेर प्रमाणित गर्न मिल्दैन’,मिश्रले थप्नुभयो।
गृहमन्त्रीको अभिव्यक्तिले मुलुक ‘स्वेच्छाचारितातिर गइरहेको’ सङ्केत गरेको अधिवक्ता इन्दु तुलाधर बताउनुहुन्छ।
‘स्वेच्छाचारिताको परिणाम के हुन्छ भन्ने कुरा तपाईँ हामीले अनुमान गर्ने मात्रै हो। यहीँ हुन्छ भन्न सक्ने अवस्थामा कोही हुँदैन’, उहाँले भन्नुभयो।
नेपाल प्रहरीको तथ्याङ्क हेर्दा विगत १० वर्षमा बलात्कार र बलात्कारको प्रयास गरिएका घटनामा साढे चारगुनाभन्दा बढीले वृद्धि भएको देखिन्छ।
नेपाल प्रहरीको तथ्याङ्कः
- आर्थिक वर्ष २०६७र०६८ मा ४८१ बलात्कार र १५१ बलात्कारको प्रयाससम्बन्धी घटना दर्ता
- आर्थिक वर्ष २०७६र०७७ मा २,१४४ बलात्कार र ६८७ बलात्कारको प्रयाससम्बन्धी घटना दर्ता
- लकडाउनको अवधिमा चार महिना ९चैत ११ गतेदेखि साउन १० गतेसम्म० मा १६९ वटा बलात्कार र ५३ वटा बलात्कारको प्रयास सम्बन्धी उजुरी
सामाजिक सञ्जालमा कस्ता टीकाटिप्पणी
सामाजिक सञ्जाल ट्विटरमा गृहमन्त्री थापाको अभिव्यक्तिको अधिकांश प्रयोगकर्ताबाट आलोचना भएको छ।
ट्विटरमा सरोज कोइरालाले गृहमन्त्री थापालाई कस्तो अवस्था भए चिन्ताजनक हुन्छ भनी प्रश्न गर्नुभएको छ।
‘गृहमन्त्री रामबहादुर थापाज्यूसँग सम्मानपूर्ण रूपमा सोध्न चाहन्छु बलात्कारको कस्तो अवस्था चैँ चिन्ताजनक हुन्छरु कुन अवस्था नआउँदासम्म तपाईँहरू कानमा तेल हालेर बस्नुहुन्छरु अनि कस्ता खानेकुरा खायो भने यस्ता सोचाइ आउँछन्रु कृपया झर्को नमानी बताइदिनुहुन्छ कि?’
रामबहादुर थापाः बलात्कारबारे गृहमन्त्रीको अभिव्यक्ति किन ‘विवाद’मा पर्यो – BBC News नेपाली https://t.co/xebaOFA2i3
— क्षितिज™️ (@At_Kshitiz) October 1, 2020
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पदमा बस्ने व्यक्तिहरू आफ्नो अभिव्यक्तिबारे सजग हुनुपर्ने सुझाब दिनुभएको छ।
उनले ट्वीट गरेका छन्, ‘प्राप्त जिम्मेवारीमा क्षमतायोग्यता त देखिएकै छ। पदमा बसेकाहरूले अन्टसन्ट मात्रै नबोलिदिए सार्वजनिक आलोचना अलिकलि कम हुन्थ्यो कि ?
प्राप्त जिम्मेवारीमा क्षमता-योग्यता त देखिएकै छ । पदमा बसेकाहरूले अन्ट-सन्ट मात्रै नबोलिदिए सार्वजनिक आलोचना अलिकलि कम हुन्थ्यो कि !
— Bishnu Rijal (@bishnurijal1) September 30, 2020
उषाकिरण तिम्सिनाले बलात्कारजस्तो घटनामा असंवेदनशील कुरा गर्ने छुट नभएको टिप्पणी गर्नुभएको छ।
मलाई गृहमन्त्री रामबहादुर थापा क्रान्तिकारी नै थिए की ? वा यिनी क्रान्तिकारी हुन भन्ने भ्रम थियो ? भन्ने लाग्न थालेको धेरै भयो । बलत्कार को बिषयमा यती असंम्बेदनशील बन्ने छुट गृहमन्त्रीलाई छैन ।
— Ushakiran Timsena (@bhailiusha) September 30, 2020
गृहमन्त्रीको पदबाट आएको बलात्कार सम्बन्धि घोर निकृष्ट अभिव्यक्ति राम बहादुर थापाको मात्रै होइन । यो सत्ताको आधिकारिक धारणा हो । नेकपाको आधिकारिक धारणा हो । नभए त्यति निकृष्ट अभिव्यक्ति दिने व्यक्ति कसरी पदमा रहिरहन सक्छ ?
— Yadab Devkota (@gaunkomanchhey) September 30, 2020


















