काठमाडौं, १५ माघ । आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक सह(सचिव चुडामणी शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अर्कोे मुद्दा दायर गरेको छ ।
आयोगले उनले सार्वजनिक सेवामा प्रवेश गरे पश्चात मिति २०७३ मंसिर मसान्तसम्मको जाँच अवधिमा आफूले आय आर्जन गरेभन्दा बढी लगानी र बैंक मौज्दात राखेको जनाएको छ ।
आयोगले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘जाँच अवधिमा उनेले ३ करोड ६३ लाख७२ हजार ९ सय ६१रुपैया आय आर्जन गरेको देखियो भने सोही अवधिमा चल अचल सम्पत्ति सृजना एवं शेयर लगानी लगायतका शिर्षकहरुमा समेत गरी र७ करोड ९३ लाख २७ हजार ८५ रुपैया खर्च गरेको देखिंदा वैध आय को तुलनामा ४ करोड २९ लाख ५४ हजार १ सय २४ बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आयो ।’
अख्तियारले शर्मा र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरी आफ्नो हैसियत भन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिनुको साथै बिभिन्न बित्तिय संस्थाहरु तथा कम्पनिहरुका शेयर, ,सवारी साधन एवं घर जग्गा लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको देखिन आएको जनाएको छ ।
राष्ट्रसेवक भए पश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टी गर्न नसकेको उल्लेख गर्दै शर्मालाई अख्तियारले गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको हुनाले ४करोड २९ लाख ५४ हजार १ सय चौवीस रुपैया बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बमोजिम जरिवाना र कैद सजाय र स्रोत नखुलेको सम्पत्तिको जफतको माग गरेको छ ।
आयोगले शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैर कानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रेती शर्माको नाममा राखेको तथा लुकाए(छिपाएको आरोप लगाउदै ती सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि कल्पना उप्रेतीलाई समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको जनाएको छ ।
पूर्व महानिर्देशक शर्मा विरुद्ध कर फस्र्यौट आयोगको सदस्य सचिव रहदा अस्वभाविक कर मिनाहा दिइएको अभियोगमा उनी उपर मुद्दा भ्रष्टाचार मुद्दा दायर गरी पक्राउ गरिएको थियो ।
उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ ।
कर फर्छ्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन ।