Prakash Adhikari October 19, 2020

 

काठमाडौं, ३ कार्तिक। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैंका लागि खसी-बोका बिक्री गर्दैछ।

कम्पनीले बेच्ने खसी बोकाको मूल्य प्रति किलो ५ सय ६० तय गरिएको छ र यसमा पनि प्रति किलो रु १० । छुट दिने बताएको छ । कम्पनीले बेच्ने खसी बोकाको मूल्य खुला बजार मूल्यभन्दा किलोमा १ सय रुपैयाँ सस्तोमा खसीबोका बेच्ने भएको छ।

कम्पनीले आजबाट थापाथली कार्यालयबाट खसीबोका बिक्री थाल्नेछ। कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीका अनुसार जिउँदो खसीबोका किलोको ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। निजी क्षेत्रले जिउँदो खसी-बोका किलोको ६ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ।

‘हामीले उपभोक्तालाई राहत दिन ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो।

कम्पनीले खसीबोका हेटौंडाबाट प्रतिकिलो ५ सय ३५ देखि ५ सय ५० रुपैयाँमा र दाङको तुल्सीपुरबाट ५ सयदेखि ५ सय ८० रुपैयाँमा खरिद गरेर ल्याएको हो। यसअघिको वर्ष खाद्य कम्पनीले लहान, नेपालगञ्ज र मकवानपुरबाट ल्याउने गरेको थियो। कम्पनीले मंगलबारसम्ममा एक हजार खसीबोका ल्याउने उहाँले बताउनुभयो।

बर्सेनि दशैंमा भेडा-च्याङ्ग्रा र खसी-बोका बेच्दै आएको सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले योपटक च्याङ्ग्रा नबेच्ने भएको छ। चीनबाट भेडा-च्याङ्ग्रा नभित्रिएको र स्वदेशी महँगो भएको भन्दै खसीबोका मात्रै बेच्ने भएको हो।

कम्पनीले बर्सेनि चीनबाट आउने च्याङ्ग्रा बेच्दै आएको थियो। ‘चीनबाट नआएपछि स्वदेशी भेडा-च्याङ्ग्रा महंगो भयो’, भन्नुभयो, ‘कम्पनीलाई नै खरिद महँगो पर्दा उपभोक्तालाई घाटा खेपेर बिक्री गर्ने कुरा भएन। त्यसैले कम्पनीले यो दसैंका लागि च्याङ्ग्रा खरिद गरेन।’

स्थानीय व्यापारीले जिउँदो च्याङ्ग्राको मूल्य ८ सय रुपैयाँ प्रतिकिलो तोकेको बताउँदै त्यो खरिद गरेर ल्याउन कठिन भएको जानकारी दिए। कम्पनीले सुरुमा १ हजार ४ सय च्याङ्ग्रा ल्याउने जानकारी दिए पनि हजारको मात्रै टेण्डर निकालेको थियो।

तर त्यो एक हजार पनि नआउने भएको हो। गत महिना कम्पनीले दसैंका लागि १ हजार ४ सय च्याङ्ग्रा ल्याउने निर्णय गरेको थियो। पछि एक हजार वटा च्याङ्ग्राको ढुवानी टेन्डर गरे पनि दरभाउ नमिलेर किन्न नसकेपछि नल्याउने निर्णय गरेको हो।

सरकारी कम्पनी मात्रै होइन व्यवसायीले समेत कम परिमाणमा च्याङ्ग्रा ल्याउँदैछन्। महँगो भएकाले खपत कम हुने भन्दै थोरै च्याङ्ग्रा ल्याउने भएका हुन्। चौपाया खरिद बिक्री प्रालिका व्यवस्थापक जीवनराज खतिवडाले यो दशैमा ३ हजार वटा मात्रै च्याङ्ग्रा आउने जानकारी दिनुभएको छ।

गत बर्ष कम्पनीमार्फत १० हजार च्याङग्रा काठमाडौं ल्याइएको थियो।

Share Now

Leave a comment.