काठमाडौं, १९ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या ८९ हजारबाट उकालो लागेको छ भने यस घातक भाइरसको संक्रमण समेतमा परेर जीवन गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित दैनिक प्रेस ब्रिफिड.का क्रममा सोमबार दिएको जानकारी अनुसार विगत २४ घण्टामा २ हजार ४ सय ४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
तीमध्ये १ हजार ५ सय ३१ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका रहेका छन्।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८९ हजार २ सय ६३ पुगेको छ।
विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमण समेतबाट निधन भएका १९ जनासहित नेपालमा अहिलेसम्म यस घातक भाइरसबाट जीवन गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ।
सोमबार अपरान्हसम्म निको हुने सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार १ सय ३३ जना रोगमुक्त भएका छन्।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।
आइतवार मन्त्रालयले २ हजार २ सय ५३ सङ्क्रमित फेला परेको र ५ महिने शिशुसहित सात जनाको मृत्यु भएको बताएको थियो।
गत शुक्रवार मन्त्रालयले २ हजार ७ सय जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
त्यसयता प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २ हजार नाघिरहेको छ।
अहिले देशभरि २३ हजार ५ सय ७ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १२ हजार १ सय ३६ जना घरमै र ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेशनमा छन्।
मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।
अन्य जानकारी
विगत २४ घण्टामा १३ हजार ७ सय ८१ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।
अहिलेसम्म नेपालमा ६५ हजार २ सय २ जना सङ्क्रमित निको भइसकेका छन्।यो सङ्क्रमितको कुल सङ्ख्याको ७३ प्रतिशत हो।
गम्भीर लक्षण भएका २ सय ४४ सङ्क्रमित सघन उपचारमा र ४३ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित ?
विभिन्न जिल्लामा ९ सय ३७ महिलासहित २ हजार ४ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौं जिल्लाका १ हजार १ सय ७८ जना, ललितपुर जिल्लाका २ सय ५० जना र भक्तपुर जिल्लाका १ सय ३ जना गरी उपत्यकामा कुल १ हजार ५ सय ३१ जनामा कोभिड १९ देखिएको हो।
त्यसैगरी मोरङमा ५५, सुनसरीमा १ सय २२, रौतहटमा ८४, चितवनमा १ सय ३, नवलपरासी पूर्वमा ६६ र रूपन्देहीमा ५८ सङ्क्रमित फेला परेको विवरण मन्त्रालयले दिएको छ।
को हुन् मृतक ?
मृतकहरूको उमेर तीन वर्षदेखि ९१ वर्षसम्म छ। उनीहरूमध्ये पाँच महिला र १४ पुरुष छन्।
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १२ र सुनसरी, पर्सा, चितवन, गोरखा तथा नवलपरासी पूर्वमा एकएक जनाको कोभिड१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म सङ्क्रितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको छ।


















