काठमाडौं, १५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टिभएर मर्नेहरुको संख्या ५ सय नाघेको छ ।
विगत २४ घण्टामा १ हजार ९ सय ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये ९ सय ४३ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७९ हजार ७ सय नाघेको छ।
सो अवधिमा ११ जनाको कोरोना भाइरससमेतको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
योसहित नेपालमा अहिलेसम्म ५ सय ९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
त्यस्तै निको हुने सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९६१ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
बुधवार मन्त्रालयले १ हजार ५ सय ५९ सङ्क्रमित फेला परेको र सात जनाको मृत्यु भएको जनाएको थियो।
गत असोज २ गते एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।
अहिले देशभरि २१ हजार ८ सय ३० जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ११ हजार ६९ जना घरमै र अरू १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेशनमा छन्।
मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।
वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।
विगत २४ घण्टामा १२ हजार ४ सय ४४ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।
अहिलेसम्म नेपालमा ५७ हजार ३ सय ८९ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७१.९ प्रतिशत हो।
गम्भीर लक्षण भएका २ सय२० सङ्क्रमित सघन उपचारमा र २५ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
अहिले कहाँ छन् सङ्क्रमितरु। प्रदेशगत विवरण। असोज १५ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित ।
को हुन् सङ्क्रमित ?
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्।
काठमाडौं ८ सय १७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ गरी ९ सय ४३ जनामा कोभिड-१९ पुष्टि भएको हो।
त्यसैगरी मोरङमा १ सय ५, सुनसरीमा ६६, चितवनमा ८६, बाँकेमा ३०, रूपन्देहीमा ९१, जुम्लामा ३७ र कैलालीमा १ सय ६१ सङ्क्रमित थपिएका छन्।
को हुन् मृतक ?
अहिले मृत्यु हुने ११ जनामध्ये एक महिला र १० पुरुष छन्। उनीहरूको उमेर २७ देखि ८० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा चार जना, सुनसरी र रूपन्देहीमा तीन(तीन जना र बाँकेमा एक जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको हो।
नेपालमा कुल सङ्क्रमितमध्ये ०.६५ प्रतिशत मृत्यु भएको छ।
तर ६१ वर्षदेखि माथिका सङ्क्रमितहरूको मृत्युदर उच्च रहेको तथ्याङ्कले देखाउँछ।


















